सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा १९ दिनमा १७ सय ३६ छाउ गोठ भत्काईयो

२०७६ पुष २७, ०८:५५ खबर संवाददाता

अछाममा छाउ गोठ भत्काउने अभियानमा प्रहरी सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत अहिले सम्म १७ सय ३६ छाउ गोठ भत्काईएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुबाट छाउपडी प्रथा न्युनिकरण गर्न “छाउपडी गोठ भत्काउने अभियान” थालिएको उनले बताए। प्रहरी, स्थानिय निकायका जनप्रतिनिधी, समाजसेवी, महिला, पत्रकार, महिला समुह, आमा समुहहरुको सहभागितामा उक्त अभियान थालिएको उनले बताए।

पछिल्लो १९ दिनको अवधीमा साफेबगर नगरपालिकामा ती सय ७१, पञ्चदेवलविनायक नगरपालिकामा एक सय ५१, रामारोशन गाउँपालिकामा एक सय १९, ढकारी गाउँपालिकामा तीन सय ३७, मेल्लेख गाउँपालिकामा दुई सय ५४, तुर्माखाद गाउँपालिकामा तीन सय ३१, चौरपाटी गाउँपालिकामा ६५, मंगलसेन नगरपालिकामा १२, कमलवजार नगरपालिकामा ६३, बान्नीगढी जयगढी गाउपालिकामा २७ गरि १७ सय ३६ वटा छाउपडी गोठहरु भत्काईएको प्रहरी निरिक्षक अवस्थीले बताए।

छाउपडी सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्नुका साथै छाउपडी सम्बन्धी कानुनी प्रावधान बारे जानकारी समेत गराईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस