भ्रमण वर्षः गन्तव्य कैलालीको परशुराम कुण्ड
कैलाली: कैलालीको टीकापुर नगरपालिका–७ मा रहेको परशुराम कुण्ड संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने भए पनि पर्शुराम कुण्डको प्रचारप्रसार र संरक्षण हुन सकेको छैन। केही वर्ष पहिले कर्णाली नदीको केही भाग त्यही परशुराम कुण्ड हुँदै बग्ने गथ्र्यो। अहिले राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदीमा तटबन्ध गरेपछि कर्णालीको पानी त्यहाँबाट बग्न छाडेको छ। नदीको पानी आउन छाडे पनि कुण्डको जमीनमुनिबाट पानी आउने भएका कारण बाहै्र महिना कुण्डमा पानी रहन्छ।
करीब एक किलोमिटरको लम्बाइमा फैलिएको तालसँग सत्ती कर्णाली सामुदायिक वन क्षेत्र जोडिएकाले पनि कुण्डको महत्व अझै बढेको स्थानीयवासी बताउँछन्। हुलाकी राजमार्गअन्तर्गत बर्दिया हुँदै धनगढी आवतजावतमा समेत सहज भएका कारण नेपालगञ्जदेखि आउने भएका कारण पनि राजमार्गसँगै जोडिएकाले कुण्डको भविष्य रहेको स्थानीयवासी जितु चौधरीले बताए।
बर्दियाको राजापुर नगरपालिका हुँदै टीकापुर नगरपालिकासँग जोड्ने एक मात्र पुलसमेत त्यही हुलाकी राजमार्गमा पर्छ। राजमार्गबाट ओहोरदोहोर गर्ने मानिसको नजर कुण्डमा परिनैहाल्छ । सामुदायिक वनको छेउमा र हुलाकी राजमार्गसँग जोडिएकाले पनि यसको प्रचारप्रसार र संरक्षण हुन सके राम्रो पर्यटकीय गन्तव्य हुने टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डङ्गौरा थारूले बताए।
“प्रचारप्रसार र संरक्षण हुन सके तालको भविष्य छ। नगरपालिकाबाट अहिलेसम्म कुनै योजना तयार हुन सकेको छैन”, वडाध्यक्ष थारूले भने “अघिल्लो आर्थिक वर्षमा तालको सरसफाइका लागि वडाबाट ५० हजार बजेट विनियोजन गरेका थियौँ। अब तालको डिपीआरका लागि नगरपालिकाले १५ लाख विनियोजन गरेको छ । काम अगाडि बढ्छ।”
परशुराम कुण्डसँंगै बिपी कुञ्ज पनि रहेको छ । अहिले कुञ्जमा आन्तरिक पर्यटक वनभोजका जाने गरेका छन्। वनभोज खाँदै रमाइलो गर्ने र घुम्ने ठाउँ भने छैन। वनभोज खान गएका पर्यटक वनभोज खाने र त्यतै रमाइलो गरी फर्कने गरेका छन्।
यदि परशुराम कुण्डका नाममा रहेको तालको संरक्षण र डुङ्गाको व्यवस्थापन हुन सकेको अवस्थामा नगरपालिकाको आम्दानीको स्रोत बन्न सक्ने वनभोज खान आएका पर्यटक बताउँछन्। वडाध्यक्ष थारूले कुञ्जको स्तरोन्नति गरी अझै त्यसको क्षेत्रफल बढाएर फराकिलो बनाइने बताए। उनले कुण्डसँगसँगै कुञ्ज र कर्णालीमा जलयात्राको आनन्दसमेत घुम्न आउने पर्यटकले लिनसक्ने गरी योजना तयार भइरहेको बातए।
“कुण्डको संरक्षण गरी डुङ्गा सञ्चालन गर्न सके नगरपालिकाको आम्दानीको स्रोत बन्न सक्छ”, वडाध्यक्ष थारूले भने। “कुण्डसँगै पदमप्रकाशेश्वर मन्दिर, डल्फिन क्षेत्रसमेत छोटो दूरीमा रहेकाले पर्यटकले अवलोकनबाट भरपुर आनन्द लिन सक्नेछन्।”
पर्यटकले बेतबाँस पाइने सत्ती कर्णाली सामुदायिक वनको अवलोकन गर्न पाउनाका साथै नजीकै रहेको कर्णालीमा रमाउन सक्ने सामुदायिक वनका अध्यक्ष धनसिंह साउद बताउछन्। उनले कुण्डको संरक्षण र प्रचारप्रसार नगरपालिकाले गर्न सकेका अवस्थामा त्यसबाट सामुदायिक वनलाई समेत टेवा पुग्ने बताउँदै बेतबाट तयार पारिएका सामग्री पर्यटकका लागि अझै महत्वपूर्ण हुने जिकिर गरे।
कुण्डको प्रचारप्रसार भई पर्यटकको आगमन हुन थालेका अवस्थामा सामुदायिक वनमा जङ्गल सफारीको पनि व्यवस्थापन गर्न सकिन्छ’ साउदले भने “स्थानीय सरकारले चासो दियो भने पक्कै पनि टीकापुर क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ।”
कुण्डबाट करिब ५०० मिटरको दूरीमा नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग भएको पदमप्रकाशेश्वर मन्दिर छ। तालको अवलोकनमा आउने पर्यटकलाई लक्ष्य गरी हुलाकी राजमार्गका छेउछाउमा होटल तथा रेस्टुरेन्ट पनि सञ्चालनमा आएका छन्। -रासस