सुदूर नेपाललाई विश्वसँग जोड्दै

तरकारीमा आत्मनिर्भर बनाउन ‘एक घर एक करेसाबारी’

। फोटो स्रोत ।
२०७६ मंसिर २६, ०८:२७

स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ। नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत समेट्ने योजनासहित कामको थालनी गरिएको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताए। “नगरभित्र २९३ टोल विकास संस्था छन्। प्रत्येक टोलमा एक÷एक वटा नर्सरी स्थापना गर्दै जानेछौँ”, उनले भने “नर्सरी स्थापना गर्नका लागि आवश्यक तालीम दिएका छौँ।

बीउबिजन किन्न र नर्सरी व्यवस्थापनका लागि प्रत्येक टोललाई खर्च पनि दिन्छौँ।” टोल÷टोलमा स्थापना गरिएका नर्सरीबाट प्रत्येक घरलाई निःशुल्क १०÷१० वटा विभिन्न प्रजातिका बिरुवा÷बेर्ना उपलब्ध गराउनुपर्ने उनले बताए।

“एउटा घरलाई निःशुल्क १० वटा बिरुवा उपलब्ध गराउने र त्योभन्दा बढी आवश्यक परेमा कृषक आफैँले नर्सरीबाट मूल्य तिरेर लैजानुपर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “यसले गर्दा प्रत्येक घर यस अभियानमा सहभागी हुने र घरमै कुनै न कुनै तरकारी बाली लगाउन थाल्ने भएकाले ताजा तथा अर्गा्निक तरकारी उत्पादन भई तरकारीमा आत्मनिर्भर बनाउन सकिने छ।” 

‘आफ्नो काम आफ्नै रोजगार–कृषि पर्यटन निर्माण हाम्रो आधार’ भन्ने नाराका ‘एकघर एक करेसाबारी’ अभियानमा नगरपालिकाका टोलवासीको सक्रिय सहभागिता रहेको कृषि कार्यक्रमका सल्लाहकार खेमनारायण चापागाईले बताए। “प्रत्येक टोल–टोलमा मौसमी तथा बेमौसमी तरकारीको बेर्ना उत्पादन हुन्छन”, उनले भने। “टोलमा रहेका प्रत्येक घरले निश्चितमात्रामा बेर्ना निःशुल्क पाउँछन् र अन्य आवश्यक परेमा किन्नुपर्ने हुन्छ।”

बजारबाट तरकारी किनेर खाने प्रवृत्तिको विकास भइरहेका बेला नगरवासीलाई समयानुसारका तरकारी घरमै करेसाबारी निर्माण गरी लगाउने बानीको विकास मात्रै गर्न सके पनि यो अभियान प्रभावकारी हुने दाबी कृषि सल्लाहकार चापागाईको छ। व्यावसायिकरुपमा तरकारीखेती गर्नै नसके पनि थोरै परिश्रमले आफ्नो घर परिवारलाई आवश्यक पर्ने तरकारी घरकै करेसाबारीमा उत्पादन गर्न सकेको खण्डमा आर्थिक बचत तथा ताजा र प्राङ्गारिक तरकारी खानाले स्वास्थ्यमा समेत फाइदा पुग्ने पुतलीबजार नगरपालिकाले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस