सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्धारा नेपाल भ्रमण वर्षका लागि साझा लोगो तयार

२०७६ पुष ९, ०६:१३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम सरकारले नेपाल भ्रमण वर्षका लागि लोगो तयार गरेको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सुदूरपश्चिम प्रदेशको पर्यटन झल्कने साझा लोगो निर्माण गरेको हो। पर्यटकीय गतिविधि झल्काउन आवश्यकता अनुसार प्रचार–प्रसार उपसमितिले समितिको बैठकमा पेश गरेको ‘देवभूमी सुन्दरभूमी’ अंकित लोगो बैठकबाट अनुमोदन गरेको हो। 

उक्त लोगोको किनारामा नेपालको झण्डाको संकेत गर्ने निलो, रातो र सेतो रंगको घेरा छ। अपि र सैपाल हिमाल सिरानमा रहेको छ भने देवभूमीको संकेत गर्ने गरी मन्दिरको स्केच राखिएको छ। सांकेतीक रूपमा तराइ, पहाडी–हिमाली संस्कृती झल्कने महिला र पुरूषको स्केचका साथै यस प्रदेशको प्रकृतिमा आधारित पर्यटकीय आकर्षण एवं मानव निर्मित पर्यटकीय आकर्षणहरु समेत प्रस्तुत हुने गरी तयार पारिएको छ।

लोगोमा ‘देवभूमि सुन्दर भूमि’को नारा उल्लेख गरी प्रदेशको नाम समेत लेखिएको चिन्ह रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भोजराज पाठकले जानकारी दिए। प्रदेशले तयार पारेको लागो सबैले प्रयोग गर्न पाउने उनले बताए। 
सुदूरपश्चिममा भ्रमण वर्ष मनाउन गठित सुदूरपश्चिम प्रदेश मुल आयोजक समितिले उद्घाटनका क्रममा धनगढीको ट्राफिक चौराहदेखि सहिद गेट तथा क्याम्पस रोडलगायतका स्थानबाट शोर्भायाली निकाल्ने निर्णय समेत निर्णय भएको छ।

नेपाल भ्रमण वर्ष  २०२० को उद्घाटन दिवस मनाउन सम्पूर्ण व्यवस्थापन गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन ईकाई प्रमुख किशोर अर्यालको संयोजकत्वमा सात सदस्यीय विशेष कार्यदल गठन गरिएको छ। कार्यदलमा नेपाल प्रहरी, समन्वय उपसमिति,  प्रचार–प्रसार उपसमिति, धार्मिक तथा सांस्कृतिक उपसमिति, कैलाली उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ र नाटा सुदूरपश्चिम प्रदेश सदस्य रहेका छन्।

प्रदेशमा पर्यटकलाई आकर्षण गर्न नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरिय पर्यटन प्रवर्द्धन समितिको फेसबुक पेज संचालन गरिने निर्णय समेत गरिएको छ। प्रदेशका पर्यटन गतिविधिहरुको सामाजिक संजाल मार्फत प्रचार–प्रसार गर्न, पर्यटन सम्बन्धी जानकारीमूलक सूचना, गतिविध तथा तस्वीरहरु पोष्ट गर्न मूल समितिको मातहतको प्रचार–प्रसार उपसमितिका संयोजकको जिम्मेवारीमा संचालन हुने गरी फेसबुक पेज संचालन गरिने निर्णय भएको हो।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन सुदूरपश्चिमका पाँच स्थानमा स्वागत द्वार निर्माण गरिने निर्णय समेत भएको छ। प्रदेशको गड्डाचौकी, धनगढी भन्सार, चिसापानी, झुलाघाट बैतडी र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्ने समितिको बैठकले निर्णय गरेको हो।

यस्तै, सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यहरु झल्कने गरी तस्वीरहरु प्रयोग गर्दै आवश्यकता अनुसार होर्डिङबोर्ड निर्माण गर्ने, प्रदेशका सबै जिल्लाहरुको प्रतिनिधित्व हुनेगरी पर्यटकीय गन्तव्यहरुको फोटो, प्रदेशको कला संस्कृती झल्काउने तस्वीर, प्रदेशका पुरातात्वीक सम्पदाहरु झल्कने तस्वीरहरु समावेश हुने गरी प्रचार–प्रसार उपसमितिले तस्वीरहरु संकलन गरी स्टीकर, पोष्टर, ब्याच, होर्डङबोर्डलगायतका उत्पादन गर्ने उल्लेख छ।

कमेन्ट लोड गर्नुस