प्राविधिक ज्ञानको कमीले पकेट क्षेत्रमै मह उत्पादन कमी
महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन्।
प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ। यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढङ्गले गिरावट आएको सिस्ने गाउँपालिका–३ पोखराका मौरीपालक किसान ओमप्रकाश खड्काले बताए। एक सय ६० भन्दा बढी घार मौरी पाल्नुभएका सिस्ने–३ पोखराका ओमप्रकाशले गत वर्ष एकपटकमा महबाट करिब रु पाँच लाख आम्दानी गरेका थिए। उनले भने, “पोहोरसाल मैलै २५० धार्नी मह बिक्री गरेँ र यसपटक मुस्किले १२५ धार्नी बिक्री गरेँ।
सिस्ने गाउँपालिका–३ का कृषक कमला खड्काले पनि यस वर्ष मह उत्पादनमा कमी आएको बताए। उनले गत वर्ष १३० धार्नी मह बिक्री गरेर दुई लाख ६० हजार आम्दानी गर्नुभएको थियो तर यस वर्षमा भने ६५ धार्नी मात्रै मह बिक्री गरेको जानकारी दिए।
यहाँको मह प्रतिधार्नी दुई हजार २ सयमा बिक्री गर्दै आएको छ। पछिल्लो समय माहुरीको चरण क्षेत्र मासिनु, जथाभावी विषादी प्रयोग, प्राविधिक ज्ञानको कमी र विभिन्न किसिमका रोगको संक्रमण लगायतका कारणले मह उत्पादनमा कमी आएको जनाइएको छ। यहाँको मह रुकुमपूर्व, रुकुम पश्चिमसहित दाङसम्म बिक्री हुने गर्दछ। सिस्ने गाउँपालिका–३ पोखरामा उत्पादन भएको महले बजारको माग धान्न सकिराखेको छैन्। बजारको चिन्ता नहुने तथा सजिलै बजार पाउँदा माहुरीपालक कृषक उत्साहित छन्। मह उत्पादनमा कमी आउँदा उनीहरु चिन्तित बनेका छन्।