सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्यमन्त्रीको शुभकामना : गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान बनोस

२०७६ माघ ८, ०५:११ खबर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्न सकिनेमा जोड दिएका छन्। मन्त्री ढकालले बुधबार निर्माणाधिन मेडिकल कलेजको स्थलगत निरिक्षण गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरेर लैजान सकिनेमा जोड दिएका हुन्।

उनले भने, ‘मेडिकल कलेजलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा रुपान्तरण गरेर तपाई हामीले नयाँ गतिका साथ जान सकियोस्, सफलताका लागि शुभकामना दिन चाहान्छु।’ढकालले मेडिकल कलेज निर्माणका लागि अहोरात्र खटिने सबैलाई धन्यवाद समेत ज्ञापन गरे।

निर्माणाधिन मेडिकल कलेजमै पुगेका उद्योग मन्त्री लेखराज भट्टले पनि स्वास्थ्य मन्त्रालय अन्तरगत राखेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गरिदिन स्वास्थ्य मन्त्री ढकाललाई आग्रह गरेका थिए। सुरुमा नीति तथा कार्यक्रम ल्याउँदा पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर आएको स्मरण गर्दै मन्त्री भट्टले २०६८ सालमा संविधान सभा  विघटन भएपछि प्रस्ताव जान नपाएको बताए।

त्यसैकारण समिति गठन गरी मेडिकल कलेजका रुपमा निर्माण थालिएको उनले जनाए। मन्त्री भट्टले सुदूरपश्चिमको आवश्यक पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान नै भएको स्पष्ट पारेका थिए। गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउँदले भौतिक प्रगतीको बारेमा दुवैजना मन्त्रीलाई जानकारी गराएका थिए।

उनका अनुसार अहिले मेडिकल कलेजको ६५ प्रतिशत भौतिक प्रगती भएको छ तर प्याकेजगत रुपमा भने प्रगती बढि रहेको छ। सरकारले गेटा मेडिकल कलेजलाई कुन ढाचामा लैजाने भन्ने विषयको भने अझै टुङ्गो लाग्न सकेको छैन्। 
 

कमेन्ट लोड गर्नुस