सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सडक छेउमा उखु र केराखेती

फाईल फोटो
फाईल फोटो
२०७६ माघ ४, ०८:४०

कृषि ज्ञान केन्द्र बाजुराले सडक छेउछाउको जमिन विविध कृषि उत्पादनको लागि प्रयोग गर्ने भएको छ। सडक सुरक्षा, जमिनको उपयोग र कृषि उत्पादनका लागि सडक छेउको जमिनलाई प्रयोग गर्ने नीतिसहित केन्द्रले योजना अघि सारेको हो। पहिलो चरणमा जिल्लाको इकडी गाडदेखि मार्तडीसम्मको ४० किलोमिटर जमिन उपयोग गरिने कृषि प्रचार अधिकृत मीनप्रसाद जैसीले बताए। उर्बर र मलिलो जमिन क्षेत्रमा उत्पादन हुने वस्तुको पहिचान गरी केरा र उखु खेती गर्ने गरी काम शुरु गरिएको अधिकृत जैसीले बताए। 

उक्त कार्यक्रमबाट जमिन सुरक्षित हुने र हरियाली पनि देखिनेछ। साथै बोटबिरुवा भएको स्थानमा पहिरोको जोखिम कम हुने हुँदा बहुउपयोगको नीति लिइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। स्याउदेखि, सिमीसम्म, आलुदेखि कोदोसम्मको बजार जिल्ला बाहिर विस्तार गर्न सफल ज्ञान केन्द्रले फेरि नयाँ योजना अघि सारेको हो। सडक नजिकै बस्ने स्थानीयवासीसँगकै सहकार्यमा खेती गरिने बताइएको छ। स्थानीय कृषि समूह, कृषि सहकारी तथा गाउँ टोललाई साथमा लिएर उत्पादनमुखी र किसानलाई प्रत्यक्ष आयमूलक गतिविधि समेट्ने योजनासहित काम थालिएको कार्यालय प्रमुख गोविन्द सिजापतिले बताए।

उखु र केराजस्ता नगदेबाली सडक छेउछाउमै उत्पादन भएमा बिक्री वितरण गर्न सजिलो हुने र ठूलो बजारसम्म पु¥याउन नपर्ने हुँदा योजना सफल हुने ज्ञान केन्द्रको विश्वास छ। सुदूरपश्चिमको पहाडी क्षेत्रमा पहिलो पटक यो कार्यक्रम शुरु गर्न लागिएको हो। राम्रो सम्भावना देखेर नै यो कार्य गर्न लागिएको र यसका लागि आवश्यक बजेटसहित प्रस्तावना ज्ञान केन्द्रले माग गरेको कार्यालय प्रमुख सिजापतिले बताए। ज्ञान केन्द्रले नयाँ र किसान लक्षित गतिविधि बढाउँदै लगेको छ।     

साँफे–मार्तडी सडकअन्तर्गत बाजुरा प्रवेश गरेपछि सडक दाँयाबाँयातर्फ प्रायः सुक्खा अनि पहिरो जाने क्षेत्र बढी छ। त्यसको व्यवस्थापन र कृषि क्षेत्रको आकर्षणका लागि केन्द्रले शुरु गरेको अभ्यास सकारात्मक रहेको कृषि अगुवाको भनाइ छ। यस्ता गतिविधिले अन्य किसानलाई पनि केही पाठ सिकाउने विश्वास गरिएको छ। कम लागत र मेहनतमै उखु र केरा उत्पादन हुने गर्छ। कृषकको आम्दानी बढाउन र रोजगारीको सिर्जना गर्न अभियानको रुपमा परियोजना अघि बढाइएको हो। परियोजना सञ्चालन गर्न खोजिएको सडक क्षेत्र उखु र केराका लागि उर्बर भूमि मानिन्छ । ज्ञान केन्द्रले यो वर्ष उखु खेती गर्ने र अर्को वर्षबाट केरा खेती मौसमअनुसार लगाउने बताएको छ। 

बूढीगंँगा र बडिमालिका नगरपालिकाका उखु रोप्न चाहने र उखु बेच्न चाहने दुवै कृषकलाई सम्पर्कमा आउन सूचनासमेत जारी गरिएको छ। यही माघ १४ गतेसम्म सम्पर्क राख्न सूचनामार्फत जानकारी गराएको सूचना अधिकारी जैसीले बताए। यस परियोजनामा एक हजार बढी किसानलाई प्रत्यक्ष सहभागी गराउने लक्ष्य राखिएको छ। अभियानमा सहभागी भएर उखु र केरा रोपौँ आम्दानीमा वृद्धि गरौँै, बाजुरा गरिबी र अभावको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने नारा परियोजनाअन्तर्गत तय गरिएको छ। रासस
 

कमेन्ट लोड गर्नुस