चुनावको ऋण तिर्न विदेश गएका बझाङका बोहरा बाकसमा फर्किए, ८ वर्षका छोराले दिए दागबत्ती
बझाङ: बझाङको छविसपाथिभरा गाँउपालिका वडा नम्बर ७ का रमेशबहादुर बोहरा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्ष पदका उम्मेद्वार बनेका थिए। तर उनी झण्डै १०२ मतले पराजित भए। निर्वाचनको समयमा झण्डै ७/८ लाख रुपैया खर्च भयो। निर्वाचनमा पनि प्रराजय खेप्नु पर्यो।
त्यसपछि गाँउघरमा कुनै विकल्प नभएपछि बोहरा मलेशिया पुगेको उनका भाई बसन्त बोहराले बताए। चुनावमा भएको खर्चको आधाभन्दा बढी ऋण उनले दुई वर्ष मलेशिया रहँदा तिरेको भाइको भनाई छ। मलेशियामा काम गर्दै जाँदा मंसीर १३ गते बोहरा आफ्नो सुत्ने कोठामा मृत अवस्थामा फेला परेको उनका आफन्तले बताएका बताउँछन्।
छोराछोरीको पढाई खर्च, घरायसी खर्चसंगै गाँउघरमा आफुले काम गर्दा लागेको ऋण तिर्न भन्दै २०७४ सालको स्थानीय तहको निर्वाचनपछि मलेशिया पुगेका बोहरा फर्किएनन्। उनको शव फर्कियो। शुक्रबार उनको छविसपाथिभेरा गाँउपालीकाको खोरीगाड दोभानमा अन्तिम दाहसंस्कार गरिएको छ। उनका ८ वर्षीय छोरा अंकीत बोहराले अन्तिम दाहसंस्कार गरेका हुन्।
उनको मृत्यु कसरी भयो भन्ने कुरा उनका परिवारका सदस्यहरुलाई जानकारी सम्म छैन। कतिपयले बोहराको मृत्यु हृदयघातका कारण भएको बताएका छन्। ‘स्थानीय तहको निर्वाचन हुँदा निकै खर्चिलो भयो’ उनकी पत्नी अन्जना देवि बोहराले रुँदै भनीन ‘उक्त ऋण तिर्न भन्दै विदेश गएका थिए। मलाई बाकसमा पैसा पठाउँछु ऋणको केही चिन्ता नलिनु भन्नुहुन्थ्यो, तर आफै बाकसमा फर्किए।’
‘छोराछोरीको पढाई खर्चका लागी समेत अलीकती भएपनी पैसा जम्मागर्नुपर्छ र कैलाली तिर गएर केही व्यवसाय गरौला भन्दै विदेश जानुभएको हो। तर आज आएर यो दिन देख्नुपर्यो। अबको चैत्र महिनाभित्र घरमा आउन्छु चिन्ता नलिनु भन्दै हुनुहुन्थ्यो तर आज ....’ उनी भक्कानिइन।
वैदेशीक रोजगारमा मलेशिया पुगेका मृतक रमेश बहादुर बोहराका ८ वर्षीय एक छोरा, १० वर्षीय र ३ वर्षीय २ छोरी छन्।