सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा छोरीलाई गोठेमल बोकाउने परम्परा : कतै पाप, कतै पुण्य !

२०७६ पुष ११, ०३:२१ डीवि विष्ट

बझाङको तल्कोट गाँउपालिका–१ की पानसरादेवी धामीकोे आँगनमा भएको पोस्रो (गोठे मल) उनका छोरा र उनी एक्लै बोक्छन्। मल बढी भएको समयमा उनी गाउँ तथा छिमेकी पुरुष र विवाहित महिलाहरुको सहयोग मागेर पोस्रो (गोठे मल) खेतबारीसम्म पुर्याउँछन्। उनको घरमा छोरा भन्दा जेठी २ वटी छोरी छन्। तर पानसरा छोरीलाई पोस्रो(गोठे मल) बोकाउँदैनन। किनभने छोरीलाई पोस्रो (गोठेमल) बोउँदा पाप लाग्छ र मर्दा स्वर्गमा जान मिल्दैन भन्ने डर उनलाई छ।

पानसरा धामी मात्रै नभइ गाउँका अन्य छरछिमेकीहरु पनि छोरी मान्छेलाई पोस्रो मल  बोकाउँदैनन्। यहाँका सबै स्थानीयलाई छोरी मान्छेलाई मल बोकाउँदा पाप लाग्छ भन्ने डर छ। जसका कारण यहाँ विवाहित महिला तथा बुहारी र छोराहरुले मात्रै पोस्रो (गोठेमल) बोक्ने परम्परा छ।  धामी थरका केही परिवारको बसोबास बुंगल नगरपालिकाको बमौरमा पनि छ। थर एउटै भए पनि उनीहरुको परम्परा भने निकै फरक छ। बुंगल नगरपालिकाको बमौरकी हर्का धामी र उनकी १५ वर्षीया छोरी विमला भने सँगै पोस्रो (गोठेमल) बोक्छन्।

काम गर्न नजानेका कुरा सिकाउँदा र आमा बुबालाई घरको काममा सहयोग गर्दा पाप नभइ पुण्य हुन्छ भन्ने विश्वास उनको छ।
हर्का मात्र नभइ गाँउका सबै स्थानीयहरु छोरीलाई मल बोकाउँदा पुण्य हुने बताउँछन्। छोरीहरुले समेत गोठ मल खेतबारीसम्म पु¥याउने परम्परा परापूर्वकालदेखि चल्दै आएको र अहिलेसम्म कसैलाई पाप नलागेको स्थानीय हिमकला धामीको भनाइ छ। यता बझाङको जयपृथ्वी नगरपालिका, थलारा, तल्कोट, सुर्मा, मष्टा, खप्तडछान्ना र साईपाल गाँउपालिकामा अविवाहित छोरीहरुलाई गोठेमल बोकाउँदा पाप लाग्छ भन्ने जनविश्वास छ। 

यहाँका स्थानीय बासिन्दाले अविवाहित छोरीहरुलाई अन्य काम गराए पनि गोठे मल भने बोकाउँदैनन्। तर जिल्लाकै बिथ्थडचिर छबिसपाथिभेरा, केदार स्युँ गाउँपालिका र बुंगल नगरपालिकाका केही समुदायका व्यक्तिहरुमा अविवाहित छोरीलाई गोठेमल (पोस्रो) बोकाउँदा पाप नभई पुण्य हुन्छ भन्ने जनविश्वास छ। यहाँका स्थानीयले अविवाहित र विवाहित छोरीलाई गोठे मल बोकाउने गरेका छन्।

छबिस पाथिभेरा गाउँपालिकाको शैनपसेला, बुंगल नगरपालिकाको बमौर लगायत दर्जनभन्दा बढी ठाउँहरुमा छोरीलाई मल बोकाउने काम पुर्खादेखि नै चल्दै आएको स्थानीयको भनाइ छ। जिल्लाका धेरै जस्तो ग्रामीण भेगमा बुहारीले मात्रै गोठे मल बोक्ने परम्परा रहेपनि यहाँ भने अविवाहित छोरीले नै मल बोक्ने गरेको स्थानीय पट्की धामीले बताए। ‘छोरीलाई पोस्रो बोकाउने संस्कृति पहिलेदेखि नै चल्दै आएको हो। काम गर्दैमा कोही सानोठूलो हुँदैन’, उनले भने, ‘पाप लाग्ने वा पुण्य कमाउने भन्ने कुरा अन्धविश्वास मात्रै हो।’ 

जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर खड्काले छोरीलाई मल बोकाउने वा नबोकाउने भन्ने कुरा आ–आफ्नो परम्पराअनुसार निर्भर रहने बताए। छोरीलाई गोठेमल बोकाउने वा नबोकाउने भन्ने कुरा कुनै पनि विधान, नीति वा शास्त्रमा नलेखेको बरु परापूर्वकालदेखि चल्दै आएको रुढीवादी परम्परा मात्र रहेको उनको भनाइ छ।
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस