टीकापुरमा दिवा खाजाले टिकायो विद्यार्थी
टीकापुर: टीकापुर नगरपालिका– २ विजयनगरकी पूजा चौधरी विद्यालयमा खाजा समयमा खाजा खान प्रायः घर फर्किने गर्थिन्। हाफटाइममा घर गएपछि उनलाई फेरि विद्यालय फर्किन मन लाग्दैनथ्यो। यसले उनको पढाइमा बाधा पुग्ने गरेको थियो
आजभोलि भने पूजा पूरै कक्षा लिएर मात्रै घर जान्छिन्। विद्यालयमै उनको भोक मेटाउने व्यवस्था भएसंँगै हाफटाइममा घर फर्किने उनको तालिका बन्द भएको छ। अहिले सामुदायिक विद्यालयमा लागू भएको पौष्टिक आहार कार्यक्रमले उनलाई राहत दिएको छ।
“म बिहान सात बजे आमासंँगै ७ बजे खाना खान्छु। आमा ८ बजे काममा जानुहुन्छ। म पनि घरको सरसफाइलगायतका काम सकेर ९ बजे विद्यालय पुग्छु”, पूजा भन्छिन, “ मेरो घरको आर्थिक अवस्था कमजोर छ। आमाबुवा दैनिक मजदूरी गर्नुहुन्छ। आफैंँले दिउँसोको खाजाको व्यवस्था गर्ने स्थिति छैन। दिनभरि विद्यालयमा भोकै बस्न पनि सकिँदैन। त्यसैले विद्यालयमा हाफ छुट्टी भएपछि घर जान्थेँ।”
अहिले विद्यालयमै दिउँसोको खाजाको व्यवस्था हुन थालेपछि पूजा निकै खुशी भएकी छन्। विजयनगरकी पूजा मात्रै होइन, थुप्रै अरु विद्यार्थी पनि विद्यालयमै दिउँसोको खाजा पाएपछि पूरै कक्षा लिएर मात्रै घर फर्किने गरेका छन्। कक्षा ४ का दीपेश चौधरी भन्छन, “ आजभोलि विद्यालयमै दिउँसोको खाजा पाइन्छ। हामीले पूरै कक्षा पढ्न थालेका छाँैं। मेरो पढाइ पनि राम्रो भएको छ।” विद्यालयमा खाजाको व्यवस्था हुनुअघि दीपेश पनि भोक सहन नसकेर हाफटाइममा विद्यालयबाट भाग्थे। “अहिले हरेक दिन फरक फरक खाजा पाइन्छ”, उनी भन्छन।
टीकापुर नगरपालिका वडा नम्बर २ विजयनगरस्थित मुक्तकमैया आधारभूत विद्यालयमा विद्यालयमै दिउँसोको खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थितिमा उल्लेख्य वृद्धि आएको छ। खासगरी हाफटाइमपछि विद्यार्थी उपस्थितिमा निकै सुधार आएको छ।
‘‘यो विद्यालयमा प्रायजसो मुक्त कमैया तथा विपन्न समुदायका बालबालिका अध्ययन गर्दछन’’, विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले भने, “धेरैजसो बालबालिका बिहान सामान्य खाजा मात्र खाएर विद्यालय आउँछन्। हामीले विद्यालयमै दिउँसोको खाजाको व्यवस्था गरेपछि आजभोलि प्रायः सबै विद्यार्थी पूरै समय विद्यालयमा बस्ने गरेका छन्।”
सो विद्यालयमा हाल १८० विद्यार्थी अध्ययनरत छन्। विद्यालयले गत भदौदेखि विद्यार्थीका लागि दिउँसोको खाजाको व्यवस्था गरेको छ। सो विद्यालयका अनुसार विद्यार्थीलाई हरेक दिन फरक फरक दिउँसोको खाजा दिइन्छ। सो विद्यालयमा गत वर्ष १५२ विद्यार्थी अध्ययन गर्थे। गत भदौदेखि विद्यालयमा खाजाको व्यवस्था भएको थाहा पाएपछि २८ विद्यार्थी थपिए। प्रधानाध्यापक ढकालले भने, “ दिउँसो १ बजे खाजा दिइन्छ। यही लोभले पनि विद्यार्थी उपस्थितिमा सुधार आएको छ। खाजाले विद्यालयको शैक्षिक विकासमा सघाएको छ।”
टीकापुर २ वडा कार्यालयले बालबालिकालाई विद्यालयमा भोकै पढ्नुपर्ने अवस्थाको अन्त्य गर्न वार्षिक चार लाख बजेट उपलब्ध गराएको छ। वडा कार्यालयका अनुसार “विद्यालयमा बालबालिकालाई हरेक दिन फरक फरक खाजा खुवाउने शर्तमा सो रकम उपलब्ध गराइएको” छ। वडा नम्बर २ का वडाध्यक्ष प्रकाश बुढा भन्छन, “भोको पेट बालबालिका पढ्ने मन गर्दैनन्।
मुक्तकमैया बस्तीका प्रायःको आर्थिक अवस्था निकै कमजोर छ । सबै दैनिक मजदूरी गर्छन्। काममा जानु पर्ने भएकाले अभिभावकहरू बिहान खाना खाएर ८ बजे काममा जान्छन्। बालबालिकाले पनि अभिभावकसंँगै ८ बजेभित्र खाना (खाजा) खाइसक्नुपर्छ। बिहान ८ बजे खाना खाएका बालबालिका दिउँसो ४ बजेसम्म विद्यालयमा कसरी भोकै बस्छन्?” वडाध्यक्ष बुढाले विपन्न परिवारका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयका लागि आगामी वर्ष पनि खाजाको व्यवस्था गर्न बजेट प्रदान गरिने बताए।
टीकापुर ४, बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद चौधरी पनि खाजा कार्यक्रमले विद्यार्थीको सङ्ख्या बढेको बताउँछन। “गत वर्ष हाम्रो विद्यालयमा बाल विकास कक्षामा २० जना विद्यार्थी मात्रै थिए। विद्यालयमै खाजा दिन थालेपछि यस वर्ष सात जना विद्यार्थी थपिए”, प्रअ ठाकुरप्रसादले भने, “ ४ नम्बर वडा कार्यालयको सहयोगमा बाल विकास र एक कक्षाका गरी ४२ जना विद्यार्थीहरूलाई दिउँसोको खाजा खुवाउने व्यवस्था मिलाएका छौंँ। ”
प्रअ ठाकुरप्रसादका अनुसार विद्यालयमा दिउँसोको खाजाका लागि वडा कार्यालयले यस वर्ष ९४ हजार रुपैयाँ सहयोग गरेको छ। उनीहरूलाई कुनै दिन केरा, कुनै दिन हलुवा वा चना वा अण्डा खाजाका रुपमा दिने गरिएको छ।
टीकापुर नगरपालिकाले आफ्नै स्रोतबाट यी दुई विद्यालयमा खाजा कार्यक्रम शुरु गरेको हो। नगरपालिकामा रहेका अन्य चार सामुदायिक विद्यालयमा सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदानमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ। नगरपालिकामा रहेका ज्ञानोदय आधारभूत विद्यालय नुक्लीपुर, कर्णालेश्वर प्राथमिक विद्यालय, कालिका प्राथमिक विद्यालय चौगुर्दी र कर्णाली प्राथमिक विद्यालय तोलिगाउँमा २०६९ सालदेखि नै खाजा कार्यक्रम सञ्चालित छ।
कर्णालेश्वर प्राविका प्रधानाध्यापक शारदा तिमिल्सेनाले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा खाजा कार्यक्रम प्रभावकारी रहेको बताए। उनले विद्यालयमै खाजा दिँदा बालबालिकालाई कुपोषणको जोखिमबाट बचाउनाका साथै पढाइप्रति रुचि जगाउने अनुभव गरिएको बताए।
नगरपालिकाका शिक्षा शाखा अधिकृत नरेश अवस्थीले खाजा कार्यक्रम लागू भएका विद्यालयमा पूर्वप्राथमिक कक्षादेखि ५ कक्षासम्मका बालबालिकालाई खाजाको व्यवस्था गरिएको बताए। “आगामी माघ १ गतेदेखि टीकापुर नगरपालिकामा रहेका सबै ३४ वटै सामुदायिक विद्यालयमा खाजा कार्यक्रम शुरु गर्ने तयारी भएको छ’’, शिक्षा शाखा अधिकृत अवस्थीले भने, “सरकारले देशभरि नै विद्यालय खाजा कार्यक्रम सञ्चालन गर्न थालेको छ।”
अधिकृत अवस्थीले विद्यालय निरीक्षण तथा अनुगमनका क्रममा पनि खाजा कार्यक्रम सञ्चालन भएका विद्यालयमा विद्यार्थीको उपस्थिति दर राम्रो रहेको बताए। उनले भने, “प्रायः बाल विकास कक्षामा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएका बेला यो कार्यक्रमले विद्यार्थीको सङ्ख्या बढाउन सघाउनेछ।”
नगरपालिकासंँग जोडिएको जानकी गाउँपालिकाका आठ विद्यालयमा पनि खाजा कार्यक्रम लागू गरिएको छ। जानकी गाउँपालिकामा केन्द्रीय शिक्षा विभागको सहयोगमा खाजा कार्यक्रम लागू गरिएको जनाइएको छ। गाउँपालिका स्वयंको स्रोतबाट भने अहिलेसम्म कुनै पनि विद्यालयमा खाजा कार्यक्रम लागू भएको छैन।
स्थानीय तहका शिक्षा शाखा प्रमुखहरू ‘सङ्घीय सरकारको अनुदानमा सञ्चालित विद्यालय खाजा कार्यक्रमको नियमित अनुगमन गर्न कठिनाइ भइरहेको’ बताउँछन्। जानकी गाउंँपालिका, शिक्षा शाखा प्रमुख कलमबहादुर खड्का भन्छन, “अनुगमन, निरीक्षणमा गएको बेला विद्यार्थीलाई चना, हलुवा दिएको पाइन्छ। हरेक दिन अनुगमन गर्न सकिने कुरो भएन । विद्यार्थीहरूलाई जंक फुड नदिन निर्देशन दिएका छौंँ।”
टीकापुर नगरपालिकामा ३४ र जानकी गाउँपालिकामा ३३ सामुदायिक विद्यालय छन्। टीकापुरमा चार विद्यालयमा शिक्षा विभागको सहयोगमा र दुई विद्यालयमा आफ्नै स्रोतबाट दिउँसोको खाजाको व्यवस्था मिलाइएको छ। जानकी गाउँपालिकाका आठ विद्यालयमा केन्द्र सरकारको सहयोगमा खाजा कार्यक्रम लागू भएको छ। यी विद्यालयले प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजाका लागि रकम पाउने गरेका छन्।
टीकापुर नगरपालिकाका दुई विद्यालयमा नगरपालिका स्वयंको स्रोतमा चालू आर्थिक वर्ष २०७६/०७७ साउन महिनादेखि खाजा कार्यक्रम लागू गरिएको छ। शिक्षा तथा मानव संसाधन विकास केन्द्रबाट प्राप्त हुने रकम अपुग हु्ने भएकाले स्थानीय सरकारले पनि लगानी गर्नुपर्ने देखिन्छ। खाजा कार्यक्रम सधैंँ सञ्चालन गर्न केही चुनौती पनि देखिएका छन्।
खासगरी सरकारले अनुदान नदिएका बेला विद्यालय स्वयंले यो कार्यक्रमलाई निरन्तरता दिन निकै चुनौतीपूर्ण देखिन्छ । त्यस्तै खाजाको गुणस्तरीयता बनाइराख्न पनि चुनौती छ। जनप्रकाश आधारभूत विद्यालय बाघमाराका प्रअ ठाकुरप्रसाद दैनिक खाजाका लागि सामग्रीको जोहो गर्नेदेखि गुणस्तरीयता कायम राख्ने कार्य सजिलो नहुने बताउँछन।
प्रअ ठाकुरप्रसाद भन्छन, “‘घरबाटै खाजा बनाएर ल्याउने विद्यालयका अभिभावकहरुलाई खाजावापतको रकम दिने व्यवस्था राम्रो हुन्छ।” सरकारले पनि विद्यालय खाजा कार्यक्रमको रकम दुरुपयोग नहोस् र बालबालिकाले पोषिलो खानेकुरा खान पाऊन् भनेर घरबाटै खाजा ल्याउन प्रोत्साहन गरेको छ। शिक्षा मन्त्रालयले हरेक पालिकालाई घरमै बनाइएको खाजा खुवाउन अनुरोध गरेको छ।
घरबाटै दिउँसोको खाजा ल्याउने अभिभावक वा आमालाई प्रत्येक महिनाको अन्त्यमा दैनिक १५ का दरले खाजावापतको रकम भुक्तानी दिइने गरिएको छ। -रासस