सुदूरपश्चिमका पाँच स्थानीय तहमा अझै बैंक पुगेनन, कामकाज प्रभावित
सुदूरपश्चिमका पाँच स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ। प्रदेशको बझाङ र बाजुराका पाँच स्थानीय तहमा हालसम्म बैंक स्थापना हुन सकेका छैनन्। स्थानीय तहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ।
राज्यको पुनःसंरचनापश्चात् सरकारले मुलुक भरका सबै स्थानीय तहमा बैंकिङ तथा वित्तीय संस्था सञ्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानीयतहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन।
सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु गर्ने निर्देशन दिएको भए पनि ग्रामीण क्षेत्रमा सरकारी तथा निजी बैंकले हालसम्म सेवा शुरु नगर्दा यहाँ सेवाग्राही मर्कामा परेका हुन्। स्थानीय तहमा बैंकिङ सेवा प्रभाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होइन गाउँपालिकाका कामकाजसमेत प्रभावित बन्दै गएको छ।