सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाको विकास बजेटमा कर्मचारी र जनप्रतिनिधिको रजाई

२०७६ मंसिर २१, ११:५३ कमल सावद

धनगढी उप–महानगरपालिकाले ग्रावेलको योजना समावेश नगरेपछि वडा नम्बर ४ शिवपुरी टोल (नवादेव)का स्थानीयले प्रती परिवार एक हजारका दरले रकम संकलन गर्दै गत आर्थिक वर्षमा सडक ग्रावेल गरे।

तर अहिले उक्त सडकमा जताततै खाल्डा–खुल्डीले आवातजावत गर्नसास्ती भएको छ। झण्डै, ३० परिवारको बसोबास रहेको शिवपुरी टोल सम्म जाने सडकमा परेका खाल्डा–खुल्डीलाई कारण देखाउँदै विद्यार्थी ल्याउन विद्यालयका बस समेत सो टोलमा जादैनन्। विद्यालय जानकै लागि स–साना बालबालिकालाई कालोपत्रे गरिएको सडक सम्म ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय जयन्ती भट्टले बताईन्। स्थानीयले सडक ग्रावेल गर्न उपमहानगरपालिकाले चासो नदिएको उनले गुनासो गरिन्। उप–महानगरपालिकाको विकास बजेटमा कर्मचारी र जनप्रतिनिधिहरुको रजाई कायमै रहेका कारण टोलमा ग्रावेलका योजना समेत नदिएको स्थानीयको आरोप छ।

शिवपुरी टोलीकै अर्की स्थानीय शारदा क्षेत्रीले टोलमा कुनै पनि विकासका योजना नआएको बताईन्। उनले नजिकै रहेको नवादेव मन्दिरका लागि भने प्रत्येक वर्ष बजेट विनियोजन हुदै आएको बताईन्। ‘विद्यालयका बस पनि टोलमा आउदैनन्।’उनले भनीन्,‘बजार जान पनि चौक सम्म गएपछि मात्र अटो (विद्युतीय रिक्सा) पाईन्छ। ओझा समुदायको कुल देवताको मन्दिरका लागि भने प्रत्येक वर्ष रकम आउने गरेको छ। मन्दिरको विकास मात्र टोलको विकास हैन्। टोलमा विद्युतका पाल छैन्, सडक छैन्।’ उप–महानगरपालिकाले पुँजीगत बजेट पनि निकटकै व्यक्तिलाई बाड्दै आएको आरोप उनीहरुको छ।

नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले आफूखुसी कमिशनको चलखेलमा कुल देवताको मन्दिरमा लाखाँै खर्च गरिदा सडक ग्रावेल गर्न भने आनाकानी गरिएको पाइएको हो। सडक ग्रावेलका लागि एक रुपैँया समेत नदिएको उप–महानगरपालिकाले टोलमा रहेको विशेष समुदायको मन्दिर निर्माणका लागि भने रकम विनियोजन गर्दै आएको आरोप लागेको छ। आर्थिक वर्ष २०७२/०७३ मा देखि नगरपालिकाले प्रत्येक वर्ष मन्दिर निर्माण, मर्मत तथा रंगरोगनका लागि रकम विनियोजन गर्दै आएको छ।

५० हजार, एक लाखका दरले रकम विनियोजन गर्दै आएको उप–महानगरपालिकाले चालु आर्थिक वर्षमा फेरी तीन लाख नवादेव मन्दिर रगंरोगन शिर्षकमा विनियोजन गरेको छ। वडा कार्यालयले ५० हजार विनियोजन गर्दा स्थानीयले विरोध गरेपछि रद्द गरिएकोमा नगरपालिकाले तीन लाख विनियोजन गरेको हो।

तर नमादेव मन्दिर बहुमुखी सेवा केन्द्रका तत्कालिन सचिव तथा वर्तमान सदस्य गिरिराज ओझाले स्थानीयको विरोधको तुक नभएको बताए। उनले मन्दिरमा पुर्जा गर्न कसैलाई रोक नलगाएको बताए। तर मन्दिरमा ताला लगाइएको हुन्छ। कुल देवताको पुजाका दिन मात्र मन्दिरको ताला खोलिन्छ। ‘स्थानीयको नाटक मात्र हो।’ ओझाले भने, ‘मन्दिरमा सबैले तीज, पञ्चमी मनाउँछन््, विवाह गर्न पनि रोकेका छैनौँ।’ उनले भने, ‘मन्दिर निर्माणका लागि आर्थिक सहयोग गर्ने १५ जनाको नाम शिलालेखमा लेखेका छाैँ। केही नगरपालिकाले पनि अनुदान दिएको हो।’

सडकको दुरावस्था भएपनि ग्रावेलका लागि रकम नदिएको भन्दै स्थानीय विरोधमा छन्। उनीहरुले धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को कार्यालयमा धर्ना समेत दिएका थिए। वडा कार्यालयले उप–महानगरपालिकाको कर्यालयबाट रकम विनियोजन भएको बताएको थियो। मन्दिरको रगंरोगनका लागि तीन लाख विनियोजन गरेको उप–महानगरपालिका टोलको सडकको बारेमा भने बेखबर देखिएको छ।

धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले वडामा ग्रावेलको योजना नरहेको बताए। तर ग्रावेलको योजना माग गर्न सक्ने उनले बताए। टोलमा ग्रावेल सडक, विद्युत, खानेपानी लगायतका कुनै पनि विकासका पूर्वाधार नभएको भन्दै स्थानीय आक्रोसित छन्। निर्वाचनको समयमा भोटका लागि मात्र आएका जनप्रतिनिधि फेरी नफर्किएको उनीहरुको आरोप छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस