पाखे !
‘सरी। आई थिङ्क मैले बुक रोडमा ड्रप गरेँ। म सर्च गर्न जान्छु है।’
कक्षा नौ-दशमा पहिलो घन्टीमा नेपाली विषय पढाइ हुन्थ्यो। प्रत्येक दिन धेरै कापी बोक्नुपथ्र्यो, त्यसैले किताब राख्न झोलामा पर्याप्त ठाउँ हुँदैनथ्यो। उपाय- कापी झोलामा, किताब हातमा। त्यसरी विद्यालय जाँदा पहिलो घन्टीमा हातमा बोकेर आएको किताबको चाङमा नेपाली विषयको किताब नभेटिँदा एक सहपाठीले बोलेका वाक्य हुन् माथिका।
अहिले यहाँहरूले यो लेखपढिरहँदा पहिलो वाक्यमै कति धेरै अंग्रेजी शब्द थुपारेको रहेछ भन्ने सोच्नुभयो पक्कै। तर कसैका मुखबाट तिनै वाक्य सुन्नुहोस्, सामान्य लाग्छ किनभने हाम्रा कानले यस्तो भाषा स्वीकारिसके। आजकल बोलिने-सुनिने भाषा यस्तै हो, मुख्यगरी हाम्रो पुस्तामा। यो त्यही पुस्ता हो जसले अंग्रेजी शब्द प्रयोग नगरी एक पूर्ण वाक्य बोल्न सक्ने मान्छेलाई ‘पाखे’ को संज्ञा दिन्छ।
यो विशेषांक प्रकाशित गर्नुपूर्व संयोजकसँग भएको छलफलमा उहाँले भन्नुभयो, ‘नयाँ पुस्ताका लेख मात्र समाविष्ट हुनेगरी एक अंक निकाल्नु छ, विभु। अब मान्छे खोज्न थाल्नुपर्यो।’
लेखपढमा रूचि भएका र अंग्रेजीमा लेखिएका आप्mना रचना सामाजिक सञ्जालमा पोस्ट गरिरहने, आपूmलाई मन परेका पुस्तकबारे चर्चा गरिरहने केहीलाई अवधारणा सुनाउँदा कतिबाट उत्तर आयो, ‘मलाई त नेपालीको नलेज नै छैन। सरी।’
यति भनिरहँदा उनीहरूको आवाजमा गर्व मिसिएको प्रतीत भयो।
अंग्रेजी ६७ देश र २७ गैरस्वायत्त भौगोलिक इकाइको राष्ट्रभाषा हो। चिनियाँ म्यान्डरिन र स्पेनेली बोल्नेको संख्या अंग्रेजी बोल्नेको भन्दा धेरै छ तर विक्षेपणका दृष्टिले अंग्रेजी नै सर्वस्वीकार्य छ। हामीले प्रयोग गर्ने सूचना तथा प्रविधिजन्य यन्त्र तथा उपकरणका लागि प्रोग्रामिङ गर्न चाहिने अधिकांश प्रमुख भाषा अंग्रेजीकै उपज हुन्।अनि, सिक्न पनि सजिलो छ।
त्यसो त नेपाली पनि सिक्न सजिलो छ। त्यसमाथि हामीले दैनिक रूपमा घरपरिवार, साथीभाइसँग कुरा गर्न प्रयोग गर्दै आएको भाषा हो। तर हामी लेख्न र राम्रोसँग पढ्न सिक्न खोज्दैनौँ।
अंग्रेजी जान्नु, त्यसमा पोख्त हुनुलाई नराम्रो भन्न खोजेको होइन। नेपाली नजान्दा गरिने गौरवलाई चाहिँ अपाच्य भनेको।
नयाँ पुस्ताका थप लेखक खोज्दै जानेक्रममा ‘लेख्न त आउँछ तर टाइप गर्न आउँदैन’ भनेर रोमनमा टाइप गरेर पठाउँछु भनी प्रस्ताव राख्ने पनि भेटिए। ‘लेख्न त सक्छु होला तर ह्रस्व-दीर्घ सधैँ बिग्रिन्छ’ भन्ने पनि नभेटिएका होइनन्। त्यसो त ह्रस्व-दीर्घको समस्या हाम्रो पुस्तामा मात्र होइन, हामीभन्दा अघिल्ला पुस्तामा पनि उत्तिकै छ। ‘विद अल ड्यु रिस्पेक्ट टु अल द राइटर्स’, अहिले नाम चलेका ‘राम्रा’ र ‘ठूला’ लेखकका सम्पादन नगरिएका लेख म पढ्न सक्दिनँ।
अंग्रेजी-नेपाली अनुवादमा काम गरिरहेका दिनेश काफ्लेको लेख आयो- सामाजिक सञ्जालमा अन्तक्र्रिया गर्न नेपालीले प्रयोग गर्ने भाषालाई लिएर। गतसाता द काठमाडौं पोष्टमा मा प्रकाशित उक्त लेखमा उनले प्रहार गरेका छन् सामाजिक सञ्जालमा कसैको व्याकरण तथा भाषिक शुद्धतालाई लिएर प्रतिक्रिया दिनेहरूमाथि।कसैले अंग्रेजीमा लेखेका वाक्यका व्याकरण वा संरचना नमिले प्रतिक्रिया दिन तम्सिहाल्ने उनी लेख्छन्, ‘नेपालीमा केही बोल्ने वा लेख्ने क्रममा कोही प्रत्येकपटक व्याकरण सच्च्याइदिन आउँदा भिँmजो लाग्छ।’
औपचारिक रूपमाकेही छापिएर आउँदा त्यसमा शुद्धता खोजिन्छ भने सामाजिक सञ्जालमा भाषिक शुद्धता खोज्दा केको आपत्ति ? ‘आई राइस इट’ जस्ता वाक्य बोल्दा प्रतिक्रिया दिइहाल्ने साथीलाई त्यही कुरा कसैले नेपालीमा लागू गर्दा ‘दिक्क’ लाग्यो। ‘उनकै भाषा’ मा भन्नुपर्दा ‘अनोइङ’ लाग्यो।
यिनै कारणले हामी सबैका जीवनमा, अझ मुख्यगरी अहिलेको पुस्ताका जीवनमा एक होइन, अनेक ‘केदार शर्मा’ को खाँचो छ।
यहाँ पोन्डीचेरीका मेरा एक साथी बंगाली हुन् भने उनकी श्रीमती तमिल। तर तिनलाई लाग्छ, हिन्दीमा जति मिठास अरू कुनै भाषामा छैन। त्यसैले घरबाहिर सबैसँग हिन्दीमा संवाद गर्छन्। तर घरभित्र बोल्दा भने छोरीले पनि सिक्लिन् कि भन्ने डर छ तिनलाई।
आप्mनी सात वर्षे छोरीलाई तिनले न आफूलाई ‘मीठो’ लाग्ने हिन्दी भाषा सिकाएका छन्, न त बंगाली, न तमिल। कस्तो राम्रो अवसरबाट वञ्चित भइन् ती बालिका। अंग्रेजीका साथै तीन भाषा एकैपटक सिकाउन सकिन्थ्यो तिनलाई।
संघी परिवार हो। आफ्ना भएका, नभएका, खोसेका, खोसिएका, खोस्न बाँकी रहेका सबै सम्पदामाथि गौरव गर्नुपर्छ भन्ने कुरा आप्mनो मानसपटलमा कँुदिएको छ भन्ने खोक्रो सोच राख्छ। तर जब आप्mनो भाषाको कुरा आउँछ, दोहोरो चरित्र देखाइहाल्छ। अझ, घरमा आउने पाहुनालाई पनि छोरीका अगाडि अंग्रेजीमा मात्र कुरा गर्न पहिले नै सूचित गर्छ।
ती बालिका पढ्ने विद्यालयमा अंग्रेजी र फ्रेन्चबाहेक अरू भाषा बोल्न वर्जित छ। कतिलाई त यीबाहेक अरू भाषा बोल्न पनि आउँदैन।
त्यसो त काठमाडौँका धेरै बोर्डिङ स्कुलमा अंग्रेजीलाई लिएर आफ्नै नियम छन्। म पढेको स्कुलमा विद्यार्थीले अंग्रेजी बोले-नबोलेको नियमन गर्न एक छुट्टै कर्मचारी खटाइएका थिए। कसैले नेपाली बोलेको भेटे बिहानी सभामा उनी अगाडि लगेर उभ्याइदिन्थे तिनलाई। मेरै साथी पढ्ने अर्को स्कुलमा नेपाली विषयको कक्षाबाहेक अरू बेला नेपाली बोलेमा प्रति शब्द पाँच रूपियाँ जरिवाना तिराइन्थ्यो।
यस्तो अवस्थामा कुखुरा बनाउने, कन्चटको रौँ तान्ने, ढाडमा वा हातमा लट्ठी वा डस्टरले हान्ने त सामान्य भइहाले। हामीमध्ये कतिले त्यो भोग्यौँ होला, नभोगे पनि कम्तीमा सुन्यौँ होला। तर भोगेर-सुनेर के गर्ने ? हाम्रा कानलाई यस्ता कुरा पच्छन्। त्यसैमा त झल्किन्छ हामीले हजारौँ रूपियाँ तिरेर आप्mना बालबच्चालाई अंग्रेजी माध्यममा पढाइ हुने स्कुलमा पठाएको सार्थकता। त्यसैले निर्धारण गर्छ हाम्रो सभ्यता।
पुगनपुग एक वर्ष भयो देशको ‘अग्रणी’ अंग्रेजी दैनिकको जागिर छोडेको। त्यसो त लामो समय काम पनि गरिनँ। तर त्यो छोटो समयले मलाई के सिकाएन ? साप्ताहिकबाट दैनिकमा जाँदा थप के-के गर्ने सिकिनँ कि राम्रो रिपोर्ट कसरी तयार पार्ने सिकिनँ ? आज अलिकति केही लेख्छु वा लेख्न सक्छु भन्ने आत्मविश्वास त्यहीँ विकास गरेको हुँ। त्यसैले कृतज्ञ छु।
यसका साथै पहिलो दिनकै अनौपचारिक कुराकानीमा विद्यालयको नाम, सरकारी हो कि निजी, अंग्रेजी पढाउने गुरु कस्ता थिए जस्ता प्रश्न गर्ने र नेपालीमा क्याप्सन लेखी सामाजिक सञ्जालमा केही पोस्ट गर्दा ‘कस्तो पाखे रहेछ’ भन्ने सन्देश जान्छ भनी सिकाउने सहकर्मीहरूप्रति पनि ऋणी छु।
त्यही कार्यकालमा एक सहकर्मीले भनेका कुरा अझै पनि सम्झन्छु। मेरो इन्स्टाग्राममा नेपालीमा क्याप्सन लेख्ने बानीमाथि मौखिक प्रतिक्रिया व्यक्त गर्दै उनले भनिन्, ‘विभु, दिस डज नट सो योर क्लास। पाखे काम नगर न।’
अंग्रेजी नमिसाई नेपाली बोल्न सक्ने हामीमध्ये धेरैले यस्ता प्रतिक्रिया सुनेका होऔँला। वा, कसैबाट केही न केही प्रशंसा बटुलेका होऔँला। जे होस्, समूहमा कुराकानी हँुदा अंग्रेजी नमिसिएको हाम्रो एक नेपाली वाक्यले हामीलाई आकर्षणको केन्द्र बनाएको होला। अंग्रेजीमा बोल्नु, अनि बोलेको कुरा प्राकृतिक लाग्नु हाम्रो पुस्ताका अनेकौँ विशेषतामध्ये एक हो। तर त्यही कुरा नेपालीमा बोल्दा हामी सामान्य भनी स्वीकार्न सक्दैनौँ। यही सत्य हो।
बरु शुद्ध फ्रेन्च वा जर्मन बोल्न जान्दा कसैले याद नगर्ला तर शुद्ध नेपाली बोल्दा हाम्रो पुस्ताले प्रतिक्रिया दिइहाल्छ। सकारात्मक होओस् वा नकारात्मक।
दोष कसलाई दिने ? केलाई दिने ? हाम्रो शैक्षिक पद्धतिलाई मात्रै ? वा हाम्रा विद्यालयका प्रशासनलाई मात्रै ? वा दुवैलाई ? ती त हाम्रो जीवनमा पछि आएका हुन्।
हाम्रो आधार नै कमजोर भयो। ‘बाबु, वाटर खाऊ, बनाना खाऊ, एप्पल खाऊ’ भनी भर्खर बुभ्mन र बोल्न थालेको बालकलाई सिकाउने हाम्रा अभिभावकले हाम्रो नेपालीको जग बलियो बन्ने दिएनन्। यसै कारण प्रतिस्थापित गर्दै गए ‘द लायन एन्ड द युनिकर्न’ र ‘वान-टु बकल माई सु’ ले हाम्रा ‘ताराबाजी लैलै’ र ‘बस बस हे, बसुन्धरा बहिनी’ लाई।
त्यति मात्र होइन, अहिलेका मानिसका नाम पनि हेरौँ। विलियम, जोन्सन, रिचार्ड, मिसेल। किन र कसरी जन्मँदै गए ‘एन्जेलिना’, ‘क्रिस्टोफर’ र ‘प्याट्रिक’ हरू। अनि, हराउँदै गए ‘अञ्जली’, ‘कृष्ण’ र ‘प्रतीक’ हरू ?
एक भाषाको प्रभाव बढ्दै जाँदा अर्काको प्रभाव घट्दै जाने कुरा स्पष्ट पार्ने ‘फस्र्ट ल्याङ्ग्वेज एट्रिसन’ को सिद्धान्तले उमेरलाई पनि यसपछाडिको कारक तत्व मान्छ। छोराछोरी सानै छँदा दोेस्रो भाषाका साथसाथै मातृभाषा पनि सँगै लैजानमा ध्यान दिनुस्, दुवैलाई एकसाथ उत्तिकै प्रभावकारी ढंगले अघि बढाउन सकिन्छ। पछि गएर सिक्न चाहे पनि सिकिसकेको भाषाको प्रभाव सिक्न खोजेको भाषामा पर्न जान्छ। त्यसैले अहिलेको पुस्ता अंग्रेजीमा सोच्छ, वाक्यगठन पनि अंग्रेजीमा गर्छ र त्यसैलाई नेपालीमा अभिव्यक्त गर्नुपर्दा कति अवस्थामा त उपयुक्त शब्द भेट्नै उसलाई गाह्रो पर्छ।
त्यसैले चार ठाउँ ‘लाइक’ र अन्त्यमा ‘यु नो ?’ नलगाई हाम्रो एक वाक्य पूरा हुँदैन। अमेरिकी वा बेलायती लवजमा बोल्न जाने हामी ठूलै पराक्रम गरेको ठान्छौँ। कसैले एक वाक्य अंग्रेजीमा बोल्दा अमेरिकी हो कि बेलायती लवज, सजिलै छुट्याउन सक्छौँ। हामीलाई लाग्छ, त्यति जाने जीवन सफल भयो। खोइ हामीले जान्न खोजेको ‘श’, ‘ष’ र ‘स’ को भिन्नता ? यी सबको उच्चारण भिन्न हुन्छन् भनी हामीलाई सिकाइएको खोइ त ?किन हामी ह्रस्व र दीर्घको उच्चारण एकै तरिकाले गर्छौँ ?किन हाम्रो जिब्रोले ‘डाडु’ का दुवै ‘ड’ को उच्चारण एक समान गर्छ ? ‘कण्ठ्य’, ‘तालव्य’, ‘मूर्धन्य’, ‘ओष्ठ्य’, ‘नासिक्य’ उच्चारण हामीले सिकेको खोइ ? वा, हामीलाई सिकाइएको खोइ ?
हाम्रो पुस्ताले लेख्न मात्र होइन, ठीक तरिकाले बोल्न पनि जानेन। हामीले आवश्यक नै ठानेनौँ। अंग्रेजी राम्रोसँग जान्नुभन्दा पनि नेपाली नजान्नु हाम्रो शिक्षा र सभ्यताको स्तर मापन गर्ने मापदण्ड बन्दै गए। हामी त्यसैमा रमायौँ।
पुराना साथीहरूसँग बेलाबेला कुरा हुन्छ। सामाजिक सञ्जालले सजिलो बनाइदिएको छ। त्यहीँबाट थाहा पाउँछन् तिनले म कहिलेकाहीँ पत्रिकामा लेख्छु भन्ने कुरा। तर, के लेख्छु भन्ने थाहा छैन तिनलाई।
नेपालीमा लेखिएको मेरो कुनै लेखको ट्विट ‘रिट्विट’ गर्ने साथीलाई सन्देश पठाएँ, ‘पढेर रिट्विट गरिस् कि नपढी ?’
उताबाट जवाफ आयो, ‘नपढी गरेको। सरी, विभु। इट इज अन्नपूर्ण पोष्ट, नट द काठमान्डू पोष्ट।’
अनि, अन्तिममा एउटा स्माइली। -विभु लुइटेल/अन्नपूर्ण