सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रमण वर्ष सफल पार्न नेपाली नियोग सक्रिय, उत्साहजनक वातावरण बन्दै

२०७६ पुष २८, ०५:१९ खबर संवाददाता

‘अतिथि देवो भवः’ भन्नलाई मात्र भनेको होइन। यथार्थमा नेपाल र नेपालीले अतिथिलाई देवता नै मान्ने चलन छ। यही चलनलाई नेपाल भ्रमण वर्ष २०२० मा विदेशी र स्वदेशी पाहुनालाई देवतासरह मान्न थालिएको छ।

स्वदेशी र विदेशी दुबैथरी पाहुनाका लागि आपसी सद्भाव, मेलमिलाप, शान्ति र समाज व्यवस्थापनमा यो उक्ति निकै अमूल्य मानिन्छ। नेपालको हिमाल, प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र नेपाली हातको मिष्ठान्न भोजनको रसास्वादन गर्न पर्यटक उत्सुक रहन्छन्।

यही मान्यता अनुसार ‘नेपाल भ्रमण वर्ष २०२०ः जीवनभरका लागि अनुभव’ नारासहित नेपालमा नेपाल भ्रमण वर्ष विधिवत् रुपमा केही दिनअघिदेखि शुरु भइसकेको छ। छिमेकी मुलुकदेखि सातसमुद्रपारसम्म पनि धमाधम नेपाल भ्रमण वर्ष सफल बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु भइरहेका छन्। सन २०२० भित्र नेपालमा २० लाख पर्यटकको भ्रमण गराउने लक्ष्यसहित भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिईन्।

नेपालमा भ्रमण वर्ष उद्घाटन हुनुअघि विहान प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाना जोडिएका छिमेकी देश भारतका समकक्षी नरेन्द्र दामोदर मोदीलाई नेपाल भ्रमण गर्न निम्तो दिए। भ्रमण वर्षको निम्तोलाई छिमेकी देशका प्रधानमन्त्री मोदीले सहर्ष स्विकारे। भारत र नेपालको धार्मिक पर्यटनको सम्बन्ध निकै पुरानो हो।

चारधाम गर्न होस् वा पूण्य कमाउने हेतुले नै किन नहोस, नेपालबाट भारत र भारतबाट नेपाल तिर्थाटन गर्न वर्षेनी लाखौँको संख्यामा आवतजावत हुने गरिएको छ। पछिल्लो समय धार्मिक पर्यटनलाई रामायण सर्किट, लुम्बिनी सर्किट सहितका सञ्जालमा विस्तार गर्न दुबै देशको सहकार्य भैरहेको छ।

उता उत्तरतर्फ हिमाल र पहाडको साँध जोडिएको छिमेकी मुलुक चीनसँगको गाँठो भ्रमण वर्ष अघि नै बलियो बन्यो। असोज २५ र २६ को दुईदिने भ्रमणमा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आए। भ्रमण वर्षको पूर्वाद्धमा नेपाल आएका उनले चीन हरेक तवरले नेपालको छिमेकी हुनुको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।

नेपाल भ्रमण वर्ष सफल बनाउन विदेशमा रहेका नेपालका कूटनीतिक नियोगलाई अभियान सुरु गर्न भनिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बताउछन्। कूटनीतिक देशको आर्थिक विकाससँग नजिक रहेको पर्यटनको लागि पनि महत्वपूर्ण साध्यका रुपमा रहेको उनको भनाइ छ। दक्षिण एसियाको सबैभन्दा सानो परराष्ट्र मन्त्रालय रहे पनि विभिन्न ३० देशमा राजदूतावास सञ्चालनमा रहेको छ।

कतिपय देशमा रहेका राजदूताबासले ६ भन्दा बढी देश हेर्ने गर्छन। तीनवटा संयुक्त राष्ट्रसंघीय मिसनसँगै १६८ देशसँग दौंत्य सम्बन्ध कायम नेपालले कायम राखेको छ। 
 

कमेन्ट लोड गर्नुस