सुदूरपश्चिमको वन मन्त्रालयका सूचना अधिकारी विरुद्ध उजुरी
धनगढी – सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सूचना माग गर्दै दिएको निवेदन दर्ता गर्न अस्वीकार गर्ने सूचना अधिकारी विरुद्ध उजुरी परेको छ। कैलालीको बाह्र वन साझेदारी वनका विषयमा सूचना माग गर्दै दिनेश खबरले दिएको निवेदन दर्ता नगरेपछि सूचना अधिकारी भरत प्रसाद श्रेष्ठ विरुद्ध उजुरी दिईएको हो।
दिनेश खबरले सूचना माग सम्बन्धी निवेदन दर्ता नगर्ने श्रेष्ठलाई आवश्यक कारवाहीको माग गर्दै सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ९ को उपदफा १ बमोजिम मन्त्रालयका सचिव डाक्टर दीपक खराल समक्ष उजुरी दिएको हो। उक्त दफामा सूचना उपलब्ध गराउन अटेरी गरेमा सूचना अधिकारी विरुद्ध कार्यालय प्रमुख समक्ष उजुरी दिने व्यवस्था अनुसार सचिव समक्ष दिनेश खबरले उजुरी दिएको हो।
श्रेष्ठले सार्वजनिक महत्वको सूचनाबाट वञ्चित गराएको भन्दै कानून अनुसार कारवाही र सूचना उपलब्ध गराउन माग गर्दै उजुरी दर्ता दिईएको हो। यसअघि दिनेश खबरले पुष १६ मा सूचना माग गर्दै निवेदन दिदा श्रेष्ठले भ्रमण वर्षका कारण उपलब्ध गराउन नसकिने र पछि आउन आग्रह गरेका थिए। तर आईतबार भने उनले सूचना उपलब्ध गराउन नसकिने बताउँदै निवेदन दर्ता गर्न मानेनन्।
दिनेश खबरले कैलालीको बाह्र वन साझेदारी वनमा भएको अनियमितता बारे मन्त्रालयले तयार गरेको छानविन प्रतिवेदन सम्बन्धीको सूचना माग गरेको थियो। मन्त्रालयले समितिले छानविन प्रतिवेदन बुझाएको लामो समय भईसक्दा समेत मन्त्रालयले सार्वजनिक नगरी गोप्य राखेको छ। मन्त्रालयकै उदासिनताकै ञकारण विगत नौ महिनादेखि बाह्र वन साझेदारीका सबै काम प्रभावित भएका छन्।