सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको सेवा सुधार गरिरहेका मेसु पाण्डेलाई हटाउन फेरी चलखेल

२०७६ माघ ७, ०८:११ जनक विष्ट

धनगढीको सेती प्रादेशिक अस्पतालमा वषौँदेखि मिलेमतोमा हुदै आएका सबै खरिद प्रक्रिया भंग गरिदिएपछि विचौलीया र व्यवस्थापन समिति रुष्ट भएका छन्। प्रादेशिक अस्पतालमा विगतदेखि मिलेमतोमा ठेक्का पार्दै सबै खरिदका काम सिमित व्यक्तिबाट गरिदै आएकोमा अहिले अस्पतालले उक्त प्रक्रिया भंग गरेको छ।

अस्पतालले विगतमा सिलबन्दी बोलपत्र अथात हार्डकपी मार्फत ठेक्का सम्झौता गरी खरिदका काम गरिदै आएकोमा त्यसलाई भंग गर्दै विद्युतीय खरिद प्रणाली लागु गरेको छ। विद्युतीय खरिद प्रणाली मार्फत राष्ट्रिय स्तरको टेण्डर आह्वान गरी औषधी, विभिन्न यन्त्र उपकरण, खाद्यान्न खरिद गरिएको छ भने भवन निर्माण लगायतका अन्य ठेक्का पनि विद्युतीय खरिद प्रणाली मार्फत नै गर्ने प्रक्रिया अगाडी बढाईएको छ।

सेती प्रादेशिक अस्पतालका लेखा अधिकृत मदन महराले सात करोड ८३ लाख ४९ हजार लागत अनुमान गरिएको औषधी, आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक पर्ने समाग्री, ल्याब तथा प्रयोशालाका केमिकल विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) मार्फत झण्डै साढे तीन करोड घटी चार करोड ४९ लाख २४ हजारमा खरिद गरिएको बताए।

उनका अनुसार विगतमा ठेक्कामा एकलौटी हुँदै आएकोमा अहिले अस्पतालले ई–बिडिङ मार्फत तीन करोड ५३ लाखको औषधी फरक फरक आईटम आइटमर्वाइज ठेक्का स्वीकृत गरी पाँच प्याकेजमा छ वटा कम्पनीसंग एक करोड ५८ लाख १७ हजारमा ठेक्का सम्झौता गरी आपूर्ती गर्दै आएको छ।

यस्तै आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक पर्ने औषधी  लगायतका समाग्रीका लागि एक करोड ६१ लख ८४ हजारमा ठेक्का आह्वान भएकोमा ३ वटा प्याकेजमा तीन आपूर्तीकर्ता कम्पनीसंग ८३ लाख २३ हजारमा ठेक्का सम्झौता गरिएको छ भने ल्याब तथा प्रयोगशालाका लागि आश्यक पर्ने केमिकल खरिदका लागि दुई करोड ६८ लाख ठेक्का आह्वान भएकोमा १० प्याकेज बनाएर पाँचवटा आपूर्तीकर्तासंग दुई करोड ७८ लाखमा सम्झौता गरिएको छ।

यसरी सेती प्रादेशिक अस्पतालमा वषौँदेखि सिलबन्दी बोलपत्र अथवा हार्डकपी प्रक्रिया मार्फत औषधी, उपकरण एवंम अन्य समाग्री खरिद गरिदै आएकोमा अहिले विद्युतीय खरिद प्रणाली मार्फत ठेक्का सम्झौता गर्दै आएको छ। विगतमा विचौलिया, तत्कालीन अस्पताल विकास समिति, प्रशासन र केही टाठाबाठाको मिलेमतोमा आफूले रुचाएको व्यक्तिलाई ठेक्का पार्ने गरेको आरोप लाग्दै आएको थियो।

कमिसनको चलखेलमा अस्पतालले बोलपत्रमा हुदै नभएका प्रावधान राखेर सीमित व्यक्तिलाई ठेक्का पारिदै आएको थियो भने अन्य व्यक्तिलाई वाईबास गरिदै आएको थियो। विद्युतीय खरिद प्रणाली मार्फत सबै खरिदका काम गरिएपछि ती गुनासा छैनन्।

‘ई–बिडिङ प्रणाली मार्फत स्वच्छ प्रतिस्पर्धा हुन्छ, देशभरका फार्महरुले सहभागिता जनाउन पाउँछन्।’ लेखा अधिकृत महराले भने। ‘जसले जहाँ बसेर पनि हाल सक्ने हुनाले मिलेमतो गर्न पाउँदैनन्।’ अहिले खरिद प्रक्रियामा सुदूरपश्चिम बाहिरका फार्महरुले पनि सहभागिता जनाउन पाएका छन् भने अस्पतालले पनि छुट्टाछुट्टै प्याकेज बनाएर बढि भन्दा बढि व्यक्तिको सहभागिता गराउन थालेको छ।

जसले गर्दा विचौलियाले फाईदा उठाउन पाएका छैनन् भने बढि सहभागिता हुँदा सबैभन्दा कम कबोल अंक हाल्नेको ठेक्का सदर हुँदा अस्पताललाई फाईदा हुने गरेको छ। अस्पतालले ई–बिडिङ प्रणाली मार्फत खरिदका काम गर्दै आएकोमा अहिले व्यवस्थापन समिति, सामाजिक विकास मन्त्रालय र विचौलियालाई उक्त कुरा असह्य भएको छ।

अस्ताल स्रोत भन्छ, ‘विगतमा जस्तो सीमित व्यक्तिले मिलेमतो गर्न पाएका छैनन्, सेटिङमा अनियमितता गर्न नपाएपछि अस्पताल प्रशासनसंग रुष्ट छन्।’ समाचार स्रोत दावी छ, ‘अस्तालले विद्युतीय खरिद प्रणाली मार्फत ठेक्का सम्झौता गर्न थालेपछि विगतमा जस्तै बजेटमाथि मनोमानी, एकलौटी गर्न नपाएपछि विचौलिया र व्यवस्थापन समितिका पदाधिकारी तथा केही राजनीतिक दलका नेताहरु अस्पताल प्रशासनसंग रुष्ट भएका हुन्।’

बजेटमाथि मनोमानी गर्न नपाएकै कारण विचौलियाको समूहले अस्पताल व्यवस्थापन समिति र सामाजिक विकास मन्त्रालयको सहयोगमा सेवा सुधारका काम गर्दै आएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई हटाउन फेरी चलखेल थालेका छन्।

तर डाक्टर पाण्डे भने अस्पतालकै हित हुने भएकाले विगतमा सिलबन्दी बोलपत्र अथवा हार्ड कपीबाट हुदै आएका खरिद प्रक्रियालाई विद्युतीय प्रणाली बनाएको बताउँदै आएका छन्। ‘धेरै पहिलेदेखि स्थानीय टेण्डर गर्ने चलन थियो।, केही वर्ष पहिले सरकारले नै ठुलो रकमको टेण्डर ई–बिडिङमा जान निर्देशन नै जारी गरेको थियो।’ पाण्डेले भने।

तरपनि स–साना, मझौला खालका टेण्डर स्थानीय स्तरमै गरेपनि गत वर्षदेखि भने ई–बिडिङ मार्फत नै गरिदै आएको उनले बताए। ‘ई–बिडिङ गर्दा देशभरीबाट सहभागिता जनाउँदा पाउँदा धेरैको संस्थाले टेण्डर हाल्छन्, प्रतिस्पर्धा भई कम मूल्यमा औषधी लगायतका सामान खरिद गर्न पाउने भएकै कारण हामी ई–बिडिङमा गएका हौँ।’पाण्डेले बताए। 

मेसु पाण्डेलाई महाकाली अस्पताल पठाएर निकटका व्यक्ति भर्ना गर्ने तयारी

सेती प्रादेशिक अस्पतालको सेवा सुधार गर्दै आएका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई हटाएर निकटका व्यक्तिलाई मेसु बनाउन चलखेल फेरी सुरु भएको छ। मेसुका कारण अस्पतालको बजेटमाथि मनोमानी र एकलौटी गर्न नपाएको भन्दै विचौलियासंगको मिलेमतोमा सामाजिक विकास मन्त्रालय र अस्पताल व्यवस्थापन समिति पाण्डेलाई हटाउन लागिपरेका छन्।

यसअघि पनि सोही समूहले ११ औ तहका पाण्डेलाई हटाएर आफू निकटका नवौ तहका डाक्टर निरज अर्याललाई ल्याउन चलखेल थालेको चर्चा चलेको थियो। तर उक्त कुरा बाहिरिएपछि उनीहरु पछाडी हटेका थिए। ‘तर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले बजेटमाथि मनोमानी गर्न नपाएपछि उनकै अगुवाईमा मेसुलाई हटाउने खेल सुरु भएको हो।’ स्रोतले बताएको छ।

यसअघि आफू मेसुलाई हटाउनुपर्छ भन्ने पक्षमा नरहेको दावी गर्दै आएका अध्यक्ष जोशीले केही दिन पहिले अस्पतालमा बसेको बैठकमै मेसु सहितका डाक्टरलाई अनावश्यक तनाव दिएका थिए। ‘अध्यक्षको दादागीरीपूर्ण कार्यशैलीले मेसु मात्र नभएर अन्य डाक्टर समेत रुष्ट छन्।’ स्रोतले भन्यो। ‘जोशी अस्पतालमा काम गर्न नदिने वातावरण सिर्जना गर्न उद्दत भएपछि केही डाक्टरले अन्यत्र जाने मुड बनाईसकेका छन्। उनीहरु त्यसको भोलीपल्टदेखि नै विदामा बसिसकेका छन्। जसका कारण अस्पतालको सेवा प्रभावित भएको छ।’

जोशी नै पाण्डेलाई हटाउने भन्दै सार्वजनीक रुपमै घुर्की लगाउदै आएका छन्। पाण्डेलाई महाकाली अस्पतालको मेसुको जिम्मेवारी दिएर सेतीमा निकटलाई ल्याउने सेटिङ भईरहेको पनि दावी गरिएको छ। मेसु पाण्डेका कारण बजेटमाथि मनोमानी गर्न नपाएको बुझेका विचौलिया र सामाजिक विकास मन्त्रालयको सहयोगमा निकटका व्यक्ति भर्ना गर्न अध्यक्ष जोशी नै मुख्य भूमिका खेलिरहेको आरोप लागेको छ। तर जोशीसंग यसबारेमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्।  

सम्बन्धीत समाचार 

‘सेती अस्पतालको बजेटले स्वार्थ पूर्ती नभएपछि व्यवस्थापन समितिको छटपटी’

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस