सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेढ लाख घुस सहित पक्राउ परेकी मालपोत कञ्चनपुरकी खरिदारविरुद्ध आरोपपत्र दायर

२०७६ माघ १०, ०४:०३ खबर संवाददाता

डेढ लाख घुस सहित पक्राउ परेकी भूमीसुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदारविरुद्ध आरोपपत्र दायर भएको छ। डेढ लाख नै बिगो कायम गरी खरिदार ललिता रोकायाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

भीमदत्त नगरपालिका वडा नं. ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भन्दै रोकायाले डेढ लाख घुस खाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरले पक्राउ गरेको थियो।  अनुसन्धानको क्रममा उक्त कुरा पुष्टि भएको दावी अख्तियारको छ।

रोकायाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि भएकोले डेढ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस