सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालका लागि पठाइएका मेसु नपुग्दै अवकाशपत्र पुग्यो

२०७६ मंसिर २३, ०४:३८ आशिष मल्ल

सुदूरपश्चिमको पहाडि जिल्लाको केन्द्रविन्दु डडेल्धुरामा नेपाल सरकारबाट कायम गरिएको डडेल्धुरा अस्पतालमा विगत लामो समयदेखि एघारौ तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पठाइएको छैन्। नेपाल सरकारले पछिल्लो समय समायोजन प्रक्रियाको थालनी गरे पश्चात भने अस्पतालमा प्रमुख मेसु आउने झिनो आशा थियो। तर त्यो आशा निराशामा बढलिएको छ, डडेल्धुरा अस्पतालमा पठाइएका प्रमुख मेसु नपुग्दै उनको अवकाश पत्र पुगेको अस्पताल स्रोतले बताएको छ। 

स्रोतका अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत रहेका एघारौ तहका प्रमुख मेसु डा. कृष्णप्रसाद खनाललाई डडेल्धुरा अस्पतालमा समायोजन गरेको थियो। तर डा. खनाल अस्पतालमा हाजिर हुन नपाउदै मन्त्रिस्तरको अर्को निर्णयअनुसार अनिवार्य अवकाशको पत्र डडेल्धुरा अस्पताललाई थमाइएको छ। 

निजामती किताब खानाले डा. खनालको उमेर मिति २०७६ मंसीर १ गते ६० वर्ष पुगेको जनाएपछि उनलाई मन्त्रिस्तरको निर्णय अनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ४५(१) मा व्यवस्था भए बमोजिम मिति २०७६ मंसीर २ गतेदेखी लागु हुनेगरि अनिवार्य अवकाश दिइएको हो। 

विगत दूई वर्षयता संघिय सरकारको मातहत रहेको डडेल्धुरा अस्पतालमा न त अस्पताल विकास समिति बनेको छ, न त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नै पठाइएको छ। सरकारले गर्ने व्यवस्थापनको चपेटामा परेको डडेल्धुरा अस्पताल थला परेको छ। भने सुदूरपश्चिमका लाखौं गरिब जनताहरु सरकारले गरेको पराय व्यवहारबाट पिडा भोगिरहेका छन्। हाल विशिष्ट विशेषज्ञ अस्पतालमा नाम दर्ज गरिएको डडेल्धुरा अस्पतालमा २ जना मात्रै मेडिकल अधिकृत स्थायी दरबन्दीमा कार्यरत देखिन्छन्।

अस्पतालका सूचना अधिकृत टंक प्रसाद पन्तकका अनुसार अस्पतालमा कन्सल्टेण्ड चिकित्सक १९ जना र मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीलगायत रहने गरी १०९ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो। तर अस्पतालमा ती दरबन्दी पुर्ति भएका छैनन्। 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस