बर्दगोरिया गाउँपालिकामा बाल कचहरी कार्यक्रम सम्पन्न
कैलालीको बर्दगोरिया गाउँपालिकामा बाल कचहरी कार्यक्रमको आयोजना गरिएको छ।
सोमबार बर्दगोरिया गाउँपालिकाको आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपाल कैलाली र सेवक नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाको महुन्याल मावि बास्कोटीमा कार्यक्रम सम्पन्न भएको हो।
‘बाल अधिकारको सम्वद्र्धन, नेपालमा बाल विवाहको अन्त्य’ विषयमा बाल विवाह विरुद्धको अभियानलाई सघाउ पुर्याउन स्थानीय सरकार, जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, बाल अधिकारकर्मी, शिक्षक, बालबालिका तथा सरोकारवालाहरु बिच बालविवाह न्यूनीकरणको लागि चिन्तन मनन गर्ने र सम्बन्धित सबैको प्रतिबद्धता लिने उदेश्यले बाल कचहरी कार्यक्रमको आयोजना गरिएको हो।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौराको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो । कार्यक्रममा बालबालिकाहरुले बाल अधिकार, बाल विवाह, बाल संरक्षण लगायतका विषयमा उपस्थित अतिथिहरुलाई प्रश्न राखेका थिए भने अतिथिहरुले प्रश्नहरुका उत्तर दिएका थिए।
कार्यक्रममा बर्दगोरिया गाउँपालिकालाई बाल विवाह मुक्त गाउँपालिका घोषणाका लागि रणनीतिक योजना निर्माण गर्ने, बाल विवाह अन्त्यका लागि सरोकारवाला सबैले सामुहिक अभियान संचालन गर्ने, बाल अधिकारको सुनिश्चितताका लागि लाग्ने लगायतका बुदामा सहभागीहरुले प्रतिबद्धता समेत गरेका छन।
कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका सरोकारवाला तथा बालबालिका गरि करिब एक सय जना बढीको सहभागिता रहेको थिया ।