धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा तालाबन्दी
धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिएमा विद्यार्थीले पनि तालाबन्दी गरेका छन्। शेयर धनीबिच विवाद बढ्दै गएपछि पठन–पाठन ठप्प भएको भन्दै विद्यार्थी काउन्सीलले तालाबन्दी गरेको हो। यस्तै एकेडेमीमा दुई दिनदेखि प्राध्यापक संघले पेन डाउन गरेको छ।
प्राध्यापक संघले गरेको पेन डाउनका कारण विद्यार्थीको अध्ययनमा समस्या भएको हो। विद्यार्थी युनियनका अध्यक्ष छत्र कठायतले एकेडेमीको प्रशासन, लेखा र विभागहरुमा ताला लगाएको बताए। उनले भने, ‘सञ्चालक र प्रशासनको कारण विद्यार्थीको पढाई प्रभावित भएको छ।
उनीहरुको समस्याका बारेमा हामीलाई कुनै वास्ता छैन्। तर विद्यार्थीको अध्यापन रोकिनु हुदैन्। हामीहरुले अध्ययन गर्न पाउनुपर्छ।’ प्राध्यापक संघले शिक्षक कर्मचारीको तलब बृद्धीको माग गर्दै हिजोदेखि पेन डाउन गरेको थियो। प्रत्येक वर्ष बढ्दै आएको तलब यसवर्ष सेयर धनीहरुको विवादका कारण नबढेको भन्दै पेन डाउन गरिएको प्राध्यापक संघले जनाएको छ।
विगतमा कलेजका अध्यक्ष समेत रहेका योगेन्द्र शाही र पूर्व राज्यमन्त्री समेत रहेका नरेशवहादुर सिंहको कलेजमा सेयर रहेको थियो। सिंहले तीन वर्ष अगाडी व्यापारी नरेश थापा सहित कलेजमै अध्यापन गराउँदै आएका कटक जप्रेल, उत्तम सिंह भण्डारी र मनोज पन्तलाई २५ प्रतिशत सेयर बिक्री गरेका थिए।
सिंहले एक वर्ष अगाडी बाँकी २५ प्रतिशत शेयर पनि तिनै चार जनालाई बिक्री गरेपछि कलेजमा अहिले ५० प्रतिशत शेयर अध्यक्ष शाही र बाँकी चार जनाको ५० प्रतिशत शेयर रहेको छ। तर दोश्रो पटक बिक्री गरिएको शेयर अहिले सम्म दाखिला भएको छैन्।