सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम पन्थ कठिन

२०७६ मंसिर २४, ०९:५२

ओशो

एडोल्फ हिटलरको जीवनी तिमीहरूले पढ । पढ्नै पर्छ । जसरी हामी कैयौँ महात्माहरूको जीवन पढ्न रुचाउँछौँ, पढ्छौँ र पढ्नै पर्छ, उसरी नै हिटलरजस्ता कुख्यात व्यक्तिको जीवनी पनि पढ्नु पर्छ । उनीहरूका बारेमा पढ्दा हामीले ठूलो अन्तर्दृष्टि पाउन सक्छौँ, पाउँछौँ । एडोल्फ हिटलर प्रेम खोजिहिँड्यो तर कहिल्यै पाउन सकेन । चाहेजस्तो प्रेम पाउन नसकेका कारण उसको हृदयमा घृणा भरियो र जीवनभर ऊ आफ्नो घृणाले नै जीवन चलाउन थाल्यो । ऊ चित्रकार बन्न चाहन्थ्यो तर बन्न सकेन। ऊ सिर्जनशील भइदिएको भए सायद संसारले प्रख्यात चित्रकार पाउँथ्यो होला तर उसको प्रेम विध्वंसात्मक बन्न पुग्यो। 

तिमीहरू जो तथाकथित महात्मा भन्छौ, उनीहरूलाई नियालेर हेर । के पाउँछौ भने उनीहरूको जीवनको सार–तत्त्व पनि परमात्मासँग गर्नुपर्ने प्रेम कम र संसारलाई बढी नै घृणा गरिरहेको पाउँछौ । प्रेमको साटो उनीहरूले घृणा नै खोजेका छन्। 

 साँचो प्रेमी मन्दिरका खम्बाजस्तै हुन्, ज्यादै नजिक पनि हुँदैनन् ती, किनभने धेरै नजिक भए पनि मन्दिर भत्किन्छ । धेरै टाढा पनि हुँदैनन् ती, किनभने त्यसो हुँदा पनि मन्दिर भत्कने डर हुन्छ।      – खलिल जिब्रान
कुनै मानिस परमात्माको प्रेम महसुस गरेर आनन्दले नाच्छ, ध्यान गर्छ, भक्ति गर्छ र कुनै मानिस संसारलाई घृणा गर्दै मन्दिरमा गजधम्म बसिरहन्छ । यी दुवै एकै किसिमका मानिस होइनन्, यिनीहरूको पहलु बेग्लै, यिनीहरूको प्रेरणा बेग्लै । एउटा रुग्ण छ र अर्को स्वस्थ । जो मानिस संसारालई घृणा गरेर मन्दिरमा बस्छ, उसले मन्दिरलाई पनि फोहोर पार्छ। उसको जीवनको तत्त्व नै घृणा हुन्छ । जो मानिसले संसारको प्रेमलाई देख्यो, बुझ्यो, पायो त्यही प्रेमले बिस्तारै बिस्तारै उसले परमात्मासम्म पुग्ने बाटो पायो । यही प्रेमको सहयोगले उसले बिस्तारै के बुझ्यो भने यो सारा जगत् प्रेमकै तत्वले त बनेको हो । यो सारा जगतका पछाडि कुनै प्रेमको विराट तत्व उभिएको छ। म त्यसलाई खोज्छु । म ससाना थोपामा किन अड्किऊँ ? म पूरै सागर किन हासिल नगरुँ ?

जसले यस जगतको प्रेमलाई अनुभव गर्दै परमात्माको खोजमा गयो, त्यो मानिस जहाँ बस्छ, त्यहाँ मन्दिर बन्छ । ऊ जहाँ बस्छ, त्यो तीर्थ हुन्छ, त्यही काशी बन्छ, त्यही कैलाश बन्छ । जो मानिस संसारलाई घृणाले भरेर प्रेम गर्न सकेन, केही दिन सकेन, केही पाउन सकेन र बिस्तारै संसारबाट उद्विग्न भयो, उसको ऊर्जा बयलियो, अमिलियो, उसको प्रेम विकसित हुन पाएन अनि उसको प्रेम विषमा परिणत भयो । उसको सिर्जनात्मक शक्ति विध्वंसात्मक बन्न पुग्यो। त्यही मानिस मन्दिर, चर्च र मस्जिदमा गएर बस्यो भने मन्दिर, चर्च र मस्जिद पनि उदास हुन पुग्छन्। 

एक पटक गहिरिएर हेर त, तिमी नजिकको मन्दिर, मस्जिद र चर्च कति उदास छन् । जो मानिस त्यहाँ बसेका छन्, उनीहरूले प्रेमको खोजी गरेका थिए तर सफल भएनन् अनि घृणाको खोजी गरेर त्यो हासिल गरेका छन्। 

प्रेमबाट कहिल्यै पनि बच्ने प्रयास नगर्नू, प्रेमबाट नडराउनू । प्रेममा पौडी खेल्नु । प्रेमले बडो पीडा दिन्छ, प्रेमले तिमीलाई पूरै जलाउँछ, प्रेम अग्नि बन्न पुग्छ तर अग्निबाट भएर कोही कुन्दर बन्छ, कुनै शुद्ध स्वर्ण बन्छ । प्रेमको अग्निबाट नडराउनू, नभाग्नू, नत्र आधा अधुरो माटोले भरिएको हुनेछौ। 

जबसम्म तिमीले आफूभित्रको प्रेम लुकाएर, दबाएर बस्छौ तिमी अँध्यारोमै हुन्छौ । जागृत होऊ, प्रेमको दियो बाल। जसले प्रेमलाई निन्दा गरे, उनीहरूले तिमीलाई विषाक्त पारेका छन् । जसले प्रेमलाई निन्दा गरेका छन्, तिनले तिमीलाई प्रेमबाट भयभित तुल्याएका छन् । त्यस प्रेमका कारण तिमी एक्लो भएका छौ । यही नै चुनौती हो । यही नै अभियान हो मनुष्यको । यस संसारलाई प्रेमले नै जित्नु छ । प्रेमले यस देहलाई जित्नु छ । प्रेमले नै यी सबै इन्द्रियहरूलाई जित्नु छ। प्रेमले यस मनलाई जित्नु छ । परलाई प्रेमले नै जित्नु छ र स्व पाउनु छ । प्रेम सूली हो र प्रेम सिंहासन पनि हो । अनि जो सूलीमा चढेको छ, उही नै सिंहासनमा पुग्छ।

पहिलो प्रेमः प्रेममा फँस्नु (फलिङ इन् लभ)

दोस्रो प्रेमः प्रेममा हुनु (बिइङ इन् लभ)

तेस्रो प्रेमः प्रेम नै बन्नु (बिइङ लभ)

०००

साँचो प्रेमी मन्दिरका खम्बाजस्तै हुन्, ज्यादै नजिक पनि हुँदैनन् ती, किनभने धेरै नजिक भए पनि मन्दिर भत्किन्छ । धेरै टाढा पनि हुँदैनन् ती, किनभने त्यसो हुँदा पनि मन्दिर भत्कने डर हुन्छ ।

– खलिल जिब्रान

कमेन्ट लोड गर्नुस