सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका उखु किसानले सरकारबाटै ७ करोड ८१ लाख पाउन बाँकी

२०७६ पुष १९, ०७:१८ नवराज पनेरु

उद्योगहरुलाई उधारोमा उखु बेच्नु परेको भन्दै देशभरका किसान आन्दोलित भएका बेला कञ्चनपुरका उखु किसानलाई सरकारले नै झण्डै ८ करोड रकम दिन बाँकी रहेको छ। सरकारले उखु किसानहरुलाई सरकारले अनुदानको ७ करोड ८१ लाख रकम एक बर्ष सम्म पनि चुक्ता नगरेको हो।

सरकारले गत बर्ष उखु विक्री गरेका कञ्चनपुरका किसानहरुलाई अनुदान वाफत अहिले सम्म १६ करोड रकम दिएपनि बजेट अभाव भएको भन्दै ७ करोड ८१ लाख भने अझै किसानहरुले पाउन सकेका छैनन्। 

‘कञ्चनपुरको भागेश्वर र महाकाली चिनी मिललाई गत बर्ष मात्रै ३६ लाख ४४ हजार क्वीन्टल उखु विक्री गरेका थियौँ,’ उखु उत्पादक किसान हकहित संरक्षण समिति बेलारीका उपाध्यक्ष अर्जुन वहादुर सिंहले भने, ‘सरकारबाट २३ करोड ८१ लाख अनुदान रकम पाउनुपर्नेमा अहिले सम्म १६ करोड मात्रै पाएका छौ।’

चिनी मिलहरुबाट एक अर्व ७२ करोड रकम पाउनुपर्नेमा सरकारले निर्धारण गरे भन्दा निकै सस्तोमा उखु विक्री गर्नुपर्ने बाध्यताले त्यस्मा पनि करोडौ घाटा लागेको उनले बताए। कञ्चनपुरका उखु किसानहरुले निकै सस्तोमा उखु बिक्री गर्नुपर्ने बाध्यताका कारण चिनी मिलबाट पनि डेढ अर्व मात्रै रकम पाएका थिए। 

‘देशभरी चिनी मिलहरुबाट बर्षाैदेखिको बक्यौता रकम नपाएको भन्दै किसानहरु आन्दोलनमा रहेका छन्,’ कञ्चनपुरको बेलौरीका किसान रामकिसन रानाले भने, ‘हाम्रो जिल्लामा भने चिनी मिलसंगै किसानहरु सरकारबाट समेत ठगिएका छन्।’ 

गत बर्षको अनुदान रकम अहिले सम्म नपाएपनि यो बर्ष चिनी मिलहरुलाई उधारोमा उखु विक्री गरिरहेको गुनासो उनको छ। ‘नगदे बालीको रुपमा रहेको उखुको सरकारले निर्धारण गरेको मूल्य पनि पाएका छैनौ। सरकारले यस बर्ष पनि अनुदान बाहेक ४ सय ७१ रुपैँयामा प्रतिक्वीन्टल खरिद गर्न चिनी मिलहरुलाई निर्देशन दिएको छ तर ३० देखि एक सय रुपैँया घटिमा उखु विक्री गरिरहेका छौ।’ उनले भने। 

तर विगतमा उधारोमा खरिद गरेपनि २० गतेदेखि भुक्तानी दिन सुरु हुने महाकाली चिनी मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले बताए। भुक्तानीका लागि सूचना समेत प्रकाशित गरिसकेको दावी उनको छ। यता किसानहरुले भने सरकारले नै दिनुपर्ने रकम उखु किसानहरुलाई नदिएपछि चिनी मिलहरुलाई पनि सरकारी मूल्य विपरित सस्तोमा उखु खरिद गर्न प्रोत्साहन मिलिरहेको गुनासो गरेका छन्। 

कटानी आदेशमा बिचौलीयाको विगविगी
उचित मूल्य र सरकारबाट अनुदान रकम नपाउँदा हैरान भएका कञ्चनपुरका उखु किसानलाई कटान अनुमती पाउँन पनि मुस्किल हुन थालेको छ। कटान अनुमती पाएका किसानहरु पनि सस्तोमा उखु विक्री गर्न बाध्य छन् भने धेरै किसानहरु अनुमती नै नपाएर समस्यामा परेका छन्।

चिनि मिलहरुले भने बिचौलीया मार्फत भारतीय उखु आयात गरीरहेको किसानहरुको आरोप छ। भारत बाट उखु आयात भईरहदा आफुहरुले कटान अनुमति पत्र समेत नपाएको कलकत्ताका मिश्रीलाल रानाले बताए। बिचौलीयाहरुले अनुमती पत्र भारतीय किसानलाई उपलब्ध गराईरहेको उनले आरोप लगाए।

उखु किसान नारायण रानाले अनुमति नपाउँदा उखु काट्नमा ढिलाई भएको बताए। उनले उखु काटेर गहुँ लगाउने तयारी गरीएको तर उखु नै बिक्रि नहुँदा यस वर्ष गहु खेति गर्न नपाईने भन्दै चिन्ता व्यक्त गरे। उखु किसानले कटान अनुमती नपाएपछि बिचौलीयाले भने ३०÷४० वटा अनुमती पत्र पाउने गरेका छन्। विगतमा कञ्चनपुरका अधिकासं उखु किसानहरुले मंसिर सम्म उखु कटान गरिसकेपछि सोही खेतमा गहुँ खेती गर्दै आएका थिए। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस