सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ज्वरो ,रुघाखोकी र निमोनियाका बिरामी वृद्धि

२०७६ पुष २२, ११:१८

हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी  बिरामी पर्न थालेका छन्। डोटीका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ। जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले जानकारी दिए।

उनले भने, “चिसोले बालबालिका र ज्येष्ठ नगरिकमा बढी समस्या देखिएको छ, बिरामीको चाप बढेको छ।”  जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४  पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा  दैनिक ३० देखि ४० बिरामी उपचारका लागि आउने गरेका छन्। चिसोका कारण बिरामीको चाप बढेपछि उपचारमा समस्या भइरहेको  अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले बताए।

उनले भने, “अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या बढेको छ, उपचारमा समस्या भइरहेको छ।” यस्तै यहाँका ग्रामीण क्षेत्रमा भएका स्वास्थ्यचौकीमा समेत बिरामीको चाप बढेको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ प्रमुख गोविन्द विष्टले जानकारी दिए। उनका अनुसार अहिले यहाँका स्वास्थ्यचौकीमा दैनिक १० देखि २० सम्म उपचारमा बिरामी आउने गरेका छन्।

 स्वास्थ्यचौकीमा  निमोनिया, रुघाखोकीका बिरामीले भरिएको केआइसिंह गाउँपालिका वडा नम्बर ५ रानागाउँ स्वास्थ्यचौकीका अहेव रमेश जोशीले जानकारी दिए। उनले भने, “चिसोका कारण  बिरामी थपिने क्रम बढेको छ।”  जिल्ला आयुर्वेद अस्पताल दिपायलमा चिसो बढेसँगै बाथरोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ।  

अहिले दैनिक ४० देखि ५० को सङ्ख्यामा बाथरोगी उपचारका लागि आउने गरेको अस्पतालका वैद्य खड्क बमले दिए। चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन्। रासस
 

कमेन्ट लोड गर्नुस