कैलालीमा रुखमा झुण्डिएको अवस्थामा वेवारिसे पुरुषको शव भेटियो
कैलालीमा जंगलमा रुखमा झुण्डिएको अवस्थामा वेवारिसे शव भेटिएको छ। जिल्लाको कैलाली गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पहेँलो रङको बाटिएको डोरीले नाम थर, वतन खुल्न नआएको अन्दाजी ४०÷४५ वर्षको जस्तो देखिने सडेको अवस्थामा शव फेला परेको बताए।
बस्नेतले चिन्न नसकिने अवस्थामा रहेको शव, पाँच फिट छ इन्च उचाई रहेको, माथिल्लो शरिरमा कालो बुट्टेदार टि–सर्ट र तल्लो शरिरमा कालो हाफ पाईन्ट,बायाँ हातको साहीली औलामा चाँदीको जस्तो देखीने औठी, कालो रङको मख्लर, कालो चुच्चे टोप लगाएको पाईएको बताए।
उनका अनुसार सोही स्थान नजिकै माटो लागेको खैरो रङको झोला, कालो रंगको एक जोर चप्पल, खैरो रङको जिन्स पाईन्ट, रक्सीको बोतल समेत फेला परेको बताए। वेवारिसे शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ।