सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुधार हुँदै सेती अस्पतालको सेवा

२०७६ पुष ४, १२:३० जनक विष्ट

धनगढी– फोहोरले अस्तव्यस्त, जताततै दुर्गन्ध, खानेपानीको हाहाकार, पानीको अभावकै कारण शौच गर्न नपाएको गुनासो, अव्यस्थित वार्ड लगायतका विरामी र कुरुवाका गुनासै गुनासाका समाचार नलेखेको महिनौँ बित्यो, सुदूरपश्चिमकै रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालको बारेमा।

विगतमा मिल्ने यी र यस्तै समस्याले आजित भएका सेवाग्राहीका गुनासा संकलन गर्न म बुधबार सेती प्रादेशिक अस्पताल पुगे। तर त्यहाँ पहिलेको जस्तै अस्तव्यस्तता छ भनी गुनासो गर्ने कुरुवा र विरामी भने भेटिन्। यद्यपी बिरामीको चापका कारण उपचारमा केही ढिलाई भएको, पालो कुर्दा घण्टौँ पर्खिनुपरेका गुनासा भने धेरैका थिए।

 

मनमा जिज्ञाशा लाग्यो, अहिले अस्पताल प्रशासनप्रतीका गुनासो कम हुनुको कारण के रहेछ ? के पहिलेको भन्दा सेवा सुधार भएको छ की ? म भित्र उब्जीएका जिज्ञाशाको जवाफ खोज्न म अस्पताल प्रशासन तीरै हानिए। त्यहाँबाट म सोझै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेको कार्यकक्षतर्फ लागे।

तर कार्यकक्षमा मेसु पाण्डे नभेटिएपछि टेलिफोन गर्दा बाहिर भएकाले उनले आफू एकछिनमा पुग्ने हुँदा पर्खिन आग्रह गरे। १० मिनेटको प्रतिक्षापछि डाक्टर पाण्डेय कार्यकक्षमै आईपुगे। व्यक्तिगत भलाकुसारीपछि औपचारिक कुराकानी सुरु हुनै लाग्दा रिर्पोटिङकै लागि पत्रकार दिनेश विष्ट र महेन्द्र बम मेसुलाई खोज्दै पुगे र हामी तीनै जनासंग मेसु पाण्डेले अस्पतालमा भएका सुधारका बारेमा सुनाए।

यो बिचमा भएका केही विवादास्पद घटनाक्रमले थोरै निराश जस्तै देखिएका डाक्टर पाण्डेले आफूले मेसुको जिम्मेवारी सम्हालेयता अस्पतालका अन्य चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारी र प्रशासनिक कर्मचारीहरुको सहयोग र सक्रियतामा भए÷गरेका सुधारका कामको बेली बिस्तार सुनाए। 

 

दैनिक तथा मासिक कार्ययोजना बनाएरै काममा खटिएका मेसु पाण्डेको टीमको पहिलो सुधारको काम सरसफाई रहेछ। जथाावी फालिएको फोहोरले दुर्गन्धीत भएको अस्पताल, शौचालय र नालीहरुमा अहिले फोहोरको भेटिदैन्। आफूले कार्यभार सम्हाले यता भएका काम देखाउँन हामीलाई लिएर हिडेका पाण्डेले सुरुमा इमर्जेन्सी वार्डतर्फ लगे।

इमर्जेन्सी वार्ड देखाउँदै पाण्डेले भने– ‘पुराना संरचनाको पुर्ननिर्माण तथा मर्मत सम्भार गरी शैया थपेका छौँ, वार्डमा २४ सै घण्टा चिकित्सक बस्ने व्यवस्था मिलाएका छौँ। अहिले उताको शौचालय हटाउर यता सा¥यौँ।’ पाण्डेले भने जस्तै पहिले निकै दुर्गन्धीत र अव्यवस्थित देखिने शौचालय सफा सुग्घर देखिन्थ्यो। 

यसअघि शौचालय भएको कोठामा इमर्जेन्सी वार्डमा भर्ना हुने गम्भीर प्रकृतीका विरामीका लागि छुट्टै भेन्टिलेटर सहितको सेमीआईसियु कक्ष स्थापना गर्ने योजना रहेको पाण्डेले सुनाए। त्यो संगै शल्यक्रिया कक्ष पनि थप्ने तयारी छ। तर पुर्ननिर्माण र विस्तारको काम बाँकी छ।

पहिले अस्पतालको परिसरका नाली निकै दुर्गन्धीत भएको देखिन्थ्यो तर अहिले भने फोहोर पास गर्ने नाली अस्पतालमा छन् की छैनन् भन्ने कुरा छुट्टयाउनै मुस्कील पर्छ। अहिले पुर्ननिर्माणको काम गरी व्यवस्थित ढल निकासको व्यवस्था मिलाएका कारण अस्पताल परिसरमा नालीका कारण हुने दुर्गन्ध छैन्।

फोहोरमैला व्यवस्थापनकै लागि अस्पतालले गरेको अर्को काम नियमित सरसफाई पनि हो। विगतमा हाता भित्र फोहोर हुने अस्पतालमा अहिले त्यो अवस्था फेरिएको छ। ठाउँ–ठाउँमा फोहोर संकलन गर्न डस्टविन राखिएका छन् भने संकलीत फोहोर छुट्टै  ठाउँमा फाल्ने गरिएको छ। त्यसैले अहिले फोहोरमैलाको गुनासो छैन्।  

फोहोरमैला पछि सेती अस्पतालमा सबैभन्दा बढि गुनासो खानेपानी अभाव र व्यवस्थापनको थियो। वर्षेनी हिउँदको समयमा अस्पतालमा पानीको अभाव हुने समाचार स्थानीयदेखि राष्ट्रिय मिडियामा सार्वजनिक हुँदै आएका थिए। तर अस्पतालले अहिले खानेपानीको आपूर्तीमा पनि ध्यान दिएकै कारण ती गुनासो पनि कम भएका छन्।

त्यो कसरी समाधान भएछ भन्ने विषयमा अस्पतालका मेसु हेमराज पाण्डे भन्छन्, ‘ठुलो बोरिङ मार्फत खानेपानीको आपूर्ती नियमित गरेका छौँ।’यस्तै खानेपनी संस्थानबाट ठुलो लाईन जडान, शुद्ध पिउने पानीका लागि ठुलो आरओ सिस्टम जडान गरिएको उनी बताउँछन्।

डिप बोरिङ जडान र ठुलो अन्डरग्राउण्ड ट्याङ्की निर्माणको कार्य पनि जारी छ। झण्डै एक वर्षदेखि बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेको लिफ्टको पनि मर्मत सम्भार गरिएको छ। अस्पतालमा अहिले वार्डहरु अव्यवस्थित भएका गुनासा पनि विगतको भन्दा कम भएका छन्। त्यसको कारण हो, वार्डहरु विस्तार, शैया थप तथा नियमित रेखदेख र व्यवस्थापन नै हो।

प्रयोगशालामा पनि सबैभन्दा धेरै लापरवाही हुने गरेका जनगुनासो आउने गरेका थिए। तर अहिले प्रयोगशालामा प्रवेश गर्ने वित्तिकै छुट्टै किसिमको अनुभुती हुन्छ। टायल विछाएर चिटिक्क पारिएको कोठामा लस्करै मिलाएका उपकरण राखिएका छन् त कोठा पनि अहिले फराकिलो बनाईएको छ।

प्रयोशालामा औजार उपकरण बृद्धि गर्नुको साथै सेवा पनि थपेको मेसु पाण्डे बताउँछन्। रिर्पोट लिन आउनेहरुका लागि दुई छेउमा झ्याल समेत बनाईएको छ। त्यती मात्र होईन अस्पतालले  भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे, भिडियो सेवा विस्तारको काम पनि गरेको छ।

अस्पतालको अर्को ठूलो र महत्वपूर्ण काम अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नू पनि हो। प्रदेशको सामाजिक विकास मन्त्रालयको झण्डै दुई करोडको लागतमा खरिद गरिएको अक्सिजन प्लान्ट जडान गरी उत्पादन गर्न सुरु गरिएको छ।

अस्पताल परिसरमै निर्माण गरिएको अक्सिजन प्लान्टबाट सबै वार्डमा पाईप मार्फत अक्सिजन पठाईएको छ भने नपुगेका वार्डका लागि सिलिण्डर भरिएको छ। अक्सिजन प्लान्ट नियमित सुचारु भए अस्पतालले यसअघि अक्सिजन खरिदमा वर्षेनी खर्च गर्दै आएको झण्डै ८० लाख बचत हुने दावी गरिएको छ।

अझ उत्पादन भएको अक्सिजनलाई बिक्रि गरी आम्दानी गर्न सक्ने बाटो पनि खुल्ला छ। ओपीडीका विरामीलाई पालो कुर्दा सम्म बस्ने व्यवस्था, प्रसुती वार्डको संरचना विस्तार, डेण्टल विभागमा सेवा विस्तारसंगै अत्याधुनिक उपकरण जडान, पोषण पुर्नस्थापना गृहको संरचना निमार्ण र ट्रस्ट राखी सेवा विस्तार, पूरानो अस्पताल भवनका ट्रस्टहरु पुर्नःमर्मत पनि गरिनुलाई अस्पताल सुधारका सकारात्मक पक्ष मान्न सकिन्छ।

फार्मेसी, बिमा लगायतका अन्य फाँटहरु अस्पतालको पश्चिमपट्टी लस्करै स्थापना गरी सेवा सहज बनाईएको छ। अस्पतालमा खटिने सुरक्षाकर्मीको आवास सारेर मुख्य गेटमा पनि २४ सै घण्टा सुरक्षा गार्ड राखेर सवारी साधनको व्यवस्थित पार्किङ पनि सुधारमुलक काम हो।

अन्य सेवा सुधार र जनशक्ति व्यवस्थापनका लागि पनि पहल भईरहेको प्रशासनले जनाएको छ। यसअघि अस्पताल भवनको बाहिरको भागमा रहेका विद्युत मिटरलाई पनि व्यवस्थित पारिएको छ।

खासगरी केही व्यक्तिहरुले रातीको समयमा मिटरमा हुक लगाएर विद्युत चोरी गर्ने गरेको पाईएपछि सबै मिटरलाई पश्चिमपट्टीको भवनमा लस्करै राखिएको छ।

 

 

अस्पतालले प्रयोग विहिन अवस्थामा रहेको पूर्वतर्फको पूरानो भवनको संरचना मर्मत सम्भार गरी फिजियोथेरापी युनिट स्थापना गरिरहेको छ। यसका अतिरिक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेसंग निकट भविष्यमा सुधार गर्नुपर्ने कामको लामै सूची छ।

उनले बनाएर राखेको महत्वपूर्ण सुधार गर्नुपर्ने सूचीमा मुटुरोग, मृगौला रोग, युरोलोजी, मानसिक रोग विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने प्रमुख काम हो। यस्तै, दक्ष जनशक्ति व्यवस्थापन, डायलासिस सेवा विस्तार, १५ बेडको भेन्टीलेटर सहितको आईसियू सेवा, ए ग्रेडको एम्बुलेन्स, प्रदेशकै रेफरल अस्पतालको रुपमा विकास गर्न पाँच सय शैयामा स्तरोन्नती गर्नूपर्ने लगायतलाई राखिएको छ।

तर यी सबै सेवा सुधार र विस्तारका लागि अस्पतालका प्रशासन मात्र नभएर अस्पताल विकास समिति, प्रदेश सरकार, यसक्षेत्रका नागरिक अगुवा, बुद्धिजीवी सबैले हातमा हात मिलाएर पहल कदमी चाल्न आवश्यक देखिन्छ। सेती अस्पतालको सेवा केही मात्रामा पनि सुधार भए यसक्षेत्रका नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताका कम हुने अपेक्षा गरिएको छ।

सेती अस्पतालका अहिले मेसु डाक्टर हेमराज पाण्डे पनि सबैको सकारात्मक सहयोग मिलेमा विशेषज्ञ सेवा सञ्चालन गर्र्न सकिनेमा विश्वस्त देखिन्छन्। त्यही दृढ अठोटले नै हुनुपर्छ, बुधबार अस्पताल परिसरबाट छुट्टिने क्रममा उनले भनेका थिए, ‘सबैको सकारात्मक साथ सहयोग चाहिन्छ निकट भविष्यमा सेती अस्पतालबाटै यी सेवा सञ्चालन गर्न सम्भव छ, सबैको सहयोग मिलेमा यी काम गरेरै छोड्छु।’

पाण्डेले सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएको १६ महिना पुगेको छ। यता अस्पताल विकास समितिका अध्यक्ष दुर्गा जोशी पनि अस्पतालको सेवा सुधार गरेरै छोड्ने दावी गर्छन्। ‘विकास समितिका सदस्य सहित म आफु पनि राती ९ बजे सम्म प्रत्येक वार्डमा घुमिरहेका छौ,’ जोशीले भने, ‘२०७६ सालको चैत मसान्त सम्म सेवा सुधार नभए, बैशाख १ गते राजिनामा दिन्छु।’

 

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस