सुदूर नेपाललाई विश्वसँग जोड्दै

३७ वर्षमा फेरिएको धनगढीको लक्ष्मीनारायण मन्दिरको मुहार

२०७६ पुष ७, ०१:३० जनक विष्ट

खुल्ला चउर, उत्तरतर्फको बाह्रै महिना पानी हुने तलाउ, अगाडी पट्टी साईकल एवं रिक्सा मर्मत गर्ने खोका, कुनै बेला यही सेरेफेरोमा अवस्थित थियो, धनगढीको लक्ष्मीनारायण मन्दिर। त्यही मन्दिरका संस्थापक श्री १००८ स्वामी मुक्तीनारायण आर्चाय वैष्णवाचार्यको सानो कुटी थियो।

तिनै स्वामी मुक्तीनारायण आर्चायले झण्डै तीन बिगाह जमिन अहिले मन्दिर भएकै स्थानमा लिएर संरक्षण सम्बद्र्धन थालेका थिए। २०२१ सालमा उनी धनगढी आएर मन्दिरको संरक्षणमा लागेका थिए।  लक्ष्मीनारायण मन्दिरकै नाममा कञ्चनपुरको भुराकोटमा १० बिगाह र कैलालीको हरैयामा ८ बिगाह जमिन थियो।

यद्यपी हरैयाको जमिन अहिले मन्दिरको स्वामित्वमा छैन्। मन्दिरको स्वामित्वमा रहेको जमिन हड्प्ने देखेपछि स्वामी आर्चायले गरुडको मूर्तीलाई लक्ष्मी बनाई मन्दिर स्थापना गर्दै पुजाआज सुरु गरे। त्यसपछि तिनै स्वामी आर्चायले भारतको बनारसबाट श्री जगन्नाथ शास्त्री ब्रह्मचारीलाई मन्दिर र स्वामित्वको जमिन व्यवस्पान गरी उत्तराधीकारी महन्त बनाए।

मन्दिरको स्वामित्वमा रहेको जमिनमा उत्पादन भएको धान बिक्रि र स्वामी आर्चायले दिएको दृव्यबाट दुई वटा कोठा र एक–एकजना सुत्न मिल्ने थप तीन गरी पाँच कोठा निर्माण गरे।  यद्यपी श्री जगन्नाथ शास्त्रीले ब्रह्मचारी भएर जीवनयापन गर्न नसक्ने इच्छा जाहेर गरेपछि कालान्तरमा स्वामी आर्चायले उनलाई उत्तराधीकारी पदबाट हटाईदिए।

जगन्नाथ शास्त्री उत्तराधिकारीबाट हटेपछि अहिले श्री १००८ स्वामी देवराज आर्चाय यहाँ आईपुगे। भारतको बनारसमा रहेको रामानुज दर्शन महाविद्यालयमा वेदान्त विभागमा स्थायी रुपमा अध्यापन गराउँदै आएका आचार्य  २०३८ सालमा धनगढी आएका थिए।

उनी मन्दिरका तत्कालीन श्री १००८ स्वामी मुक्तीनारायण आचार्यकै आग्रहमा यहाँ आएका थिए। र उनले नै उत्तराधिकारीको जिम्मा पाए। अहिलेका स्वामी आएपछि लक्ष्मीनारायण मन्दिरको विकास क्रम सुरु भएको दावी गरिदै आएको छ। उनले मन्दिरको स्वामित्वमा रहेको जग्गामा भौतिक संरचना बनाई त्यसलाई आम्दानीसंग जोड्ने योजना बनाए।

 

                                                        श्री १००८ स्वामी देवराज आर्चाय 

त्यसैको फलस्वरुप मन्दिरको भौतिक पक्षमा सुधार हुदै गयो। २०३९ सालमा बैशाख पूर्णिमाका दिन लक्ष्मीनारायण मन्दिर विधिवत रुपमा स्थापना भएको थियो। कुनै आयस्रोत नभएको मन्दिरमा स्वामी ओछ्याउनेदेखि लिएर खाना पकाउने भाडाकुडाको पनि अभाव थियो त्यती बेला।

पछि स्वामी देवराज आचार्यको प्रवचन, धार्मिक सद्भावबाट प्रसन्न भई सनातन धर्ममा आस्थावानहरुले सहयोग दिन थाले। त्यती बेला स्वामी आचार्यले गाउँ गाउँमा पुगेर धार्मिक प्रवचन दिदै आएका थिए।  पछि भौतिक संरचनालाई आम्दानीसंग जोड्ने मनसाय अनुसार नै स्वामी देवराज आचार्यले तत्कालीन स्वामी मुक्तीनारायण आचार्यबाट एक लाख र आफूले बनारसमा अध्यापन गराउने क्रममा बचेको रकम पनि गरी मन्दिरको दक्षिणतर्फ पाँच सटर सहितको भवन बनाए।

ती सटर आपसी सहमतीमा भाडामा दिदै मासिक पाँच हजार आम्दानी हुने गरेको स्वामी आर्चाय बताउँछन्। २०४० सालमा स्वामी देवराज आचार्यकै पहलमा लक्ष्मीनारायण मन्दिरमा सनातन हिन्दु धर्मालम्बीहरुको सर्वस्व मानिने वेद धर्मशास्त्र, पूराण, रमायण, महाभारत, आगमशास्त्रको प्रचार प्रसार गरी वैदिक धर्मलाई सुरक्षा दिन भन्दै रघुनाथ वेद विद्याश्रम स्थापना गरिएको थियो।

मन्दिर परिसरमै स्थापना गरिएको विद्याश्रममा अध्ययन गर्ने विद्यर्थाीलाई निःशुल्क भोजन, आवास, औषधी उपचारको पनि व्यवस्था मिलाईएको थियो। त्यो खर्च मन्दिरका सटरहरुबाट हुने आम्दानीबाट व्यवस्थापन गरिदै आएको रहेछ। २०४० सालमा मन्दिरको स्वामित्वमा रहेको जग्गा अतिक्रमण हुन नदिन २०४० सालमै मन्दिर सञ्चालक समितिको विधान बनाएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको स्वामी देवराज आर्चायले बताए।

त्यसपछि मन्दिरमा बेला बेला समय अनुसार उत्सव, पर्व, कथा प्रवचन, भजन, कितन, अतिथि सेवा, बृद्धहरुको सेवा, अन्य मठ मन्दिर, विद्यालयलाई आर्थिक सहयोग पनि गरिन थालिएको थियो। ३७ वर्षलाई फर्केर हेर्दा अहिले लक्ष्मीनारायण मन्दिर व्यवस्थित हुदै गएको देखिन्छ।

वार्षिक आधा करोड बढि आम्दानी 
कुनै बेला भौतिक संरचना नै नभएको लक्ष्मीनारायण मन्दिरले अहिले वार्षिक आधा करोड भन्दा बढि आम्दानी घर भाडाबाट मात्र गर्छ। आर्थिक वर्ष २०७४–७५ को आय व्यय विवरण अनुसार मन्दिरले घर भाडा वापत मात्र ४९ लाख ८४ हजार आम्दानी गरेको तथ्याङ्क छ।

मन्दिरको स्वामित्वमा निर्माण भएका भवनहरुमा अहिले एक सय भन्दा धेरै कोठा छन्। त्यसमा अतिथि निवास, मन्दिरमा रहनेहरुका निवास एवं सटर समेत गरी एक सय बढि कोठा रहेको मन्दिरले जनाएको छ। मुख्य सडकमा रहेका २६ सटरहरु आपसी सहमतीमा भाडामा लगाईएको छ। उत्तरतर्फका चार सटर पनि भाडामा दिईएको छ।

अहिले मन्दिरको पूर्वतर्फ बनाईएको भवनका १४ सटर र दुईवटा हल पनि टेण्डर प्रक्रिया मार्फत भाडामा लगाउने तयारी छ। ती सटरबाट मात्र मासिक साढे दुईदेखि तीन लाख सम्म आम्दानी हुने मन्दिर बताउँछ। 

टुहुरा बालकको पालन पोषण र शिक्षादिक्षा 
२०४० सालमा स्थापना गरिएको रघुनाथ वेद विद्याश्रममा लक्ष्मीनारायण मन्दिरले टुहुरा बालकहरुको अध्यापनको साथसाथै संरक्षण समेत दिएको छ। मन्दिरले अहिले चार वर्षदेखि १२ वर्ष सम्मका आमा–बुवा नभएका टुहुरा, गरिब, वैदिक शिक्षा पढ्न चाहने र सनातन धर्ममा आस्था राख्ने बालकलाई २०४० सालदेखि नै बटुकका रुपमा सिकाईदै आएको छ। मन्दिरबाट ३६ वर्षको अवधीमा सयौँ विद्यार्थी उत्पादन भईसकेका छन्। अहिले पनि झण्डै ४० बटुक मन्दिरमा छन्। 

अतिक्रमण भएको मन्दिरको जमिन फिर्ता 
लक्ष्मीनारायण मन्दिरका श्री १००८ स्वामी देवराज आर्चायले भौतिक संरचना निर्माण मात्र नभएर गुमेको जमिन समेत फिर्ता लिएका छन्। कञ्चनपुरको बेलौरी नगरपालिकाको भुराकोटमा मन्दिरको स्वामित्वमा रहेको जमिन स्थानीय रामबहादुर थापाले कब्जा गरेको जमिना फिर्ता लिएका हुन्।

२०५२–५३ सालमा  थापाले कृर्ते लालपूर्जा बनाई कब्जा गरेको जमिनको मुद्दा सर्वोच्च अदालतबाट जितेर जमिन मन्दिरको स्वामित्वमा लिएका थिए। २०६२ सालमा अदालतले मन्दिरकै पक्षमा फैसला गरेको थियो। पछि २०७३ सालदेखि उक्त जग्गा मन्दिरले भोग चलन गर्न थालेको थियो।

तर थापालाई मन्दिरले नै पाँच कठ्ठा जग्गा उपलब्ध गराएको थियो। यस्तै खानेपानी योजना निर्माणका लागि तीन कठ्ठा जग्गा उपलब्ध गराईएको थियो भने अहिले बाँकी जमिन बिक्रि गरी धनगढीमा नयाँ भवन बनाईएको छ। 

गौँ संरक्षण 
मन्दिरले अहिले गौ संरक्षणको क्षेत्रमा पनि काम गर्दै आएको छ। मन्दिर परिसरमा गौशाला निर्माण गरी ४० गाई राखेर संरक्षण गरिएको छ भने गौँको हेरचाहका लागि दुईजना कर्मचारी पनि राखिएको छ।   

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस