ऋणमा डुब्ने डरले उपचार नगरी ज्यान गुमाउँछन् सुदूरपश्चिमका विपन्न
धनगढी: उमेरले ४८ वर्षमा मात्रै टेकेका थिए, धनगढी उप–महानगपालिका– ७ देवहरीयाका दसिराम चौधरी। यसै वर्षको जेठमा मात्रै उनलाई फोक्सोको क्यान्सर भएको जानकारी भयो। त्यसअघि सेती प्रादेशिक अस्पताल र धनगढीकै थुप्रै निजि अस्पताल धाएका उनी क्यान्सर भएको थाहा पाएपछि भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि गए।
भरतपुर क्यान्सर अस्पतालमा पटक–पटक गरी तीन महिनासम्म उपचार गराएका चौधरीको झण्डै तीन लाख उपचारमै खर्च भईसकेको थियो। भएकोे दुई कट्ठा जमिन पनि बेचिसकेका थिए। एक छोरा र दुई छोरीका बुवा रहेका चौधरी उपचार खर्च जोहो गर्दागर्दै ऋणमा डुब्न थालिसकेका थिए।
‘आफ्नो उपचार खर्च गर्दागर्दै परिवार नै ऋणमा डुब्ने देखिएपछि बुवाले उपचार नै नगराउने अडान लिएका थिए,’ दसिरामका छोरा ईन्द्रले दिनेश खबरलाई भने, ‘उपचार नै गर्न नमानेपछि कार्तिक २६ गते बुवाको मृत्यु भयो।’ ‘बाच्ने रहर कसलाई नहोला र ? तर बाच्नका लागि पनि आर्थिक अवस्था मजबुत हुनुपर्ने रहेछ’ ईन्द्रले भने।
उनका अनुसार ऋण खोजेर पनि दसिरामको उपचार गर्ने तयारी भएपनि परिवारका सदस्यमाथि ऋणको भार नथपियोस भन्नकै लागि उनले उपचार नै नगराउने अडान लिएका थिए। जसका कारण धनगढीको पदम सपिङमा ट्रक चलाउँदै आएका दसिरामले ४८ वर्षकै उमेरमा संसार छोडे।
पदम सपिङका सञ्चालक पदम भट्टले दिनेश खबरलाई भने– ‘डाक्टरले पनि दुई वर्ष मात्रै बचाउन सकिन्छ भने, उक्त कुरा सुनेर दसिरामले उपचार नै नगराउने अडान लिईरहे।’ उनका अनुसार उपचारका लागि पटक–पटक चितवन पुग्नुपर्ने बाध्यताले दसिराम आजित भईसकेका थिए। ‘सायद धनगढीमै उपचार सम्भव भएको भए अहिले सम्म दसिराम जिवित हुन्थे।’ भट्टले भने। अहिले दसिराम जस्तै धेरै सुदूरपश्चिमवासीले परिवार ऋणमा डुब्ने डरले उपचार नगरी ज्यान गुमाएका छन्। कतिपयले उपचार खर्च नपाएर ज्यान गुमाएका छन् त कतिपयले विशेषज्ञ सेवा नपाएर ज्यान गुमाएका छन्।
विगत २ वर्षदेखि क्षयरोगको उपचार गराईरहेका मंगलसैन नगरपालिका– ८ ओलिगाउँका ५० वर्षीय सर्जन परियार यसै साता बयलपाटा अस्पतालभित्रै मृत अवस्थामा फेला परे। सोमबार राती उनले आफु बस्ने कोठाको पंखामा डोरीले पासो लगाई आत्महत्या गरेको अछाम प्रहरीले जनाउँदै आएको छ। श्रीमति, ४ छोरा र १ छोरीको अभिभावकको जिम्मेवारी पाएका उनी अस्पतालमा थलिएपछि आजित भईसकेका थिए। उनलाई उपचारका लागि खर्च जुटाउन पर्ने अवस्था त थिएन् तर गाउँमै विशेषज्ञ सेवा पाएको भए सायद अहिले परियार पनि जिवित हुन्थे।
उनका भाई केशव परियारले भने– ‘दुई वर्षदेखि वयलपाटा अस्पतालमा उपचार भईरहेको थियो। एक्कासी मृत्यु भएको खवर आयो। सायद उपचार गर्दागर्दै दिक्क भएर यस्तो गरे कि ?’ विकट जिल्ला बाजुरामा उपचार गर्न नपाएर ज्यान गुमाउन पर्ने बाध्यता झनै बढि छ। पत्रकार महासंघ बाजुराका अध्यक्ष समेत रहेका प्रकाश सिंहले भने– ‘बाजुरामा त रोग पाल्ने परिपाटी नै छ। सुरुमा ऋण खोजे पनि पाउँदैन। पाईहाल्यो भने कसरी तिर्ने भन्ने चिन्ताले उपचार समेत नगरी विपन्नले ज्यान गुमाउँछन्।’
दिनेश खबरका संवाददाता समेत रहेका सिंहले यो समस्या सबैभन्दा बढि मुक्त हलिया समुदायमा रहेको बताए। ‘परिवारका सदस्यलाई ऋणको भारी बोकाउनु भन्दा आफ्नो प्राण त्याग्न नै उचित ठानेर पनि हो। त्यसैमा उपचारका लागि आर्थिक जोहो गरेपनि जिल्लामै उपचार गराउनका लागि स्तरिय स्वास्थ्य संस्था नै छैनन्’ सिंहले दिनेश खबरलाई भने।
बाजुरा जिल्ला जस्तै अहिले सुदूरपश्चिमका धेरै जिल्लामा यस्तै पीडा थपिएको छ। एकतातिर विरामीको उपचार गर्दागर्दै पनि जोगाउन नसकिएको पीडा छ भने अर्कोतर्फ ऋणमा डुबिने डरले उपचार नै नगराउने नियती नै भईसकेको छ। सुदूरपश्चिम भरीकै अस्पतालमा विशेषज्ञ सेवा पाउन सक्ने अवस्था छैन्। सुदूरपश्चिम प्रदेशमा कागजी रुपमा स्वास्थ्यचौकीदेखि प्रादेशिक हुँदै विशिष्ट सेवा सहितका अस्पताल पनि छन्। तर ती अस्पतालको सेवा पनि कागजमै सिमित भएपछि अहिले सुदूरपश्चिमवासीका लागि स्वास्थ्य उपचार निकै महंगो भएको छ।
अहिले सुदूरपश्चिमवासी गरिबीको रेखामुनी आउनुको मुख्य कारण नै महंगो उपचार सेवा बनेको छ। सेती अस्पतालका पूर्व मेसु डाक्टर गणेबहादुर सिंहले संविधानमा रहेका स्वास्थ्य सम्बन्धीका हकको कार्यान्वयन भए मात्रै उपचार नपाएरै ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए। उनले स्वास्थ्य उपचारका लागि धेरै टाढा जानुपर्ने बाध्यता रहेकोले पनि सुदूरपीश्चमका विपन्नलाई उपचार खर्च जोहो गर्न नै मुस्किल भईरहेको बताए।
संविधानमा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन्’ भनिएको छ। तर त्यो हक सुदूरपश्चिमवासीले कहिल्यै पाएका छैनन्। प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने उपचार नपाएरै ज्यान गुमाउन पर्ने बाध्यता हटाउन योजनावद्ध रुपमा प्रदेश सरकार लागिरहेको बताउँछन्। उनले भने– ‘विशेषज्ञ सेवा सबै जिल्लामा विस्तार गर्नका लागि हामी लागिरहेका छौ, गाउँगाउँमा विशेषज्ञ स्वास्थ्य सेवा नपुगाउँदा सम्म हाम्रो प्रयास जारी रहने छ।’