सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा यसकारण मेसु फेर्न चाहन्छ सामाजिक विकास मन्त्रालय

२०७६ मंसिर २८, ०३:३३ नवराज पनेरु

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, ११ औँ तहका डाक्टरलाई हटाएर नवौँ तहका डाक्टरलाई सेती प्रादेशिक अस्पतालमा मेडिकल सुपरिडेन्ट (मेसु) बनाउने कसरतमा जुटेको महिनौ भयो। यद्यपी अहिले सम्म मन्त्रालयले ११ औँ तहका डाक्टर हेमराज पाण्डेयलाई मेसुबाट हटाउन भने सकेको छैन्।

पाण्डेयलाई मेसुबाट हटाउनका लागि चलखेल हुनुको मुख्य कारण अस्पतालले प्रदेश सरकारबाट पाउने बजटे नै हो। चालु आर्थिक बर्षमा सिटिस्क्यान मेसिन खरिदका लागि मात्रै सेती प्रादेशिक अस्पतालले साढे ८ करोड बजेट पाएको छ। अहिले सिटिस्क्यान मेसिन खरिद प्रक्रिया अगाडी बढाउने तयारीमा प्रादेशिक अस्पताल जुटेको छ।

‘सिटिस्क्यान मेसिन खरिदका लागि मन्त्रालयले साढे ८ करोड बजेट विनियोजन गरेपनि उक्त मेसिन खरिदमा बढीमा ५ करोड मात्रै खर्च हुन्छ,’ समाचार स्रोतले दिनेश खवरलाई भन्यो, ‘उक्त मेसिन खरिद गर्दा साढे तीन करोड जोगाउने र सो वापत आफुलाई अस्पतालको मेसु बनाउनपर्ने भन्दै एक जना अस्पतालकै डाक्टरले सामाजिक विकास मन्त्रालयलाई प्रस्ताव राखेपछि मेसु हटाउने चलखेल सुरु भएको हो।’

साढे तीन करोड रकम कमिसन वापत मन्त्रालयमा बाँडफाड गर्ने सहमती भएको दावी स्रोतको छ। सिटिस्क्यान मेसिन खरिद मात्रै होईन, अहिले सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य तर्फको एक अर्व १९ करोड बजेट खर्च गर्ने जिम्मेवारी छ। तर उक्त बजेट मन्त्रालयले सोझै कार्यान्वयन गर्न भने पाउँदैन्।

गत बर्ष मन्त्रालय स्वयमले खरिद प्रक्रिया अगाडी बढाएकोमा सबै खरिद प्रक्रिया विवादित मात्रै बनेका थिएनन्, मन्त्रालय विरुद्ध अख्तियार र विभिन्न निकायमा उजुरी पर्ने क्रम पनि बढेको छ। त्यसैले यस बर्ष सम्वन्धित अस्पताल र प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रलाई औषधी र उपकरण खरिदको जिम्म्मेवारी दिईएको छ।

स्वास्थ्य तर्फको बजेटमा सबैभन्दा बढी बजेट पनि सेती प्रादेशिक अस्पतालकै लागि बिनियोजन भएको छ। त्यसैले सेती प्रादेशिक अस्पतालले बजेट कार्यान्वयन गर्दा मन्त्रालयका कर्मचारी, मन्त्रीका स्वकिय सचिवालयका कर्मचारी र मन्त्रीसम्म पनि कमिसन बुझाउने टीम तयार पार्नैकै लागि सामाजिक विकास मन्त्रालय मेसु परिवर्तन गर्ने कसरतमा जुटेको आरोप लागेको छ। 

अस्पतालको अहिलेको नेतृत्व प्रक्रिया मिचेर मन्त्रालय सम्म कमिसन पुगाउनका लागि तयार नभएपछि सामाजिक विकास मन्त्रालयले ११ औँ तहका डाक्टरलाई हटाएर नवौँ तहका डाक्टरलाई पनि मेसुको जिम्मेवारी दिने मनसाय बनाईसकेको छ। हुन त सेती प्रादेशिक अस्पतालमा डाक्टर हेमराज पाण्डेयलाई मेसुको जिम्मेवारी सामाजिक विकास मन्त्रालयले नै दिएको हो। यद्यपी सो समयमा मन्त्री भने दीर्घ सोडारी थिए। सुरुवातमा मेसु बन्ने ईच्छा नदेखाएका पाण्डेय जिम्मेवारी दिएपछि भने अस्पतालको सेवा सुधारका लागि तल्लिन भएका थिए। 

मेसु हटाउने चलखेलको विषयमा दिनेश खवरले सोधेको प्रश्नमा डाक्टर पाण्डेयले भने– ‘अस्पतालको सेवा सुधारका लागि मैले धेरै प्रयास गरेको छु। कहिकतै म बाट पनि कमजोरी भएको छ भने कारवाहीका लागि तयार छु।’ 

नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्य भरतवहादुर खड्काले सामाजिक विकास मन्त्रालय भ्रष्टाचारमा लिप्त भएकोले अस्पतालमा नेतृत्व फेर्ने तयारीमा जुटेको आरोप लगाए। उनले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिक हस्तक्षेप नसुहाउने बताए। मन्त्री कृष्णराज सुवेदीको स्वकिय सचिवालयकै कर्मचारी ९ वटै जिल्लाबाट कमिसन संकलन गरिरहेको आरोप पनि उनले लगाए।

सेती प्रादेशिक अस्पतालमा मन्त्रिपरिषद्को निर्णयबाट नै विकास समिति गठन भईसकेको छ। विकास समितिको अध्यक्षको जिम्मेवारी पनि सत्तारुढ दल नेकपाका नेता तथा तत्कालिन एमालेबाट धनगढी उप–महानगरपालिकामा मेयरमा पराजित दुर्गा जोशीलाई दिईएको छ।

अहिले अस्पताल विकास समितिका सदस्य पनि नेकपा निकटकै छन्। अव अस्पतालको प्रशासकिय नेतृत्व पनि आफु अनुकुल भए बजेटमा मनोमानी गर्न सजिलो हुने भन्दै सामाजिक विकास मन्त्रालय नेतृत्व फेर्ने कसरतमा लागेको आरोप धेरैको छ।

 यता अस्पताल विकास समितिका अध्यक्ष जोशीले भने मेसु फेर्नका लागि भईरहेको चलखेलका विषयमा आफुलाई जानकारी नभएको बताए। ‘अस्पतालमा मेसु कस्लाई बनाउने ? भन्ने जिम्मेवारी विकास समितिको होईन,’ अध्यक्ष जोशीले दिनेश खवरलाई भने, ‘सामाजिक विकास मन्त्रालयले क्षमता र योग्यता अनुसार मेसु बनाउन सक्छ।’

यता प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अस्पतालको सेवा सुधारका लागि सबैभन्दा बढि समय दिने नेतृत्व आवश्यक रहेको जनाएको छ। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बिधी विधान अनुसार काम गर्ने कर्मचारीलाई कुनै समस्या नभएको बताए।

‘अस्पताल वा मन्त्रालय भित्रै पनि प्रक्रियागत रुपमा काम गर्ने कर्मचारीलाई हटाउनका लागि कुनै चलखेल हुँदैन्,’ मन्त्री सुवेदीले भने, ‘कार्यालयमा समय दिन नसक्ने र प्रक्रिया मिचेर काम गर्ने कर्मचारीलाई भने समस्या छ।’
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस