शुक्लाफाँटामा अस्ताइन् ‘रतनकली’
विसं २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ बिहीबार राति मरेको छ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए।
“हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए।” प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, “चर्दाचर्दै हात्ती बस्यो, हात्तीसार ल्याउन नसकेपछि कर्मचारीले राति पहरा दिँदै गर्दा म¥यो।” रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो।
“बिरामी नभए पनि बूढेसकाल लागेकै कारण मरेको हो”, उनले भने, “विधिप्रक्रिया अनुसार शुक्रबार अन्त्यष्टि गरियो।” हात्तीको औसत आयु ७० देखि ८० वर्ष हुने गर्छ।
रतनकलीको अन्यष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ। प्रमुख संरक्षण अधिकृत ढकालले निकुञ्जको गस्ती, पर्यावरणका लागि अझै पाँच वटा हात्ती आवश्यक रहेको बताए। रासस