कैलालीको लम्कीमा अवैध रुपमा खोलामा चलाईएको डोजरमाथि आगजनी
कैलालीको लम्कीचुहा नगरपालिकाले अवैध रुपमा खोलामा डोजर चलाएको भन्दै आगजनी गरिएको छ। लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ मा रहेको चेतना सामुदायिक वन नजिकैको रोरा खोलामा अवैध रुपमा चलाईएको भन्दै बा ३ क ३४२१ नम्बरको डोजरमाथि आगजनी गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले देउती निर्माण सेवाले गएराती खोलामै छोडेको डोजरमाथि अज्ञात समूहले आगजनी गरेको जानकारी दिए। आगजनीबाट डोजरको इन्जनमा क्षती पुगेको प्रवक्ता प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।
आगजनी स्थलमा एउटा पर्चा पनि फेला परेको छ। नेपाल कम्युनिष्ट पार्टी कैलाली लेखिएको पर्चामा पर्यावरणीय प्रभाव सम्बन्धीका मापदण्ड पूरा नगरी प्राकृतिक स्रोतको दोहन गर्दै अनियमितता गरेको उल्लेख छ। सरकारी पदाधिकारी र व्यवसायीको मिलेमतोमा अनियमितता गरी रोयल्टी भुक्तानीको भन्दा बढि रकम असुली अनियमितता गरिएको विषयमा थारुवान स्वायत्त परिषद्ले पटक पटक रोक्न आग्रह गर्दा पनि अटेरी गरिएको पनि पर्चामा लेखिएको छ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। लम्कीचुहा नगरपालिकाले देउती निर्माण सेवाले पेश गरेको निवेदनका आधारमा नदीजन्य वस्तु उत्खनन्को अनुमती दिएको थियो। जुन कानून विपरीत हो। तर नदीजन्य वस्तुको उत्खनन्का लागि टेण्डर प्रक्रिया मार्फत ठेक्का लगाउने प्रावधान छ।