सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा लागेको महोत्सवमा चक्कु प्रहार गर्ने युवक पक्राउ

२०७६ माघ २, ०७:१६ खबर संवाददाता

कैलालीको अत्तरियामा लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा चक्कु प्रहार गर्न खोज्ने युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरिया महोत्सवमा चक्कु देखाएर अर्का युवकलाई लखेटिरहेको अवस्थामा गत पुष २९ मा गोदावरी नगरपालिका १ बस्ने १८ वर्षीय निर्मल सार्कीलाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले युवकलाई पक्राउ गरी अनुसन्धान भईरहेको बताए। यसअघि गत वर्ष पनि अत्तरियामा लागेको महोत्सवमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या गरिएको थियो। प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने क्रममा भएको झडपका क्रममा धारिलो हतियार प्रहार गरी गोदावरी नगरपालिका १ कै १९ वर्षीय अरुण भट्टको हत्या गरिएको थियो।

उनको हत्यामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाएको थियो। जिल्ला अदालत कैलालीले मुख्य अभियुक्त भनिएका विनोद ऐर, डेबिटसिंह ऐरी र मन्जु खड्का चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। प्रमेश मगरलाई धरौटी तारेखमा रिहा गरिएको थियो भने तीनजना नाबालक सुधार गृहमा राखिएका छन्। 
 

कमेन्ट लोड गर्नुस