सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा तीन गाउँपालिकामा एक सय ८ छाउगोठ भत्काइयो

२०७६ माघ ७, ०२:०८

प्रहरी तथा स्थानीयवासीको सहयोगमा डोटीका तीन गाउँपालिकामा एक सय ८ छाउगोठ भत्काइएको छ। बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो।  सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नम्बर १ र २ को बिपिनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए।

नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी रहेको छ। प्रहरीले  गोठ भए नभएको अवस्थाका बारेमा समेत अनुगमनसमेत गरिरहेको छ। अनुगमनका क्रममा ती तीन गाउँपालिकामा मात्रै ११३ वटा छाउपडी गोठ रहेको जनाइएको छ। उनले भने, “तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन, छाउगोठ भत्काउने अभियान जारी छ।” गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन  गरिएको छ।  

अभियनामा यहाँका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाको सहभागिता रहँदै आएको छ। जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। रासस
 

कमेन्ट लोड गर्नुस