सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानीको माग गर्दै आन्दोलित

२०७६ पुष २८, ०५:४४ खबर संवाददाता

समयमै खानेपानी परियोजना सम्पन्न हुन नसक्दा पानीको माग गर्दै धरानवासीले आन्दोलन शुरू गरेका छन। एशियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन भएको धरान खानेपानी परियोजना सम्पन्न गर्न खानेपानी संस्थानले ढिलाइ गरेको भन्दै जनप्रतिनिधिसहित स्थानीयले आन्दोलन गरेका हुन।

खानेपानी संस्थानले पाइप बिछ्याउने काममा ढिलाइ गरी कृत्रिम अभाव सृजना गरेको भन्दै धरान नगरपालिका–९ का वडाध्यक्ष रत्नबहादुर कटुवालको अगुवाइमा स्थानीयले विरोध प्रदर्शन गरेका छन्। शनिवार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले संस्थानले तोकिएको समयमा पानी नछाडेको, उपभोक्तालाई थप पाइप बिछ्याउन लगाउँदै व्यापार गरेको आरोप लगाएका छन।

स्थानीयले पानी नपाएपछि महशुल समेत नतिर्ने चेतावनी दिएका छन। ‘धरान खानेपानी बोर्ड र खानेपानी संस्थानबीचको द्वन्द्वले धरानमा खानेपानी पिउन पाएका छैनन, जहिल्यै हिउँद याममा काकाकुल नै बस्नुपर्ने ?’ कटुवालले भने। धरानवासीलाई काकाकुल बनाउँदै बीपी प्रतिष्ठानलाई पानी बेचेको स्थानीयबासीको आरोप छ।

स्थानीयवासी शिव राईले भने, ‘बीपी प्रतिष्ठानलाई पानी बेच्ने खानेपानी संस्थानले धरानलाई काकाकुल बनाउन पाइँदैन।’ पानीको मुहानबाट पानी आए पनि संस्थानको लापरबाहीले धरानवासीले पानी उपभोग गर्न नपाएको उनको गुनासो छ।
 

कमेन्ट लोड गर्नुस