सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रदेश सरकारले कार्यान्वयन गरेको सडक ग्रावेलमा आर्थिक चलखेल

२०७६ पुष १५, ०८:२६ कमल सावद

धनगढी: सुदूरपश्चिम सरकारले कार्यान्वयन गरेका सडक ग्रावेलका योजनामा अनियमितता भएको आरोप लागेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय धनगढीले ग्रावेलका योजनामा न्यून काम भएपनि बढि भुक्तानी दिएर अनियमितता गरेको आरोप लागेको हो। 

गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयले धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा बी गाउँमा सडक ग्राभेल गर्दा समेत अनियमितता भएको आरोप लागेको छ। 

ग्रावेल गरिएको सडक पहिले ग्राभेलभन्दा कम चौडाई तथा न्यूनस्तरीय रहेकाले अनियमितता भएको आरोप स्थानीयको छ। उपभोक्ता समितिमार्फत कार्यान्वयन भएको सडक ग्राभेलको योजना निर्माण कम्पनीलाई ठेक्कामा दिइएको थियो। 

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय धनगढीले २९ लाख ९१ हजारमा डेढ किलोमिटर सडक ग्राभेलका लागि उपभोक्ता समितिसंग सम्झौता गरेको थियो। गत आर्थिक वर्ष २०७५/०७६ को बैशाख ५ गते धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा बी गाउँको पिपल चौतारा टोल–डाँडा गाउँ सडक ग्राभेलका लागि  निर्माण सम्झौता भएको थियो। 

काम सम्पन्न भएको भन्दै २३ लाख भुक्तानी दिईएको छ। तर इस्टिमेटअनुसार काम नभए पनि भुक्तानी दिएको आरोप स्थानीयको छ। उपभोक्ता समितिका सदस्य प्रेम नेपालीले देखावटी मात्र उपभोक्ता समिति गठन गरिएको बताए। 

डेढ किलोमटिर लम्वाई र ६ मिटर चौडाईमा ग्राभेल गर्ने गरी सम्झौता भएकोमा साढे ५ मिनट मात्रै चौडाई ग्राभेल गरिएको छ। १३ सय ८६ घनमीटर ग्रावेलका लागि सम्झौता गरिएकोमा एक हजार ६६ घनमीटर मात्रै ग्रावेल हालिएको छ। काम पूरा नभएको भन्दै झण्डै ६ लाख कम भुक्तानी दिईएको छ। तर २३ लाख अनुसार काम नभएको दावी स्थानीयको छ।

उपभोक्ता समितिका सदस्य प्रेम नेपालीले भने, ‘पहिले पनि दुई पटक यो सडक ग्राभेल गरिएको थियो। गत आर्थिक वर्षमा ठुलो रकम सडक ग्राभेलका लागि विनियोजन भयो। हामीले नालि सहितको चौडा सडक निर्माण गर्न आग्रह गरेका थियौ तर भएन्। उनीहरुले रातारात काम गरेर गए। स्थानीयको कुनै सुनुवाई भएन्।’ ‘त्यो रकमले नालि सहितको सडक ग्राभेल गरिएपनि रकम बढी हुनेथियो तर रकम भ्रष्टाचार भयो’ उनले थपे। 

पूर्वाधार कार्यालयले एक मिटर सडक ग्राभेलमा झण्डै २ हजार खर्च गरेको छ। न्यून काम भएपनि बढि रकम भुक्तानी दिएर अनियमितता गरेको आरोप स्थानीयको छ। काम गरेर रकम सक्नकै लागि तीन दिन राती सडक ग्राभेल गरिएको उनीहरुले बताएका छन्।  

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश भण्डारीले निर्माण कम्पनीबाट काम भएको बताए। ईन्जिनियरको इस्टिमेटका आधारमा काम भएको उनले बताए। निर्माण कम्पनीले १७ लाख भुक्तानी भएको बताएको थियो। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालयका प्रमुख श्याम खड्का बिदामा छन्। अन्य ईन्जिनियरहरुले यो विषयमा बोल्न मानेनन्। 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस