सुदूरको आँगन (कविता)
वसन्ती जोशी
सुन्दर शान्त सुदूर थली, पश्चिम नेपाल
शीरमा हाँसी बसेका देख्छु, अपि र सैपाल ।
खप्तड हाँस्छ खप्तड फूल्छ, खप्तड गाउँदछ
प्रकृतिसँग रमाउने मन, आनन्द पाउँदछ ।
चैतोलो हुड्के छलिया नाच, होली र सखिया
विभिन्न भाषा सुन्नु छ भने, पश्चिम छ भन्दिया ।
गौराको सगुन माघीको ढिक्री, एउटै थालमा
मिल्दछन् पैतल अनेकमा एक, डेउडाका चालमा ।
ढिँडो र घोगी खाए निरोगी, बटुका बाबर
तरुल तैकुन खानमा मिठो, कोदो र फाँपर ।
पहाडको बुटी हिमालको हिउँ, तराईको उब्जनी
बग्छन् कञ्चन सेती र काली, के कुरा कम छ नि ।
संस्कृति, कला, भाषा र भेष, साहित्य सम्पदा
भजन, फाग, मांगल गीत, सम्पन्न सर्वदा ।
आफ्नै छ सान आफ्नै छ मान, आफ्नै छ गरिमा
सुदूर भूमि सुन्दर लाग्छ, नेपालभरिमा ।
घोडा र घोडी जाख्खोर ताल, सुर्माको सौन्दर्य
सुरिलो स्वरमा अनेक चरा, गाउँदछन् माधुर्य ।
बेहडा बाबा शिवपुरी धाम, आस्था छ तमाम
पाइन्छ फल भन्दछन् सबै, अमृत समान ।
ती शैलेश्वरी ती उग्रतारा, मालिका कालिका
सुपको आँगन देवको थलो स्वर्गको वाटिका ।।
जोशी एरिष्टो माध्यमिक विद्यालय धनगढीमा कक्षा १० मा अध्ययनरत छिन्।