सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा सरकारले बनाएका घरले मुक्तहलिया खुशी

२०७६ माघ १०, ०९:०४ खबर संवाददाता

डोटी: वषौदेखि त्रिपालमुनि बसेर जीवनयापन गर्दै आएका जिल्लाका १००  मुक्त हलिया हिजोआज पक्की घरमा बस्न थालेका छन्। बलियो घरमा बस्न पाएपछि उनीहरुमा खुशीयाली छाएको छ। 

पुराना तथा कच्ची घरमा बस्दै आएका यहाँका हलिया नयाँ तथा पक्की घर पाएपछि अहिले निकै खुशी हुन्। हालसम्म जिल्लामा १०० मुक्तहलिया परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरिएको जिल्ला मालपोत कार्यालय डोटीले जनाएको छ। 

नयाँ घरले आफूहरुमा निकै राहत भएको पूर्वहलिया तथा दिपायल सिलगढी नगरपालिका वडा नं ५ का  बहादुर कोलीले बताए। उनले भने, “बास बस्ने घर नहुँदा पालको भरमा रात काट्दै आएका थियौँ, सरकारले नयाँ घर बनाइदिएपछि अहिले निकै राहत भएको छ।” आफ्नो जमीन र घर नहुँदा यहाँका मुक्तहलियाले वर्षौँदेखि सरकारी जमीनमा सानो कटेरो बनाएर जिन्दगी बिताउँदै आएका थिए।

२०६५ भदौ २१ गते सरकारले हलिया मुक्तिको घोषणा गरिसकेपछि जिल्लामा  २०७१ सालदेखि मुक्तहलिया पुनःस्थापना कार्यक्रम सुुरु भएको हो। सरकारले मुक्तहलियालाई चार वर्गमा राखी पुनःस्थापना कार्यक्रम अघि बढाएको हो। घरजग्गा केही नभएकालाई ‘क’ वर्ग, घर भएका तर जग्गा नभएकालाई ‘ख’ वर्ग, जग्गा भएका तर घर नभएकालाई ‘ग’ वर्ग र घरजग्गा दुवै भएकालाई ‘घ’ वर्गमा राखिएको छ। 

‘क’ वर्गमा १०० मुक्तहलिया परिवारका लागि जग्गा खरीद गर्न जनही दुई लाखका दरले दुई करोड र घर निर्माणका लागि १२५ परिवारका लागि जनही तीन लाख २५ हजारका दरले चार करोड ६ लाख २५ हजार आएको मालपोत कार्यालयका मुक्तहलिया कार्यक्रमका सुपरभाइजर नरी चुनाराले जानकारी दिए। 

उनका अनुसार यस वर्ष घर मर्मतका लागि भने कार्यक्रम आएको छैन । गत आर्थिक वर्षमा जिल्लामा नियमित कार्यक्रमअन्तर्गत ३६ जनालाई पुनःस्थापना कार्यक्रममा समावेश गरिएको थियो। थप कार्यक्रमअन्तर्गत घर निर्माणका लागि १५ र जग्गा खरीदका लागि पाँच जनालाई सहभागी गराइएको थियो। 

त्यस्तै जिल्लामा मुक्तहलियाको नमूना बस्ती बनाइने भनी ४० परिवारका लागि जग्गा खरीद गर्न आएको ७४ लाख  भने विभिन्न कारणले ‘फ्रिज’ भएको थियो। मालपोत र नापी कार्यालय, जग्गााधनी र हलिया अगुवाका बीचमा कमिशनको भागबण्डा नमिलेपछि जग्गा खरीद नगरी उक्त रकम फ्रिज भएको एक हलिया अगुवाको आरोप छ।

जिल्लामा एक हजार ८२६  मुक्तहलिया परिवार रहेको सरकारी तथ्याङ्क छ। तीमध्ये हालसम्म १३७ जनाले प्रमाणीकरण भई परिचयपत्रसमेत प्राप्त गरिसकेका छन्। परिचय पाएकामध्ये गत आर्थिक वर्षसम्म १६८ जना मात्रै पुनःस्थापना कार्यक्रममा परेका छन्। हलिया मुक्तिको घोषणा हुँदा पाँच वर्षभित्र न्यायिक पुनःस्थापना गरिसक्ने सैद्धान्तिक सहमति भए पनि पुनःस्थापना कार्यक्रम कछुवा गतिमा अघि बढिरहेको डोटीका पुराना हलिया अधिकारकर्मी तथा हाल सायल गाउँपालिका वडा नं  ३ का वडाध्यक्ष गोरखबहादुर सार्कीले बताए। उनले भने,  “राजनीतिक खिंचातानीले हलियाका घर बनाउने कार्यक्रम कछुवा गतिमा चलिरहेको छ।” 

सुदूरपश्चिम प्रदेशका नौ र कर्णाली प्रदेशका तीन गरी कुल १२ जिल्लामा १८ हजार ६९ मुक्तहलिया रहेको सरकारी तथ्याङ्क रहे पनि त्यसको झण्डै दोब्बर मुक्तहलिया परिवार रहेको हलिया अधिकारकर्मीको जिकिर छ। मुक्तहलियाको तथ्याङ्क लिन छुट भएका कारण फेरि नयाँ तथ्याङ्क लिनुपर्ने उनीहरुको माग  छ। -रासस
 

कमेन्ट लोड गर्नुस