सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोराछोरीलाई नीजि स्कुल पढाउने कर्मचारीको तथ्याङ्क संकलन हुदैछ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरस्थित बागनेटीमा निर्माण हुने निजामती विद्यालय भवन शिलान्यास   गर्दै । तस्वीर : विमलबहादुर विष्ट/रासस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरस्थित बागनेटीमा निर्माण हुने निजामती विद्यालय भवन शिलान्यास गर्दै । तस्वीर : विमलबहादुर विष्ट/रासस
२०७६ माघ ११, ०१:०२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्नलागेको निजामती कर्मचारी विद्यालयको आज शिलान्यास गर्दै मुख्यमन्त्री भट्ट सरकारी जागिर खाएका कर्मचारीले आफ्ना छोराछोरी निजी बोर्डिङमा पढाउने परिपाटी चलेको बताए।

उनले सुदूरपश्चिम भरीमा निजी स्कुलमा छोराछोरी पढाउने उच्च तहका कर्मचारीको तत्थ्याङ्क सङ्कलनको तयारीसमेत भइरहेको बताए। मुख्यमन्त्री भट्टले छाउपडी प्रथाको अन्त्य गर्न जरुरी भएको र सो प्रथा हटाउन सबैले लाग्नुपर्नेमा जोड दिए। उनले भने, “छाउ बार्ने र बार्न लगाउनेलाई सामुहिक वहिस्कार गर्नुपर्छ, कु–सस्कार मान्नेलाई सामुहिक वहिस्कार गरौँ।”

उनले प्रदेश सरकारले जनताका आवश्यकता सम्वोधन हुने गरि काम गरिरहेको दाबीसमेत गरे। सङ्घीयताले विकासको ढोका खोलेकोले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताए। दुई तले छ कोठाको निर्माण हुनलागेको उक्त निजामती स्कुलको लागत रकम रु दुई करोड ३९ लाख रहेको र निर्माणको समयावधी आगामी २०७८ साल पुस मसान्तसम्म सम्पन्न गरिसक्ने सम्झौता भएको निर्माणको जिम्मा पाएका नरेश शाहले बताए।

उक्त स्कुलका लागि एक सय रोपनी जमिन खरिद गरिएको र ७५ देखि ८० करोडको लगानीमा क्रमिकरुपमा आगामी वर्षमा पनि नयाँ स्कुल भवन, आवास गृह, खेलकुद मैदान र स्वीमङ पुललगायका संरचना निर्माण गरिने योजना रहेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए। रासस

कमेन्ट लोड गर्नुस