हिउँले ढाकेपछि साईपालको जिवन अस्तव्यस्त, शैक्षिक संस्था ठप्प
बझाङ: बझाङ जिल्लाको सबैभन्दा विकट साईपाल गाँउपालिकामा झण्डै २५ वर्षपछि पहिलो पटक मंसीर महिनामा हिमपात भएको छ। गाँउपालिकाका पाँच वटै वडामा झण्डै २/३ फिट हिमपात भएपछि यहाँको जनजिवन प्रभावित बनेको हो ।
बाक्लो हिमपात भएपछि स्थानीय घरभन्दा बाहीर निस्कन सकेका छैनन् भने पशुचौपाया गोठमा थुनीएका छन्। बाक्लो हिउँ जमेकाले एक गाँउबाट अर्कोगाँउ जान नसकिएको साईपाल गाँउपालिकाका स्थानीय बसन्त बोहराले बताए।
शुक्रबार देखी लगातार परेको हिमपातका कारण यहाँका शैक्षिक संस्थाहरु बन्द भएका छन्। विद्यालयमा बाक्लो हिउँ जमेका कारण विद्यालय संचालन गर्न कठिन भएको उनले बताए।
यस्तै धलौन माविका प्राध्यानाध्यापक हिक्मतबहादुर सिहँले ३ दिनदेखी लगातार परेको हिमपातका कारण एक ठाँउबाट अर्को ठाँउसम्म जान नसकिएकाले विद्यालयको पठनपाठन बन्द रहेको बताए। तिन दिन गाँउपालिकाभरी रहेको २ वटा मावि, एउटा निमावि, २ वटा प्रावि र ३ वटा शिशु गरी ८ वटा विद्यालयहरु बन्द भएको उनले बताए। ‘आज विद्यालय खुलेपनी विद्यार्थीहरुको भने आउँन सकिरहेका छैनन्’ उनले भने ‘स–साना बालबालिकाहरुलाई विद्यालयसम्म पुग्न समस्या भइरहेको छ।
यस्तै २ दिन यहाँका स्वास्थ्य संस्थाहरु समेत बन्द भएका स्थानीय बासिन्दाले बताएका छन् । मंसीरमा भएको हिमपातबारे आफ्नो अनुभव सुनाउँदै धलौनका ९६ वर्षीया वृद्ध शिद्धु बोहरा भन्छन, ‘२०५१ साल तिर पहिलो पटक मंसीर महिनामा हिमपात भएको थियो, त्यसको ठिक २५ वर्षपछि यसपटक मंसिरमा हिउँ पर्यो।’ सधै पुषको अन्तिम साता तथा माघ महिनामा हिमपात हुने गरेको भएपनि यो वर्ष चाँडो हिमपात भएको उनले सुनाए।
बाटोमा बाक्लो हिउँ जमेका कारण एक गाँउबाट अर्को गाँउसम्म जान सक्ने अवस्था नरहेको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए। हिमपातका कारण यहाँका सरकारी संघसंस्थाहरु समेत बन्द भएको बताउँदै उनले बाटो खोल्नका लागी गाँउपालिकाले पहल थाल्ने प्रयास गरिरहेको बताए।