डाक्टर नहुँदा बाजुरा जिप दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम भएन, शव कुर्दै आफन्त
बाजुराको हिमाली गाउँपालिको भीरबाट कर्णाली नदीमा जीप खस्दा ज्यान गुमाएका ४ जनाको पोष्टमार्टममा ढिलाई भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नहुँदा अहिले सम्म पोष्टमार्टम समेत हुन नसकेको हो। हिमपातका कारण जिल्ला अस्पताल मार्तडीबाट डाक्टर जान नसक्दा झनै समस्या भएको छ।
बिहीबार साँझ नै मृतकको शव कोल्टी पुर्याइएका भएपनि अझै पोष्टमाटर्मका लागि प्रक्रिया अघि नबढेको स्थानीय अगुवा जनक बिष्टले बताए। मृतकका आफन्तहरु कोल्टी पुगे पनि शव कुर्दी बसिरहेका छन्। कालिकोटबाट डाक्टर बोलाएर पोष्टमार्टम गर्नुको विकल्प नरहेको र त्यसका लागि स्थानीय प्रशासनले पहल गर्नुपर्ने माग पीडित पक्षको छ।
बिहीबार दिउँसो कर्णाली करिडोर अन्र्तगत हिमाली गाउँपालिका ७ बाँधुस्थित कालापडा भीरमा से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको थियो। जीप मालिक समेत रहेका जगन्नाथ गाउँपालिका ५ गोत्रीका २७ वर्षका रमेश शाही, हिमाली गाउँपालिका ६ धुलाचौर बस्ने ३५ वर्षका पवन भण्डारी, कैलाली महोन्याल गाउँपालिका ५ बस्ने ३३ वर्षका दिनेशकुमार घर्तीमगर र मुगुको कर्मारोड गाउँपालिका ८ बस्ने ३८ वर्षका प्रेमा लामाको मृत्यु भएको थियो।
चार जना घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। १३ वर्षकी बालिका शुशिला विक अझै बेपत्ता छिन्। लगातारको बर्षाका कारण प्रहरीलाई नदीमा गएर खोजी गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ।