भुवो खेलको पौराणिक गाथा र चिनारी
किशोर खड्का
सुदूरपश्चिम प्रसिद्ध र पौराणिक कला संस्कृतिले भरिपूर्ण प्रदेश हो। कतिपय संस्कृतिहरु जिल्ला पिच्छे फरक छन भने केहि संस्कृति सुदूरपश्चिमका ९ वटै जिल्लामा सामुहिक रुपले मनाइन्छन्। त्यति मात्र नभएर कर्णाली प्रदेशका जुम्ला, दैलेख, सल्यानसम्म पनि केहि संस्कृति र परम्परा साँझा छन्।
ती मध्येको एक हो भूवो (भर्सो) जो सुदूरपश्चिमका जिल्लाहरुमा मात्र नभई जुम्ला, दैलेख, सल्यान सम्मपनि मनाउने गरेको पाईन्छ। सुदूरपश्चिमको एक मुख्य प्राचिन संस्कृति भएकाले यसको महत्व आत्मसात गर्दै प्रदेश सरकारले आजको दिनलाई लिएर सार्वजनिक विदा पनि घोषणा गरेको छ। भूवा खेलको आम मान्यता एउटै र साझा भएपनि खेल्ने तरिका र पोशाक भने जिल्ला र समुदाय अनुसार केहि भिन्नता पाईन्छ। त्यहि भुुवोको महत्व र खेल्ने शैलि बझांगबासिको बुझाई र अनुभवमा यस्तो छ।
भूवो चाड महाभारत युद्धमा पाण्डवका सैनिकहरुले कौरवसगँ धर्म युद्ध लडनु अघि गरिएको युद्ध अभ्यास सगँ जस्ताको तस्तै उतारिएको प्रतिबिम्ब हो। आफनै लय र भाकामा पञ्चै बाजाका साथमा नाचिने हतियारधारी समुहको ठूलो सामुिहक खेललाई नै भूवो र स्थानीय भाषामा भस्सो भनिन्छ।
भस्सोको सुुरुवात पौष कृष्णपक्ष चतुर्दशीको बिहानै राँको सल्काउदै गाउँदै बस्तिबाट करिव डेढ किलोमिटर जती टाढा लगेर फालिन्छ र त्यहिबाट फेरी गाउँदै लावा लस्करका साथ भुवाखडोमा पुगिन्छ।
भुवाखडोमा आगो हुन्छ, आगो तापेर नुवाई–धुवाई सरसफाई गरेर घरमा मिठो–मसिनो खाना बनेको हुन्छ। खाना खाएर अनि आफना हतियारहरु ढाल तरवारलाई चम्किलो बनाउने काम गरिन्छ। ढाल कालोले पोतिन्छ भने तरवारलाई धारिलो र चम्कीलो बनाइन्छ।
चम्किला तरवारहरु भर्सोको चाली भन्ने कवाज खेल्दा घाममा टलक्क टलक्क चम्किन्छन्। औंसीको भोलीपल्ट पनि लुगा कपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ। अनि द्धितिया तिथीको दिनमा ठूलै चाड मान्दछन्। छरछिमेकहरुले मिलेर आ–आफनो घरमा मीठामीठा परिकारहरु पकाईन्छन र छरछिमेकमा बाँडेर खाईन्छ।
दिउँसो १२ बजेतिरबाट सबै भुवाखडोमा गएपछि भुवाको रौनक शुरु हुन्छ। बाजागाजाका साथ दमाहाले पनि अनेक धुन बजाउँछन, बाजा–गाजा, लस्कर हुदै औंशी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजागाजा भूवाको लयतालमा चम्कन शुरु हुन्छ।
यो खेल अति नै रमाईलो र अचम्म लाग्दो खेल हो। जति रमाईलो छ त्यति नै यो खेल फरकफरक किसिमको छ। यसका विभिन्न लय भाका छन। प्रत्येक दिनमा यो खेल फरक–फरक ताल र लयमा खेलिन्छ। चाली नै १४ किसिमका छन, बगाली ९ किसिमका छन। प्रत्येकले दाँया हातमा तरवार र बायाँ हातमा ढाल समातेर दौरा, लबेदा र सुरुवाल, इस्कोट, कालोटोपी, निधारमा ठूलो टिका लगाएर खेलेको देख्दा जो सुकैका आखाँ पनि लोभिन्छन।
नयाँ हेर्ने मानिस त यो अति नै जोखिम खेल रहेछ भनेर चाली र बगाली खेलको दृष्य हेर्दा आखाँ नै चिम्लिन्छन। साच्चिकै लडाई हो कि कसले कसलाई हान्ने भन्ने नै थाहा हुँदैन। तरवार र ढाल फनफनी घुम्दछन। भस्सो चाड लामो समयसम्म खेलीने चाड हो। यो चाड पौष शुक्लपक्ष द्धित्तिया देखी चतुर्दशी सम्म खेलिन्छ। भखाडामा १÷२ दिन खेलीसकेपछि गाउँगाउँका मुख्य मानिस, नायक, गाउँमा विभिन्न जाति भए प्रत्येक जातिको जेठो पट्टिको हाँगाको घरमा, त्यसै जिम्मावाल मुखिया, कर्मचारी, शिक्षक र अन्य मान्यजनको घरमा गई भूवो खेल्दछन्।
त्यसै प्रकारले यो वर्ष तिर्थ गरेर फर्केका मानिसको घरमा, त्यो वर्ष जसको घरमा छोरा जन्मेको छ, त्यसको घरमा गएर भर्सो खेल्छन। जसको घरमा भुवो खेलिन्छ, त्यस घरको मूलिले चिउणा, फलफुल र पैसाहरु दिएर आर्शिवाद दिने चलन छ। लगभग १४ दिनसम्म खेलिसकेपछि विधिवत रुपमा यो चाडलाई त्यस वर्षका लागि समापन गरिन्छ। सुदूरपश्चिमकै एक पौराणिक गाथासँग जोडिएको प्राचिन संस्कृति हिजो आज आएर संरक्षण र सामाजिक विसंगतिका कारण लोप हुने सम्भावना धेरै छ।
भारि खेल
यो चाडमा विना हतियार पनि नाचिन्छ गाईन्छ। यसमा ‘टेउला, मेउला” खेलिन्छ जसमा राग र सुरका कुरा हुन्छन। जस्तै “लामा गणा सिधा धणा, धारु भाले, गैरी गाउँकी रम्भा चेली जैसी कठै” भनेर खेलिने खेलमा माया प्रेमको राग र सुर हुन्छ। जैसुनमा खेलीने खेलामा इतिहासका कुराहरु हुन्छन्। जस्तै “बार वर्ष सिंगारु यै गोरो मुहरा, लफुलुफ्या सिंगारुय, झुपझुप्या केश, जैले जन्मे सिगांरुय उलै परदेश” भनेर गाईने जैसुन खेलमा खड्का जातीको इतिहास लुकेको पाईन्छ भने भर्सोको समयमा खेलिने खेलमा ठाउँको वर्णन तथा बिर जातिको वर्णन पनि पाइन्छ।
जस्तै “नेपालका उना कुना, वास्या तितरी, नैपाल नझान्या चेलो गर्बै तिबरी नैपालको गोरखा फौज क्या रनु रन्छ, क्या खानु खान्छ। नैपालको गोरखा फौज क्या धानु गर्छ ? गोरखा फौजसगँ कति फौज छ ? क्या हतियार छन ? गोरखा फौजका अघिमान्या (सेनापती) को छन ? फौजका कति घोडचढि छन ? थापाकाजि, अघिमान्या, घोडचढी” गरि यस्तै फौजको वर्णन छ।
मानिसलाई के गर्नुपर्छ के गर्नुहँुदैन भन्ने कुरा, अर्ति जुक्तिका कुरा पनि यसै भर्सोको आधारमा अबुझ जनलाई चेतना फैलाउने काम हुन्छ। जस्तै “बासी पानी नखानु, सन्यूतो (आलो) दाउरा नबाल्नु”। त्यसैे भर्सो भनेको बहुभाषीक, बहुसांस्कृतिक, बहुआयामिक चाड हा । यसमा अध्यात्मिक कुरादेखि वैज्ञानिक कुराहरु पनि समेटिएका छन्।
ज्यूनापुरी धारु भले
भूवो खेलमा विरता, करुणा आदि बढी देखिन्छ भने चाली बगाली युद्ध अभ्यासको रुपमा लिईन्छ। ज्यूनापुरी धारु भलेमा केटा र केटीको प्रेमको प्रसंग आउँछ। यो लामो स्वर मिलाएर खेल्छन्। यो खेलमा पनि वृत्ताकार रुपमा खडा हुन्छन्। एउटाले अर्काको पाखुरामा समातेर सबैको हात सिधा पार्छन अर्थात आफ्नो दुवैतीरको मानिसको पाखुरामा सोझो पारेर समात्छन। यसमा बाजा बजाउनु पर्दैन।
यसमा केटाको नाम साई राजा हुन्छ, केटीको नाम रम्भा चेली। केटा भंैसी गोठालो, केटी गाईकि ग्वाली। केटाले भैंसि फुकाएर काला पाल्त (जंगल) मा लिन्छ। केटी गोरु लिएर गैरी तोली जान्छ। केटा अग्लो ढुंगामा बसेर बाँसुरी र केटीले बिनायो बजाउँछन। बाँसुरीको बोलीले केटीलाई तँलाई लिन्छु भन्छन, केटीले बिनायो बजाई तिमीसँग जान्छु भन्छिन्।
सबै ग्वाला मिलेर आधा जन्ती, आधा बरियाती हुने सल्लाह गर्छन र जन्तीलाई ज्योतिषको घरमा दुवैको विवाहको लागी दिन जुराउन पठाउँछन्। बाटोमा पतारो, दौराला आदिलाई सोध्दै ज्योतिषको घरमा पुग्छन, र दुवैजनाको विवाहको लागि साईत जुराउन अनुरोध गर्छन। ज्योतिषलाई एक मानो चामल, दहिको ठेकी निकाल्छन्, ज्योतिषले धुलौटो (ज्योतिषले माटोको धुलो फिजारी काठको छेस्काले लेख्ने र मेट्ने काठको तख्ता) मा हेरेर जुरेको कुराबताउँछन।
यो खबर लिएर जन्ती फर्केपछि गोबरको मस्युटो, गौतको तेल, बालुवाको चामल, लठ्ठिको मुसल, आदि बनाई आधा ग्वाला माईती र आधा ग्वाला जन्ती भएर दुवैको विवाह गर्छन। यसैलाई लयवद्ध गरी गाउँछन। यसमा पनि अगाडि पट्टिका ५÷७ जनाले माणा हाल्ने, अरु सबैले ज्यूनापुरी धारु भले र धारु भलेभाई धारुभले पालैपालो गरि भन्दछन। जस्तैः
सल्यानका साई महाराजा, ज्यूनापुरी धारु भले
गैरा गाउँकी रम्भा चेली, धारु भलेभाई धारुभले
मुलपाठका अन्य अंशहरु
कतना भया साई महाराजा
कतनी भैछन रम्भा चेली
बाड बडेली साई महाराजा
गुरीमुरी रम्भा चेली
कोरे जेठा भया कठ
जर्म जेठा साई महाराजा
कर्म जेठी रम्भा चेली
साई महाराजा भैसी गोठाला
रम्भा चेली गाई गवाली
साई महाराजाले भैसली खोया
रम्भा चेलीले गवलु खोयो
भैसा लाया काला पाल्त
गवलु लायो गैरी तोली
उदी वन गवलु लिउत
बाग की बग्याईछ कठ
पुणी बन गवलु लिउत
ढाण्याकी ढण्याई छ कठ
गोरु लायो गैरी तोली
भैसी लायो काला पाल्त
आफु बस्या उची ढुंगी
साई महाराजाले बाँसुरी गाड्यो
रम्भा चेलीले बिनायो गाडी
साई महाराजाले बासुली ठोक्यो
रम्भा चेलीले बिनायो बजायो
बाँसुलीका शब्दले
क्याउरे बोलुँ बोल्यो कठ
बाँसुरिका शब्दले
तोईरे लिउला भन्यो कठ
बिनायाका शब्दले
तेराई झाउँला भन्यो कठ
हैन हैन ग्वाला सातौ
ग्वाला खेल अरिहेलु
साई महाराजा, रम्भा चेलीको
ब्याउ रचाई हेलुँ कठ...
(यो लेख बझाङको जय पृथवी नगरपालिका–२ का रामबहादुर खडकासँगको छलफल र सहकार्यमा तयार पारिएको हो )