सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कैलारी गाउँपालिका आधारभुत स्तरको स्वास्थ्य सेवा व्यवस्थापन गर्न असफल

२०७६ पुष १९, १२:५३ जनक विष्ट

सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ४५ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भनेको छ। तर कैलालीको कैलारी गाउँपालिकाले भने स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधी खरिद गर्न नसक्दा सरकारले तोके अनुसारका औषधी वितरण नभएको पाईएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र सहित छ स्वास्थ्य संस्थामा गाउँपालिकाले औषधीको आपूर्ती गर्न नसकेको हो। गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा ४५ देखि ५० किसिमका र स्वास्थ्य संस्थामा ३० देखि ३५ प्रकारका औषधी आपूर्ती गरिरहेको छ। जसले गर्दा स्वास्थ्य संस्थाहरुले अहिले पनि औषधीको आपूर्तीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य नभएको जनाएका छन्।

कैलारी गाउँपालिकाको हसुलिया स्वास्थ्य चौकी प्रमुख कुसुम शर्मा भट्टले अनिवार्य गरिएका सबै औषधी उपलब्ध नभएको बताईन्। उनले गाउँपालिकाले आपूर्ती गरिरहेपनि अपुग भएका औषधी जिल्ला जनस्वास्थ्य कार्यालयबाट पूर्ती गरिरहेको जानकारी दिईन्।

गाउँपालिकाले नागरिकलाई आधारभुत स्तरको स्वास्थ्य सेवा दिन नसक्नुको अर्को कारणका रुपमा जनशक्ति व्यवस्थापन नहुनुलाई पनि लिईएको छ। पालिकाले भएकै स्वास्थ्य संस्थालाई व्यवस्थित गरी प्रभावकारी सेवा प्रवाह गर्न ध्यान नदिदा समस्या भएको देखिएको छ।

यसअघि कार्यरत आठौँ तहका डाक्टर बैशाखमा गएपछि उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्र स्टाफ नर्सको भरमा छ। डाक्टरको सरुवा भएपछि अहिले यसअघि सञ्चालनमा रहेका एक्सरे, भिडियो एक्सरे, ईसिजी लगायतका उपकरण बन्द भएर खिया लाग्ने अवस्थामा पुगिसकेका छन्।

उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख एव्म स्टा नर्स रुपा बिकले डाक्टरको अभावमा उपकरण थन्काएर राख्नुपरेको बताईन्। उनले गर्भवती महिला र गम्भीर प्रुकृतिका विरामीले पनि एक्सरे र भिडियो एक्सरेका लागि धनगढी धाउँउनुपर्ने बाध्यता रहेको बताईन्।

गाउँपालिकाले भने स्वास्थ्य संस्थामा औषधीको आपूर्ती गर्न खरिद प्रक्रिया अगाडी बढाईएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले स्वास्थ्य संस्थाहरुमा कुनै किसिमको समस्या नरहेको दावी गरे। उनले औषधी आपूर्तीका लागि टेण्डर प्रक्रिया अगाडी बढाईएको जनाए।

अन्य स्वास्थ्य चौकीहरुमा जनशक्ति व्यवस्थापन भएपनि उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको सेवा सुविधा व्यवस्थापन गर्न नसक्दा समस्या भएपनि चाडै पूर्ती गरिने अध्यक्ष चौधरीको दावी थियो।

स्थानीय पालिकाहरुलाई १५ शैया सम्मका अस्पताल सञ्चालन गर्ने अधिकार भएपनि कैलारी गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीकै व्यवस्थापनमा असफल देखिएको हो।

गाउँपालिकाको फितलो व्यवस्थापनकै कारण भएकै संरचना एवंम उपकरणको सदुपयोग नहुँदा नागरिक समान्य सेवाका लागि पनि धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता कायमै छ।  

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस