धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा आन्दोलनका कार्यक्रम स्थगित
धनगढी: धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा दुई दिनदेखि आन्दोलनमा रहेका प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
तलवबृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएको प्राध्यापक संघले आन्दोलनका सबै कार्यक्रम स्थगित भएको जनाएको हो। प्राध्यापक संघका अध्यक्ष टंक कुँवरले तलवबृद्धि लगायतका ९ बुँदे माग राख्दै बिहिवारदेखि पेन डाउन गरिएकोमा आज १०, १५ दिन भित्रै सबै माग पूरा गर्ने सहमती भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको बताए।
सुदूरपश्चिमाञ्चल क्याम्पसले पनि विज्ञप्ती जारी गर्दै आपसी छलफलबाट सहमती भईसकेको र आईतवारदेखि नियमित पढाई हुने जानकारी दिएको छ। सुदूरपश्चिमाञ्चल क्याम्पसमा शेयर धनीहरुबिच पनि विवाद बढ्दै गएकोमा आज बसको बैठकले उक्त समस्या पनि समाधान गरेको दावी गरिएको छ।
५० प्रतिशत शेयर अध्यक्ष योगेन्द्र शाही र बाँकी ५० प्रतिशत सेयर अन्य चार जनाको रहेकोमा केही प्रतिशत शेयर दाखिला नहुँदा शेयरधनी पनि विभाजित भएका थिए। शेयरधनी कटक जप्रेलले शेयर दाखिला गर्ने सहमती भएको दावी गरे। प्राध्यापकहरुले पेन डाउन गरेपछि आज मात्रै विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका थिए।