सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री सालिन कि लाचारी ?

२०७६ मंसिर २५, ०४:५० जनक विष्ट

म : नमस्कार मुख्यमन्त्री ज्यू

मुख्यमन्त्री : नमस्कार, को बोल्दै हुनुहुन्छ ?

म : दिनेश एफएमबाट जनक विष्ट बोल्दैछु मुख्यमन्त्री ज्यू, एउटा विषयमा प्रतिक्रिया लिनुपर्ने थियो समाचारका लागि त्यसैले....

मुख्यमन्त्री :भन्नुस् के थियो ?

म :मुख्यमन्त्रीमा नियुक्त भएपछि आफ्नै प्रदेशमा रोजगारीको व्यवस्था गर्ने र मजदुरीका लागि भारत जानु पर्ने बाध्यता हटाउछु भन्नुभएको थियो, तर अहिले भारत जाने क्रम त झनै बढ्यो के कारणले होला ?

मुख्यमन्त्री : अहिले म मिटिङमा छु पछि गर्नुस् है।

प्रश्न सोध्नु अघि भन्नुस, के थियो भन्नुभएका मुख्यमन्त्री भट्टले प्रश्न सोधिसकेपछि म मिटिङमा छु पछि गर्नुस भन्दै फोन काटेको त्यो पहिलो पटक भने थिएन्। त्यसअघि र त्यसपछि पनि मैले धेरै पटक उहाँलाई समाचारकै लागि फोन गरे, भेटेर प्रतिक्रीया माग्ने प्रयास गरे। तर म कहिल्यै सफल भएन, अथवा भनौ मलाई मुख्यमन्त्री ज्यूले सफल हुन दिनुभएन्।

मुख्यमन्त्री ज्यूबाट प्रतिक्रीया नपाउने समस्या मेरा मात्र हैन, अन्य दिनेशकर्मी लगायतका धेरै पत्रकारको पनि हो। धेरैलाई लाग्न सक्छ, अस्थायी राजधानीमै बस्ने पत्रकारले मुख्यमन्त्रीको प्रतिक्रिया लिन फोन नै किन गर्नुप¥र्यो, सोझै कार्यालयमा गएर भेटे त भइहाल्यो नी।

यति भन्दै गर्दा के धनगढीका पत्रकार मुख्यमन्त्रीको प्रतिक्रिया माग्न कार्यालयमै नपुगेका होलान ? पक्कै होईन्। तर मुख्यमन्त्री ज्यूको कार्यालयमा प्रतिक्रिया पाउने कुरा त कल्पना मात्र गर्न सकियो, पत्रकारले उहाँको अनुहार समेत हेर्न नमिल्ने समस्या छ भन्दा तितो लाग्न सक्छ। वास्तविकता यही हो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको गेटदेखि उनको कार्यकक्ष सम्म बनाईएका अनेक घेरामै अल्झीएर फर्किनु परेका धेरै घटना छन्। कतिपयलाई लाग्न सक्छ, समाचार बनाउँदा मुख्यमन्त्रीकै प्रतिक्रिया किन लिनुप¥र्यो ? सरकारले प्रवक्ता तोकेकै छ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहबाट मैले धेरै पटक राजनीतिक नेतृत्वसँग जोडिएका विषयमा प्रतिक्रिया माग्दा मुख्यमन्त्रीबाटै लिनुपर्ने सुझाव पाएको छु। तर मुख्यमन्त्री त्रिलोचन भट्टको समस्या पूरानै छ।

नागरिकलाई सुसुचित गर्ने पत्रकारले प्रतिक्रिया माग्दा पनि अस्वीकार गर्ने हाम्रा मुख्यमन्त्री ज्यूले पत्रिकामा बिहान बिहानै मुड फ्रेस हुने समाचार कसरी पढ्न पाउने ? मुख्यमन्त्रीले मंगलबार धनगढीमा आयोजित कार्यक्रममा भन्नुभएछ, ‘बिहान पत्रिका पढ्दा दिनभरी मुड अफ हुन्छ।’ तर मुख्यमन्त्री ज्यूले यति भन्दै गर्दा दैनिक पत्रिकाले मुड फ्रेस नभएर सूचना र समाचार दिने कुराको हेक्का राखेको देखिएन।

मुख्यमन्त्रीको उक्त भनाईप्रती लक्षित गर्दै केही अग्रज पत्रकारले सामाजिक सञ्जालमा स्टाटस नै लेखेका छन्। धनगढीको सुदूर सन्देश पत्रिकाका प्रकाशक, सम्पादक हेमन्त पौडेलले मुख्यमन्त्रीको सोही भनाईलाई लक्षित गर्दै मंगलबार दुईवटा स्टाटस लेखे।

पहिलो स्टाटसमा पौडेलले लेखेका छन्, ‘सुदूर पश्चिम् प्रदेश सरकारका मुख्यमन्त्रीको कुरा :नाच्न नजान्ने आगन टेढो जस्तो भयो। आफुले काम गर्न नसक्ने अनि पत्रकारलाई दोष !’ त्यसको एक घण्टापछि पोष्ट गरिएको अर्को स्टाटसमा ‘मुड फ्रेस गर्न त मनोरन्जन दिने पत्रिका पढ्नुपर्छ दैनिक अखवारले त सूचना दिने हुन जहा जे हुन्छ त्यही  दिने हुन :मुख्यमन्त्री ज्यु !’

बाह्रखरीमा कार्यरत पत्रकार केशव सावदले पनि मुख्यमन्त्रीको सोही भनाईलाई लक्षित गरी व्यङग्य गर्दै फेसबुकमा लेखे, ‘बिशेष गरि धनगढीका पत्रकारले मुख्यमन्त्रीज्यूको मुड अफ नहुने गरि जय जयकारवाला समाचार लेख्दिनुस है।’ लोकान्तरका पत्रकार गणेश भट्टले मैले शेयर गरेको समाचारमा कमेन्ट गर्दै लेखे,‘शुक्रवार, साप्ताहिक र सम्पूर्ण पत्रिका पढ्न भन्नुहोला। त्यसमा टन्न मनोरञ्जन हुन्छ।’

मुख्यमन्त्रीको उक्त अभिव्यक्तिपछि काठमाडौँमै बसेर पत्रकारिता गरिरहेका सुदूरपश्चिमका साथीहरुले पत्रकारलाई पनि सुझाव दिएको देखियो। ‘त्यसो सकारात्मक पनि लेख्ने गरौँ नत’ एभरेष्ट दैनिकका पत्रकार लोकेश धामीले लेखेका छन्। “के एउटा काम पनि सकारात्मक नै गरेका छैनन् र ? यो तरिकाबाट पनि बुझ्न सक्छौँ न”

धामीको सुझाव ग्रहणयोग्य छ। फेरी प्रश्न उठ्छ के धनगढीका पत्रकारले अहिले सम्म एउटा पनि सकारात्मक समाचार लेखेका छैनन् र ? की प्रदेश सरकारले त्यस्तो काम नै गरेको छैन् ? दुवै जिज्ञाशाको जवाफ भेटाउन सकिन्छ। केही महिना अघि मात्र दिनेश एफएमले सूचनाको हक प्रयोग गर्दै सुदूरपश्चिमका सबै मन्त्रालयमा एउटा निवेदन दर्ता गरेको छ।

धेरैलाई यो कुरा थाहा नहुनु पनि सक्छ। उक्त निवेदनमा विशुद्ध प्रदेश सरकारले हाल सम्म गरेका उदाहरणीय र नमूना कामको विवरण माग गरिएको थियो। तर त्यो निवेदनको सुनुवाई अहिले सम्म भएको छैन्। यद्यपी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयले केही योजनामा बजेट खर्च गर्नुलाई उदाहरणी कामको सूचीमा राखेर सूचना उपलब्ध गराएका छन्।

दुवै मन्त्रालयले उपलब्ध गराएको सूचनाका आधारमा यसअघि नै समाचार सम्प्रेषण भइसकेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले नेतृत्व गरिरहेको सुदूरपश्चिम सरकार कतिको पारदर्शी छ र सुशासन कायम गरिरहेको छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ।

जबकी सरकारका उदाहरणीय काम के छन् भनी माग्दा वास्ता गरिदैन् र सूचना नदिनुले दुई कुराको आकलन गर्न सकिन्छ, पहिलो प्रदेश सरकार सुशासन प्रवद्र्धन गर्न चाहदैन्, दोस्रो उसले अहिले सम्म उदाहरणीय काम नै गर्न सकेको छैन्। अनी कसरी हुन्छ हाम्रा मुख्यमन्त्री ज्यूको मुड फ्रेस। मुख्यमन्त्री कार्यालय सहितका मन्त्रालयमा दिनेश एफएमले हाल सम्म सार्वजनिक महत्वका सूचना माग गर्दै दर्जनौँ निवेदन दर्ता गरिसकेको छ।

त्यसमा सबैभन्दा बढि सुनुवाई गर्ने कृषि मन्त्रालय हो। सोमबारको कुरा हो, जर्नालिष्ट अफ कैलालीको फेसबुक ग्रुपमा पत्रकार श्रवण देउवाले एउटा जानकारी मुलक सूचना पठाए। सूचनामा भनिएको थियो, ‘नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रदेश सदस्यहरु प्रदेशसभा संचालनका लागि दबाब दिन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन अहिले १२ बजे बार्ता छलफलको कार्यक्रम रहेको जनकारी गराउदछु। साथीहरुलाई समाचार संकलनका लागि सहजताका लागि बैठकपुर्व भिडियो र फोटो खिच्न दिने वातावरण मिलाईएको छ।’

लगत्तै पत्रकार महेन्द्र बमले ग्रुपमै लेखे, ‘मुख्यमन्त्री कार्यलयमा गएर फोटो र भिडियो खिच्न पाइने तर मुख्यमन्त्रीको बाइट (प्रतिक्रिया) लिन चै अमेरिकी राष्ट्रपतीको भन्दा गाह्रो हुने अवस्थालाई सहज बनाउन नसक्ने अध्यक्ष ज्युले कार्यक्रम बारे खबर नगरेकै राम्रो हुन्थ्यो।’ देउवा प्रेस युनियन कैलालीका अध्यक्ष समेत हुन्। तर महेन्द्र बमले जस्तै धनगढीका अधिकांश पत्रकारले मुख्यमन्त्रीको प्रतिक्रिया नपाउने समस्या खेप्नुपरेको छ।

अनी तीनै मुख्यमन्त्रीले मिडियालाई पाठ सिकाउन थाल्छन्। तर चर्चा हुने गरेको छ, मुख्यमन्त्रीको सालिनताको। धेरैले अझै बुझ्न सकेका छैनन्, मुख्यमन्त्री भट्ट सालिन हुन् भन्ने कुरा। तर सालिन मुख्यमन्त्रीमा यति धेरै लाचारीपन कहाँबाट आयो? के सार्वजनिक पद धारण गरेको मान्छेलाई सालिनताको विज्ञापन गरी लाचारीपन प्रर्दशन गर्न छुट छ ?

मुख्यमन्त्रीको सालिनता भित्र लुकेका धेरै लाचारीपन मध्ये सुशासन पनि एक हो। नागरिकका लागि सूचना र प्रतिक्रिया माग्दा नदिने मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममा भने पत्रकारको खेदो खन्दै आएका छन्। उनले प्रायजसो मिडियाकर्मीलाई समाचारको पाठ सिकाउने गरेका छन्। जुन पाठ मंगलबारको कार्यक्रममा पनि पढाएरै छोडे।

मुख्यमन्त्रीको त्यो पाठ मंगलबार सुदूरपश्चिम बाहिरका प्रदेशबाट आएका पत्रकारले पनि सिकेर गए। भावनामा बगेर मिठो भाषण गर्दा कहिलेकाँही शासक आफै मजाकको पात्र बन्छन् भन्ने उदाहरण हाम्रा मुख्यमन्त्री बन्दै गएका त छैनन् ? मुख्यमन्त्री भट्टले पदभार सम्हालेका बेला खुवै चर्चा पाए।

स्थानीयदेखि राष्ट्रिय स्तरका मिडिया भट्टमय भए। भावनामा बगेर भट्टले भनिदिए, ‘अब मजदुरीका लागि सुदूरपश्चिमबासीले भारत जानु पर्दैन्।’ तर उनको त्यो कुरा अहिले झुठो सावित भईदियो। रोजगारीका अवसर सिर्जना गर्ने विषय टाढा रह्रयो, मजदुरी गर्न भारत जानेहरुको विवरण संकलनको काम पनि व्यवस्थित बनाउन सकेका छैनन्। सीमानाकामा स्थापना गरेको हेल्प डेस्क लथालिङ छ। अब तपाई आफै भन्नुस् मुख्यमन्त्री ज्यू,‘ बिहान पत्रिका पढ्दा मुड फ्रेस हुने समाचार कहाँबाट छाप्ने ?’

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस