सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा पुस २७ गतेदेखि ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव’ हुने

२०७६ पुष २, ०४:४१ खबर संवाददाता

अत्तरीया: सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी कैलालीको अत्तरीयामा ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना हुने भएको छ। ‘सम्वृद्ध सुदूरपश्चिम प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ विगतका वर्ष झै यो वर्ष पनि अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा उक्त महोत्सव लाग्ने भएको हो। 

अत्तरिया उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत पाचौँ संस्करणको महोत्सव यहि पुस २७ गते देखि माघ ७ गते सम्म आयोजना हुने जनाएको छ। नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार, प्रदेशको अर्थतन्त्र, कला संस्कृतिको संरक्षण, समवद्र्धनका साथै यस क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष अशोकराज देवकोटाले बताए।

उनले विगतका वर्षहरुभन्दा यसवर्ष केहि फरक बनाउने उदेश्यले महोत्सवका लागि विभिन्न समिति, उपसमितीहरु बनाएर तिव्र्र तयारी भैरहेको बताए। अत्तरियामा रहेको लामी तालमा डुंगाको सयर, वृद्धवृद्धा तथा अपागंहरुलाई टिकटमा छुटको व्यवस्था रहेको उनले बताए।

महोत्सवमा १ सय ५० ओटा विभिन्न खाले स्टलहरु रहने अध्यक्ष देवकोटाले बताए। महोत्सवमा दर्शकहरुको मनोरञ्जनका लागि सुदूरपश्चिम प्रदेशका नवप्रतिभावान कलाकारहरुलाई प्राथमिकता दिँदै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने उद्योग वाणिज्य संघले जनाएको छ। 

यस्तै सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका भेषभुषा, रितिरिवाज, चालचलनलाई समेट्ने गरी लाग्ने महोत्सवमा करिव ८० लाख खर्च हुने अनुमान गरिएको छ। महोत्सवलाई १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको पत्रकार सम्मेलन मार्फत जनाइएको छ। १० दिनसम्म संचालन हुने महोत्सवमा ३ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष देवकोटाले बताए।

महोत्सव अवधिभर सुरक्षा व्यवस्थामा निकै कडाई गरिने अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सव अत्तरिया स्थित लामी ताल परिसरमा हुने छ भने महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ५० र विद्यार्थीहरुका लागि ४० रुपैया टिकट कायम गरिएको छ।

कमेन्ट लोड गर्नुस