सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो महिला ‘जेट क्याप्टेन’ का आमा-छोरा एउटै जहाजका पाइलट !

। फोटो स्रोत ।
२०७६ माघ ७, ०४:१३

सानैदेखि रायन वर्गम्यानलाई ककपिटको सिटमा राखिन्थ्यो। छेउमा पाइलट बाबुसँगै उनलाई कयौं मनोरम उडानमा लगिन्थ्यो। हौराकी गल्फ बाबु–छोरा घुम्ने मुख्य गन्तव्य थियो। दुई दशकभन्दा बढी समय बितिसक्दा पनि २६ वर्षीया रायन उही ककपिट्मा छन् तर पाइलटको हैसियतमा। परिवारको पाइलट संस्कारलाई निरन्तरता दिँदै हाल रायन र उनकी आमा एउटै एयरलाइन्समा आवद्ध छन्। 

नाउटुलभ डक को डट एनजे अनलाइनमा प्रकाशित रिपोर्ट अनुसार उनकी आमा रूथ काउस्कफ एयर न्यूजिल्यान्डकी पहिलो महिला जेट क्याप्टेन हुन्। ‘रायनले जन्मिदा नै आफूसँग पखेटा लिएर आएको थियो’, उनी हाँस्दै भन्छिन्। ६४ वर्षीया रुथले थपिन्, ‘बाल्यकालदेखि नै रायनको जहाजप्रति लगाव थियो र जहाजको वरिपरि हुन पाउँदा विछट्टै रमाउथ्यो।’ 

सँगै बसेका रायन थप्छन, ‘आमासँग एकै कम्पनीमा काम गर्न पाउँदा निकै खुसी छु। अझ आमाबाट कमान्ड पाउँदा त्यो खुसीको सीमा नै अर्कै हुन्छ।’ वायुसेवाको क्षेत्रमा किर्तिमानी राखेका यी आमा–छोराको कथा बेग्ला बेग्लै छन्। रूथका अनुसार उनी अकस्मात यस क्षेत्रमा आएकी हुन्। 

‘म २३ वर्षको हुँदा प्यारासुटिङ गरिरहेकी थिएँ। तर त्यसमा सफल हुन सकिन’, उनले विगत सम्झिइन, ‘मैले फ्लाइटको लागि फाल हालेँ तर त्यहाँ केही प्राविधिक गडबडी भएछ। म गाईको हुलमा बजारिएँ, मेरो गोलिगाँठो भाँचियो। त्यति हुँदाहुँदै पनि म झनै माथि पुगें र शरिरको अर्को भाग पनि भाँचे। म त्यसमा दक्ष थिइनँ तर जहाज चढेर माथि–माथि पुग्दा भने खुब रमाइलो लाग्थ्यो र सोच्थें, म उड्न किन नसिकूँ?’

पाइलट लाइसेन्स पाएको केही समयपछि उनका क्लिनिकल बायोकेमिस्टले उनको सौखलाई करियरमै बदल्न प्रोत्साहन गरे। त्यसपछि उनले आफ्ना पूर्वपति जिम वर्गम्यानसहित तीनजना पाइलट भेटिन् र उनीहरूले संयुक्त रूपमा सन् १९८० मा ग्रेट ब्यारियर एयरलाइन्स स्थापना गरे। पूर्वपति जिमले उनको तालिम र रायनलाई एभियसनप्रतिको लगाव बढाउन धेरै प्रयास गरेको बताउँछिन् रूथ। 

रुथ ३३ वर्षको हुँदा एयर न्यूजिल्यान्डमा आवद्ध भइन् तर उनी डोमेस्टिक र ट्रान्स तासमान रुटमा मात्रै सिमित थिइन्। त्यतिबेला रायन र उनका भाइ टेलर स्कुलमै पढ्थे। पछिल्लो आठ वर्षदेखि रुथले संसारभरि उडान भर्न थालेकी छन्।  ‘यो काम गर्दा मलाई कहिल्यै अल्छी लाग्दैन’, रुथले कामप्रतिको मोह र लगाव दर्शाइन्। उनले थपिन, ‘एउटा दार्शनिक भनाइ नै छ, ‘हरेक दिन आफैंमा फरक छन्। कुनै पनि दिन र रात एकनाश छैनन्।’

रुथको परिवारमा पाइलट बन्ने उनी पहिलो सदस्य होइनन्। उनका बाबु रेमन्ड डानजे दोस्रो विश्वयुद्ध ताका पाइलट थिए। यो कुरा उनले आफू पाइलट भएको झण्डैै २० वर्षपछि मात्र थाहा पाएकी थिइन्। उनका बुबा त्यतिबेला स्पीटफायर पाइलट थिए। ९९ वटा मिसन पूरा गर्ने्वित्तिकै उनलाई तत्कालिन कमान्डिङ अफिसरले घर पठायो। घर फर्किँदा उनी भर्खर २३ वर्षका थिए। 

१००औं मिसनमा कोही पनि सफल नभएको हुँदा उनलाई अफिसरले घर जान सुझाएका थिए। यो कुरा रुथले बाबु ४० वर्ष हुँदामात्र थाहा पाइन्। रूथ पाइलट भइसकेपछि मात्र उनका बुबाले यसबारे बताएका थिए। रूथका अनुसार त्यसबेलाका पुरुषले कहिल्यै युद्धका भोगाइबारे कुरा साटेनन्। तैपनि उनी बुबाले पाएका सफलताप्रति गर्व गर्छिन्। 

हजुरबुबाजस्तै रायन पनि कलिलो उमेरमै जहाज हाँक्न थाले। पहिलो एकल उडान भर्दा उनी भर्खर १६ वर्षका थिए। ‘त्यो एकदमै डरलाग्दो क्षण थियो’, ककपिटमा अर्का पाइलटको निर्देशनबिना नै गरिएको पहिलो पटकको उडान सम्झिँदै रायनले भने।

करिब एक दशक पाइलटको रुपमा काम गरिसकेका रायन अब आमासँगै एयरलाइन्स जेट पाइलटको श्रेणीमा पर्न चाहन्छन्। निकट भविष्यमा रूथ अर्र्को कुनै सफलताको खुड्किलो पार गर्न चाहिन्छन्। कुनै दिन छोरासँगै जेटमा एकसाथ काम गर्ने उनको ठूलो इच्छा छ। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस