सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पुरुषहरू पनि यौन दुर्व्यवहारको खतराबाट बाहिर छैनन्’

२०७६ मंसिर ३०, ०९:३५

दुर्गा कार्की

२२ वर्षीया वोरापोन सोमसाइ बैंककको थामासत विश्वविद्यालयमा पढ्छिन्। यो विश्वविद्यालय १ हजार ४६२ एकडमा फैलिएको छ। २२ वर्षीया सोमसाइको यो आवासीय विश्वविद्यालयमा उनी बस्ने होस्टल ५ किलोमिटर टाढा छ। बेलुका सात बजेपछि उनी कलेजबाट होस्टल जान परे साथीहरूलाई लिएर जान्थिन्।

विश्वविद्यालयभित्रका अँध्यारा ठाउँ र बाटोमा डरले उनको सातो जान्थ्यो। ती अँध्यारा ठाउँहरूमा साथीहरूमाथि भइरहेको यौन हिंसाका बारेमा उनी जानकार थिइन्।

त्यसैले उनले आफ्नो विश्वविद्यालयको हाताभित्र आफू पनि सुरक्षित भएको महशुस गर्न सकिनन्। त्यसैले साँझ परेपछि उनी आफ्नो होस्टेलसम्म जान परे एक्लै कहिल्यै हिँडिनन्।

२१ वर्षीय स्यान्टिफोट म्यासन्किड जनस्वास्थ्य विषयमा स्नातक अध्ययनरत् छन्। उनलाई लाग्छ आफू पुरुष भए पनि आफूमाथि दुव्यर्वहार हुन सक्छ। एकपटक त उनले त्यस्तो अनुभव गरिसकेका पनि छन्।

विश्वविद्यालयको पुरुष होस्टलमा एक जना तेस्रो लिङ्गीले उनलाई आफ्नो नाङ्गो तस्वीर देखाएको थियो।

‘त्यसैले पुरुषहरू पनि यौन दुर्व्यवहारको खतराबाट बाहिर छैनन् र यस्तो समस्या र जोखिममा छात्रामात्रै छैनन्’ उनी भन्छन्।

‘महिला पुरुष समान हुन्, तर समाजले पुरुषलाई यस्तो जिम्मेवारी दिएको छ जहाँ पुरुषार्थ देखाउन बाध्य पार्छ’ उनले भने। त्यसैले उनीहरूले आफ्नो विश्वविद्यालयभित्र यी समस्याबाट छुटकारा पाउन चाहन्थे।

अनि उनीहरू मिलेर विश्वविद्यालयमा एउटा अभियान सुरू गरे यौन दुव्यवहारविरूद्धको शून्य सहनशीलता अभियान। यसमा उनीहरू पूर्ण रूपमा सक्रिय छन्।

‘यो सामाजिक अभियान हो स्यान्टिफोट म्यासन्किड भन्छन्, यस्तो अभियानमा के महिला के पुरुष सबै लाग्नु जरूरी छ।’

यसअघि उनीहरू सार्वजनिक स्थलमा महिलामाथि हुने गरेको यौन हिंसा र दुर्व्यवहारविरूद्ध अभियान गरिरहेको सुरक्षित सहर नामक सञ्जालमा जोडिएका थिए।

कलेजका उनीहरूका अन्य साथीहरू पनि यो अभियानमा मिसिए। यहाँ आएपछि उनीहरूले थाहा पाए थाइल्याण्डमा ८६ प्रतिशत महिलालाई सार्वजनिक स्थानमा यौन हिंसा र दुर्व्यवहार हुन्छ। यसपछि आफ्नो विश्वविद्यालयमा समेत यो समस्या भोगिरहेका उनीहरूले विश्वविद्यालयमा यौनहिंसाविरूद्ध शून्य सहनशीलता अभियान सुरू गरेका हुन्।

गत अगस्ट महिनादेखि उनीहरूले विश्वविद्यालयमा यो अभियान सुरू गरे। सेप्टेम्बरको सुरू मै मोबाइल एप्लिकेसन बनाए र विद्यार्थीलाई विश्वविद्यालयभित्रका जोखिमपूर्ण र असुक्षित ठाउँहरूका बारेमा एप्लिकेसनमार्फत् सोधे।

विद्यार्थीले कलेजका असुरक्षित ठाउँका फोटा खिचेर पठाए। कतिले नक्सा पठाए। सेप्टेम्बरदेखि नोभेम्बरसम्म ३ सय विद्यार्थीले उक्त मोबाइल एप्लिकेसनमा फोटो र नक्सा पठाए।

त्यसपछि असुरक्षित भनिएका क्षेत्रमा विश्व विद्यालय व्यवस्थापनलाई उनीहरूले बत्ती राख्न लगाए। ती जोखिम भनिएका ठाउँमा उनीहरूले मिलेर क्याराभान गरे।

अभियानमा यो अवधिमा ४० प्रतिशत पुरुष सहभागी छन्। अभियानमा अन्य विद्यार्थीलाई सहभागी गराउन उनीहरूले उपाय लगाएका छन्। उनीहरूले अभियानमा नआएका विद्यार्थीलाई खाना दिन्छन् र अभियानका बारेमा बताउँछन्।

रुचि हुनेहरू अभियानमा संलग्न भइहाल्ने उनीहरूको अनुभव छ। सामाजिक संजालमा फ्यान पेज बनाएर त्यसमा आबद्ध हुन उनीहरूले अनुरोध गर्छन्।

थामासत विश्वविद्यालयमा लगभग २० हजार विद्यार्थी पढ्छन्। २६ वटा संकायमा पढाइ हुन्छ। एउटा डोर्मिटरीमा मात्रै ५ सय देखि ७०० विद्यार्थी सुत्छन्। यस्तो ठूलो विश्वविद्यालयमा खासगरी छात्राहरू असुरक्षित रहेको र यस्ता खाले दुर्व्यवहारले विश्वविद्यालय व्यवस्थापनलाई पनि टाउको दुखाइ भइरहेको थियो।

त्यसकारण विश्वविद्यालय व्यवस्थापनले यो अभियानमा सक्दो सहयोग गरिरहको छ। व्यवस्थापनले यो अभियानको प्रवर्द्धन गर्न सहयोग गर्छ। मोबाइल एप्लिकेसनहरू बनाउन सहयोग गर्छ।

व्यवस्थापनले विद्यार्थी समेत सम्मिलित एउटा उजुरी गर्ने संयन्त्र बनाएको छ। आफूमाथि यौन दुर्व्यवहार भएमा विद्यार्थीले सबभन्दा पहिला आफ्नो डोर्मिटरीको प्रमुखलाई खबर गर्छन्। अन्य ठाउँमा भएमा सामाजिक सञ्जालमार्फत् रिपोर्ट गर्छन्। यो सबै सूचना व्यवस्थापनमार्फत् उक्त संयन्त्रमा अभिलेख हुन्छ।

पीडकलाई घटनाको गम्भीरता हेरेर कारबाही गर्छ। कलेजबाट निष्काशन गर्नेसम्मको कारबाहीको व्यवस्था छ।

हाल यो अभियानमा विश्वविद्यालयको जनस्वास्थ्य संकायका विद्यार्थीमात्रै संलग्न छन्। तर विस्तारै अरु संकायका विद्यार्थी पनि अभियानमा संलग्न हुने विश्वास उनीहरूको छ।

विश्वविद्यालयको जनस्वास्थ्य संकायले स्वस्थ सहर भन्ने विषयमा यौन दुर्व्यवहारसम्बन्धी पाठ्य सामग्री बनाएर पढाउन थालेको छ। यौन दुर्व्यवहारविरूद्ध धेरै अघिदेखि थाइल्याण्डमा सक्रिय सुरक्षित सहर सञ्जालसँग मिलेर विश्वविद्यालयले यो पाठ्यक्रम तयार पारेको हो।

विश्वविद्यालयका शैक्षिक मामलासम्बन्धी रेक्टर एडिर्र्सन जन्ट्रसोक भन्छन् ‘यो अभियान विद्यार्थी, विश्वविद्यालयका प्राध्यापक, कर्मचारीलाई चेतना ल्याउनका लागि चलाइएको हो। किनभने सबै लिङ्गका लागि सुरक्षित वातावरण चाहिन्छ र लैङ्गिक समानता कुनै एउटा वर्गको मात्रै मुद्दा हैन।

विश्वविद्यालयमा यौन हिंसा र दुर्व्यवहारसम्बन्धी समस्या धेरै आउन थालेपछि यो अभियान सुरू गरिएको उनले बताए।

‘यो विद्यार्थीको मात्रै नभएर व्यवस्थापन र विद्यार्थी दुवै तर्फबाट चालिएको कदम हो,’ उनले भने। घटना भयो भने अनुसन्धान गरेर दोषीलाई उचित कारबाही गर्दै आएको उनले बताए।

यो अभियान सुरू भएपछि खासै यौन दुर्व्यवहारका घटना भएको सूचना नआएको अभियानमा संलग्न विद्यार्थीले बताए पनि २१ प्रतिशत विद्यार्थीले यौन दुर्व्यवहारको अनुभव गरेको तथ्याङ्क विश्वविद्यालयसँग छ।

यो अभियानलाई अझै बलियो बनाउन यससम्बन्धी नीति संशोधन गर्न लागेको पनि विश्वविद्यालयले जनाएको छ।

यौन दुर्व्यवहारसम्बन्धी मुद्दा हेर्ने संयन्त्रले केस परेको ६० दिनभित्र दोषीलाई कारबाही गर्छ र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउँछ। त्यतिमात्रै हैन पीडितलाई पुरानै स्थितिमा फर्काउन र पहिलाको जस्तै जीवन सुरू गर्न चाहिने सबै सहयोग यो संयन्त्रले गर्ने गरेको छ।

यो अभियानमा संलग्न विद्यार्थीले आफूमाथि भएको यौन दुर्व्यवहार अरुलाई भन्न प्रोत्साहन गर्ने गर्छन्। ताकी अभियानलाई अझै व्यापक बनाई समस्याको समाधान पनि सबै मिलेर गर्न सकियोस्।

यो अभियानलाई बलियो बनाउन पूर्वविद्यार्थीहरूले पनि उत्तिकै सहयोग र प्रोत्साहन गरेका छन्।

थामासत विश्वविद्यालयकी पूर्वविद्यार्थी मोन्तिरा नर्कविचेन भन्छिन्, ‘यो यौन हिंसाविरूद्धको शून्य सहनशीलता अभियानले थामासात विश्वविद्यालय नमूना बन्न सक्छ। अबको ३ वर्षमा यो विश्वविद्यालय पूर्णत सुरक्षित हुन सक्छ र दुर्व्यवहार पूर्णत अस्वीकार्य हो भनेर विश्वलाई देखाउन सफल हुनेछ।’

उनले हाम्रो पुस्ता समानताको पुस्ता हो मानव अधिकार चाहने पुस्ता हो भन्दै सबै प्रकारका हिंसा दुर्व्यवहार अन्त्यका लागि सक्रिय हुन सबैलाई आह्वान पनि गरिन्।

केही समयअघि नेपालमा विश्वविद्यालय कै प्राध्यापकहरूले छात्रालाई यौन दुर्व्यवहार गरेका कुरा संचार माध्यममा छ्यापछ्याप्ती आए। कतिपयले यसलाई जातीय मुद्दा बनाएर चोख्याउने प्रयास गरे। दोषीमाथि न कुनै अनुसन्धान भयो, कारबाही हुने त कुरै भएन। यस्तो खालको दण्डहीनताले दोषीलाई अरु यस्तै खाले हिंसा गर्न उक्साउँछ र महिलामाथि झन् धेरै शोषण हुने संभावना बढ्छ। यस्तै मानसिकता बोकेर हिँडेकाहरू प्रोत्साहित हुन्छन्।

नेपालका शैक्षिक संस्था चाहे ती स्कुल हुन् वा कलेज विश्वविद्यालय छात्राका लागि अति नै असुरक्षित छन् र उनीहरू जुनसुकै बेला यौन हिंसाको शिकार हुनसक्ने जोखिमपूर्ण अवस्थामा छन्।

एक्लै बोलेर वा लेखेर यस्ता दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकिने प्रमाणित भैसकेको छ।

त्यसैले संगठित रूपमा अभियानमार्फत् एकजुट भएर विद्यालय र विश्व विद्यालयभित्रै छानबिन गरेर कारबाहीका लागि सिफारिस गर्ने संयन्त्र बनाउन सके दोषी उम्किन सक्ने मौका कम पाउँथे।

यस्ता अभियानले विद्यार्थीलाई एक्लै बोले उल्टै उसलाई आरोपित गर्ने लाञ्छाना लगाउने र भला पीडित बनाउने हाम्रो सामाजिक चरित्र हो। त्यसैले संगठित भई कुनै एक जनामाथि भएको हिंसाविरूद्ध सामूहिक आवाज ल्याउन सके हिंसा गर्ने निरुत्साहित हुनुका साथै बोल्न पर्छ भन्ने मानसिकता बलियो हुँदै जान्छ।

आफूमाथि भएको अन्यायका बारेमा बोल्न र भन्न सक्नु पनि समाधानको एउटा खुड्किलो हो भने एक जना बोल्दा अरु धेरै जो हिंसाको जोखिममा छन् उनीहरू जोगिन सक्छन्। 

त्यसैले विश्वविद्यालयमा अब यौनहिंसा र दुर्व्यवहारविरूद्धको अभियान सुरू गर्न ढिलो भयो कि? -सेतोपाटी

कमेन्ट लोड गर्नुस