सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली धानको बीउँले ठगिएका कैलाली र कञ्चनपुरका किसानले क्षतीपुर्ती पाएनन्

क्षर्तीपुर्तीको माग गर्दै कैलालीको गौरीगंगा नगरपालिकमा जुटेका किसानहरु/फाईल फोटो
क्षर्तीपुर्तीको माग गर्दै कैलालीको गौरीगंगा नगरपालिकमा जुटेका किसानहरु/फाईल फोटो
२०७६ पुष २९, ०६:२९ खबर संवाददाता

नक्कली धानको बीउँले ठगिएका कैलाली र कञ्चनपुरका किसानले अझै क्षतीपूर्ति पाएका छैनन्। गरिमा धानको बीउँका कारण दुई जिल्लामा मात्रै झण्डै ६ करोडको क्षती भएमा अहिले सम्म किसानहरुले राहत र क्षतीपुर्ती नपाएका हुन्। एक हजार सात सय ३० जना किसानले लगाएको गरिमा धानको बीउँले उत्पादन नदिएपछि झण्डै ६ करोडको क्षति भएको थियो।

किसानहरु नक्कली धानका कारण ऋणमा डुवेका छन् तर क्षतिपूर्तिका लागि मन्त्रालयले वास्ता नगरेको हो। ’संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको टोली अनुगमनमा आएका बेला नक्कली गरिमा धानको बीउँका कारण कैलाली–कञ्चनपुरमा भएको क्षतीको विवरण बुझाइएको थियो,’ सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले भने, ‘तर संघीय मन्त्रालयबाट क्षतीपुर्तीका लागि कुनै औपचारीक पत्र भने आएको छैन्।’

उनका अनुसार संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको बीउ बिजन गुणस्तर नियन्त्रण कार्यालयका प्रमुख मदन थापा संयोजक रहेको अनुगमन टोलीले मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएको एक महिना बढि भएको छ।

तर किसानलाई राहत र क्षतीपुर्ती दिने बिषयमा कुनै निर्णय भएको छैन्। बीउँ बिक्रि गर्ने कम्पनीका बिरुद्ध मुद्दाको तयारीमा मन्त्रालय रहेको संघीय कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले बताए। 

‘गरिमा धानको बीउ बिक्रि गरेको दाङको लमहीमा रहेको सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रालिका बिरुद्ध मुद्दा हाल्ने तयारीमा छौँ,’ उनले भने, ‘मुद्दा किनाराका लागि लामो समय लाग्ने भएकाले प्रदेश सरकार र स्थानीय तहलाई क्षतीपूर्ति वितरणका लागि आग्रह समेत गरेका छौँ।’

अनुगमन समितिले भारतको हैदरावादबाट गरिमा धानको बीउ आयात गरिएको जनाएको छ। गरिमा धानको बिउ २०७२ सलामा नेपाल सरकारले नै प्रमाणीत गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस