सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिका पनि आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न असफल

२०७६ पुष २४, ११:०७ जनक विष्ट

कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय पालिकाले स्वास्थ्य संस्थाहरुको उचित व्यवस्थापन गर्न नसकेपछि नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता रहेका बेला धनगढीमा पनि उस्तै अवस्था रहेको छ। उपमहानगरपालिकाले मातहतका स्वास्थ्य संस्थाको उचित व्यवस्थापन गर्न नसक्दा नागरिक आधारभुत स्तरको सेवा पाउँनबाट वञ्चित भएका छन्।

स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने औषधी खरिद लगायतका काम व्यवस्थापन गर्न नसक्दा नगरबासीले आधारभुत स्तरको स्वास्थ्य सेवा समेत नपाएका हुन्। शरही स्वास्थ्य केन्द्रका प्रमुख कृष्णदत्त पन्तले सरकारले अनिवार्य गरेका सबै औषधी वितरण गर्न नसकिएको उल्लेख गरे।

उनले अहिले जिल्ला स्वास्थ्य कार्यालय र प्रादेशिक स्वास्थ्य व्यवस्थापन केन्द्रबाट औषधीको आपूर्ती गरिरहेपनि उपमहानगरपालिकाको बजेटले खरिद नभएको बताए।  उपमहानगरपालिकाले भने आर्थिक वर्षको छ महिना बित्दा समेत स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने औषधी खरिद नसकेको हो।

खरिद प्रक्रिया थाल्न नै ढिलाई गरपछि समस्या भएको हो।  स्वास्थ्य सेवाको व्यवस्थापनका लागि मात्रै झण्डै साढे पाँच करोड छुट्याएको उपमहानगरपालिकाले गत कात्र्तिकमा मात्रै टेण्डर आह्वान गरी मंसिरमा मात्रै ठेक्का सम्झौता गरेको स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले बताए।

उनले अहिले प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयबाटै आवश्यक पर्ने औषधी खरिद गरी वितरण गरिरहेको जनाए। तर
केही दिन भित्रै औषधी आपूर्ती गरिने दावी शर्माको छ।

स्थानीय तहलाई १५ शैया सम्मको अस्पताल सञ्चालन र व्यवस्थापन गर्ने अधिकार भएपनि स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रकै व्यवस्थापनमा धनगढी उपमहानगरपालिका असफल भएको हो। निर्वाचित जनप्रतिनिधीहरुको ध्यान जनसेवा भन्दा पनि आफ्नो स्वार्थ पूर्तीमा केन्द्रीत भएपछि आम नगरबासीले आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको गुनासो पनि गरिदै आएको छ।

तर धनगढीका जनप्रतिनिधिहरु भने नयाँ व्यवस्था भएका कारण केही समस्या भएको दावी गर्दै आएका छन्। उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले कर्मचारी समायोजनका कारण आउने जाने क्रम जारी रहेको बताए। उनले बजेट अभावले औषधी आपूर्तीमा केही समस्या भएपनि खरिद प्रक्रिया अगाडी बढाएको दावी गरे।   
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस