सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम घुम्न आउने पर्यटकका लागि सहज वातावरण बनाउन ह्याप्पीनेसको माग

२०७६ पुष २८, ०५:१८ खबर संवाददाता

भ्रमण वर्षमा सुदूरपश्चिम घुम्न आउने पर्यटकको लागि सहज वातावरण बनाउन माग गरिएको छ। सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले प्रदेशको उद्योग पर्यटन वन तथा  वातावरण मन्त्रीलाई आज ज्ञापनपत्र बुझाउदै पर्यटकका लागि सहज र सूचनामैत्री वातावरण बनाउन माग गरेको हो।

भ्रमण वर्ष सुरु भएपछि सुदूरपश्चिम घुम्न आउने पर्यटकको संख्या बृद्धि भएपनि पर्यटकीय क्षेत्र बारे प्रष्ट जानकारी अभावमा अन्यौलता भएको भन्दै त्यसको व्यवस्थापन गर्न माग गरिएको छ। ज्ञापन पत्र बुझाउँदै संस्थाका संयोजक घनश्याम भण्डारीले पर्यटकीय गनतव्यको बारेमा स्पष्ट जानकारी अभाव, खान, बस्न एवंम सञ्चार सुविधाको अभावले समस्यामा पर्ने गरेका भन्दै सीमा र राजमार्ग क्षेत्रमा जानकारी मुलक संकेत चिह्न राख्न माग गरिएको छ।

ज्ञापन पत्रमा भनिएको छ,‘पर्यटकको सहजताका लागि सीमा नाकाहरुमा तत्काल पर्यटक सहायता कक्ष स्थापना, पर्यटकीय स्थलको जानकारी मुलक सूचना, तस्बिर लगायतका समाग्री तत्काल राख्न माग गर्दछौँ।’ पर्यटकका लागि खान, बस्न र घुम्नका लागि उचित व्यवस्थापन गर्दै यातायात, सञ्चार, इन्धन, खानेपानी, मार्ग दर्शकको व्यवस्थापन लगायतका अत्यावश्यक कुराहरुको तत्काल व्यवस्था मिलाई स्थानीय र प्रदेश सरकार सहित समग्र प्रदेशको बारेमा जानसक्ने गलत सन्देश प्रती सजग रहन पनि आग्रह गरिएको छ।

ज्ञापन बुझ्दै पर्यटन मन्त्री माया भट्टले सुदूरपश्चिमका सात नाकामा पर्यटकका लागि सहायता कक्ष स्थापना गरिने बताईन्। तर सहायता कक्षबाट कस्तो किसिमका सेवा दिने भन्ने विषयमा भने अझै निर्णय नभएको मन्त्री भट्टको भनाई छ। उनले सूचना मुलक सामाग्री प्रकाशन र प्रसारणका लागि पनि मन्त्रालयसंग कार्यक्रम रहेको उल्लेख गरिन्।

प्रदेशका पर्यटकीय स्थलको पूर्वाधार विकास गर्दै भ्रमण वर्षमा बढि भन्दा बढि पर्यटक भित्र्याउने योजना मन्त्रालयको रहेको सुनाउँदै भट्टले सबैको सकारात्मक सहयोगको आवश्यकता रहेको बताईन्।  मन्त्रालयमै पुगेर हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, आपतहकालीन असहाय कोषकी सह–संयोजक पुजा लामा, सदस्य उज्जवल बुर्लाकोटी, कश्मीर साउँद, जनकसिह विष्ट, सुनिल सापकोटा, लक्ष्मी अवस्थी र  आसिस केसी पर्यटन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। 

 

 

कमेन्ट लोड गर्नुस