सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झनामा सिमलचरी गाउँ!

फोटो : हिमालय भट्ट
फोटो : हिमालय भट्ट
२०७६ पुष २७, ०३:२० खबर संवाददाता

किशोर खड्का

उहिले पश्चिम नेपालको सिप्टी भन्ने गाउँमा एकजना बाहुन थिए। किसानी कामसँगै मुख्य पेशा भने पुरेत्याई थियो। किसानी गर्नु भन्दा पुरेत्याई गर्नु उनलाई सजिलो र राम्रो लाग्थ्यो। यद्यपी भएको खेतबारी पनि बाझो राख्नु हँुदैन भन्ने परम्पराले फाँटमा भएको जग्गामा खेती पनि लगाउन छोडेका थिएनन्।

सधै झैं त्यो वर्ष पनि उनले खेतमा धान लगाए। धान पाक्ने समय आयो र संगसंगै सोह्र श्राद्ध सुरु हुने समय पनि आयो। सोह्र श्राद्धमा उनलाई भ्याई नभ्याई हुन्थ्यो, जजमानको घरमा गएर पितृ पुजन कार्य गर्न। त्यसैले धान राम्रोसँग नपाक्दै काटेर कुनियु लगाएर सोह्र श्राद्ध सुरु हुनुभन्दा केही दिन अगाडी नै धान झार्ने काम पनि थालिहाले।

एउटै खेत भएकाले सधैका वर्षझैं खुट्टाले मिचेर धान झार्न थाले। दिनभरी धान झार्यो बेलुका सम्म नसकिने, फेरी अर्को दिन आयो फेरी पनि नसकिने। सोह्र श्राद्ध सुरु भयो, यता जजमानले बोलाएको बोलायै गर्न थाले। जति झार्दा पनि नसकिने, जजमानले पनि बोलाएको बोलायै, रिस उठेर कुनियुमा आगो लगाईदिए।

कुनियुमा आगो लगाउना साथ यता घरमा थुपारेको धान पनि सबै गायब भए। धानको कुनियुु जति निकालेपनि नसकिनुको कारण के रहेछ भने धानको कुनियु भित्र एउटा चरीले गुड बनाएर बसेको रहेछ। उसैको शक्तिको कारण धान जति झिक्दा पनि गुड भएको ठाउँसम्म पुग्न नपाउँदो रहेछ।

बाहुनले आगो लगाइदिएपछि चराको प्वाख सहित उसको गुड डढ्यो। चरा निकै दुःख पुर्वक त्यहाँबाट भागेछ। जंगलमा पुगेपछि त्यो चरीको दयनीय अवस्था देखेर अन्य चरीहरुले एक—एक प्वाख दिएछन्। सबैको प्वाख पाएपछि चरी निकै सुन्दर देखियो।

आफैले दिएको प्वाखले आफ भन्दा सुन्दर देखिएपछि फेरी तिनै चराहरु डाही (डाह गर्नु) भए र, सिमल चरीलाइ लखेट्न थालेछन्। दिनहु यो क्रम चलेपछि सिमलचरीले राती मात्रै बाहिर निस्कने र दिनभर लुकेर बस्ने गर्न थाल्यो।

राति बाहिर निस्केपछि उसले आफनो बेदना गाउने गर्न थाल्यो, उसैले गाएको बेदनाबाट उसले भोग्नुपरेको दुःख पिडा सबैले थाहा पाए। हिजोआज पनि सिमलचरीले आफनो बेदना गाउँने बेला मोही बनाउने समय परे अरु बेला भन्दा धेरै घ्युउ  निस्कन्छ, मोही मिठो हुन्छ भन्ने गोठालाहरुमा विश्वास रहदै आएको छ।  
                                ......................  
हजुरबा, हजुरआमाको मुखबाट सुनेको कथा, पुरानो महेन्द्रमाला किताबमा लेखिएको दन्त्य कथा भएकै सिप्टी गाउँमा पुग्ने अवसर जुटयो केही वर्ष पहिला। जुन सुदुरपश्चिमको दार्चुलामा पर्दो रहेछ। अहिले हिमपातले सिप्टी ढाकिएको तस्बिरहरु देख्दा पुरानो यात्रा र संस्मरण दिमागमा झल्कियो र शब्द मार्फत प्रस्तुत गर्न मन लाग्यो।

दन्त्य कथामा उल्लेख भएको बाहुनको खेतमा उच्च मावि सञ्चालन भइरहेको रहेछ। निकै ठुलो चउर। त्यसपछि भने यो चउरमा कहिल्यै धान खेती भएन रे। यो ठाउँ समथर छ, वरिपरी पहाड, तल नौगाड खोला, साच्चै नै रमणीय देखिन्छ सिप्टी गाउँ।

सिप्टीबासी उतिकै सहयोगी। स्वदेशी र विदेशी पर्यटक अपी हिमाल जान यो बाटो पनि प्रयोग गर्ने भएकोले पर्यटकीय दृष्टिकोणमा पनि महत्वपुर्ण देखिन्छ सिमलचरिको गाँउ। यहाँ पुग्न दार्चुला सदरमुकाम खलंगा र गोकुलेश्वरबाट करिब १ दिन लाग्छ। दार्चुला जाँदा एकपटक सिमलचरिको गाँउ हेरेर आउनुस हैं।

 लेखक नेपाल भ्रमण वर्ष २०२०, सुदूरपश्चिम पर्यटन प्रवद्र्धन समिति सदस्य तथा प्रचार प्रसार संयोजक हुन। 

 

कमेन्ट लोड गर्नुस